श्रुतिबोधः समस्या र समाधान

Posted on : 11 April 2019
Views : 2113

परिचयः- भाषिक दक्षताको अभिवृद्धि गर्न श्रुतिबोधको महत्वपूर्ण भूमिका रहन्छ। सुनेका आधारमा बुझ्ने प्रक्रियालाई श्रुतिबोध भनिन्छ। सुनाइ विना बोलाइ, पढाइ र लेखाइ सीपको विकास गर्न सकिँदैन। त्यसैले भाषाका चारैवटा सीपहरु मध्ये श्रुतिबोध पहिलो र आधारभूत सीप हो। सुनाइ विना बोलाइ असम्भव मानिन्छ। बोल्नका लागि सुन्न आवश्यक पर्दछ। राम्रोसँग सुनेर बुझेर मात्र राम्रोसँग बोल्न सकिन्छ। सुनाइ जीवनको आरम्भिक चरणबाट प्रारम्भ हुन्छ। बोल्न नसक्ने ब्यक्तिले पनि सुनेकै आधारमा साङ्केतिक वा कुनै माध्यमबाट आफ्ना विचार अरु समक्ष ब्यक्त गर्छन् । त्यसैले सुनाइ नै अनिवार्य र महत्वपूर्ण सीप मानिन्छ । बालबालिकामा समान रुपले श्रुतिबोध क्षमता विकास भएको पाइदैन । एउटै उमेर समूहका बालबालिकामा पनि श्रुतिबोध क्षमता भिन्नभिन्न हुन्छ वा अपेक्षित भाषिक सीपहरु समान रुपले विकास भएको पाइदैन। त्यसैले यस लेखमा बालबालिकामा श्रुतिबोध क्षमता कमजोर हुनाका कारण खोजी त्यस्ता समस्या निराकरण गर्ने उपायहरु प्रस्तुत गर्न खोजिएको छ।

श्रुतिबोध शिक्षणको आवश्यकताः- भाषाको विकास श्रुतिबाट नै आरम्भ हुने हुँदा श्रुतिबोध क्षमताको विकासलाई भाषा शिक्षणको प्रमुख आधार मान्न सकिन्छ। श्रुतिबोध क्षमता अध्यापनको क्षेत्रमा प्रा.वि. देखि उच्चतहसम्मका प्रत्येक शिक्षण कार्यकलाप सुनाइबाट नै प्रारम्भ हुने भएकाले यसलाई भाषा शिक्षणको आधारशिला र ज्ञान आर्जन गर्ने प्रमुख माध्यम भन्न सकिन्छ । सुनाइ विना कुनै पनि कुरा बोध गर्न र बोध विना कुनै पनि कुरा अभिव्यक्त गर्न नसकिने हुनाले सुनाइ वा श्रुतिबोध विना सिकाइ निरर्थक हुन्छ। कसैले भनेको कुरा टिप्पणी गर्न, प्रतिक्रिया राख्न, उत्तर दिन, सवालजवाफ गर्न विश्लेषण गर्न सुनाइ नै चाहिन्छ ।

कक्षाकोठा एवम् विद्यालयमा हुने हरेक क्रियाकलापहरु सुनाइकै माध्यमबाट सुरु हुन्छ। शिक्षकले कुनै विषयमा कक्षामा व्याख्यान गर्छन्, निर्देशन दिन्छन्, प्रश्नोत्तर गर्छन्, छलफल गर्छन्  आदि यावत कार्यकलापहरु सुनाइकै माध्यमबाट हुने गर्छ । जब विद्यार्थीहरुले शिक्षकले भनेका कुरा राम्रोसँग सुन्छ तब मात्र निर्देशन पूरा गर्छ। यदि विद्यार्थीमा नै सुनाइ सीप वा श्रुतिबोध क्षमता कमजोर छ वा सक्षम छैन भने ऊ शिक्षा आर्जन गर्न सक्षम छैन भन्ने बुझ्नुपर्छ । श्रुतिबोध क्षमता विद्यालयमा मात्र नभई समाजमा पनि यसको त्यति कै महत्व छ । त्यसैले समाजमा पनि यसको त्यति कै महत्व छ ।  मानिस सामाजिक प्राणी हो र समाज बेगर मानिस एक्लै बाँच्न सक्दैन । सामाजिक प्राणीका नाताले मानिसले आफ्नो गतिविधिमा संलग्न हुन्छ। यस्ता हरेक क्रियाकलापमा सरिक हुँदा श्रुतिबोध शिक्षण अत्यन्त उपयोगी मानिन्छ । शब्दभण्डार विकासका लागि पनि श्रुतिबोधको आवश्यक पर्छ । व्यक्ति सामाजिक अन्तरक्रियामा संलग्न हुँदा व्यक्तिले नयाँ-नयाँ शब्दभण्डारको पनि विकास हुन्छ। जसले गर्दा कुनै पनि व्यक्तिको मस्तिष्कलाई फराकिलो बनाइ दिन्छ र विद्यार्थीको बौद्धिक क्षमताको विकास पनि छिटो छिटो हुन्छ ।

श्रुतिबोध शिक्षणका कार्यकलापहरुः- भाषा शिक्षकले कक्षामा सुनाइ शिक्षणका क्रममा विभिन्न कार्यकलापहरुको अवलम्बन गरी सुनाइ शिक्षण गर्नुपर्दछ । सुनाइ शिक्षणका कार्यकलाप गराउँदा निम्न क्रियाकलाप अपनाउन सकिन्छ ।

ध्वनि पहिचान:- ध्वनि पहिचान सुनाइ शिक्षणको पहिलो र महत्वपूर्ण कार्यकलाप हो । ध्वनिको पहिचान गराउने क्रममा भाषा शिक्षकले भाषाका विभिन्न ध्वनिहरुको उच्चारण प्रथमतः आफैं नै गरी सुन्न लगाउनु पर्दछ । यस्तो कार्यकलाप विद्यार्थीहरुलाई आवश्यकता अनुसार व्यक्तिगत एवम् सामूहिक दुवै रुपमा सञ्चालन गर्न सकिन्छ। यसबाट ध्वनिहरु बिचको समानत र असमानता सुनाइका आधारमा विद्यार्थीहरुले छुट्याउन सक्छन् ।

वर्ण विभेदीकरण:- वर्णहरुको सुनाइमा रहने फरकपनलाई नै वर्ण विभेदीकरण भनिन्छ। भाषा शिक्षकले यस कार्यकलापमा थुप्रै वर्ण जोडीहरु सुनाएरै तिनीहरुबीचमा रहने फरकपन विद्यार्थीहरुलाई उच्चारण गर्न लगाई छुट्याउन समेत लगाउनुपर्छ । जस्तै बाझ बाज, ताप टाप, तातो टाटो ।

वाक्य विभेदीकरणः- यस कार्यकलाप गर्दा शिक्षकले विद्यार्थीहरुलाई सुन्दा समान खालका वाक्य तर अर्थ वा भावमा अन्तर रहने वाक्यहरु सुनाएर अभ्यास गराउनु पर्दछ। यसबाट विद्यार्थीहरुलाई वाक्य सुनाए कै आधारमा ती वाक्यका भावगत, आशयगत र व्याकरणगत भिन्नता समेत प्रष्ट छुट्याउन लगाउन सकिन्छ। जस्तैः राम घर जान्छ । राम घर जाला ।

श्रुतिबोध:- श्रुतिबोध भन्नाले सुनेर कुरा बुझ्ने प्रक्रियालाई बुझिन्छ । यस कार्य अन्तर्गत शिक्षकले कुनै घटना, विषय, प्रसङ्ग आदिका बारेमा सुनाइदिने र त्यसपछि सुनाइका आधारमा के कति सुने, बुझे सो जानकारी प्राप्त गर्न र लेख्न लगाइन्छ। यसबाट पनि विद्यार्थीहरुको सुनेर बुझ्ने क्षमताको स्तर पत्ता लगाउन सजिलो हुन्छ ।

श्रुतिलेखनः- शिक्षकले कुनै अनुच्छेद भन्दै जाने र विद्यार्थीहरुले पनि लेख्दै जाने । यसरी कार्यकलाप गरेपछि कहाँ के कति गल्ती भएको छ । त्यसको जानकारी राखेर पनि श्रुतिबोध क्षमता पत्ता लगाउन सकिन्छ ।

प्रश्नोत्तरः- शिक्षकले कक्षा कोठामा कुनै पाठ पढाइसकेपछि के कति मात्रामा बुझेर भनेर प्रश्नोत्तर विधि अपनाएर यसमा विद्यार्थीहरु के कति मात्रामा सक्रिय हुन्छन् भन्ने कुराबाट पनि सुनाइ सीपको क्षमता मापन गर्न सकिन्छ।

श्रुतिबोध सम्बन्धि कमजोरीका कारण र तिनको समाधानका उपायहरुः- सुनाइ सीप सुनेका कुराहरु राम्ररी बुझ्ने भाषिक सामार्थ्यसँग सम्बन्धी सीप हो । सुनेका कुरा नबुझ्ने वा सुनेपछि बोध नहुने हो भने यसको महत्व रहँदैन । सामान्यतः सुन्ने अनि सुनेपछि के कति बुझ्ने भन्ने कुरा श्रोताको मनस्थितिमा भर पर्दछ। कतिपयले व्यवहारिक जीवनमा काम लाग्ने कुरा ध्यानपूर्वक सुन्छन्। कतिपयले मनोरञ्जन र कतिपयले विश्लेषणात्मक कुराहरुलाई प्राथमिकता दिन्छन् । सुनाइ सम्बन्धी कमजोरीहरु देखिनुमा वक्ताको भाषिक सुझबुझ, ध्वनी अवयवहरुको कमजोरी, मानसिक अवस्था, स्तर, तह, उमेर र यान्त्रिक उपकरणको गुणस्तर आदि विविध कारणबाट सुनाइ सम्बन्धी समस्या देखा पर्न सक्छ।

वक्तागत कारण:- वक्ताले स्पष्ट बोल्न सकेन भने सुनाइ सम्बन्धी कमजोरी आउन सक्छ। वक्ता भक्भकाएर, लरखराएर, डराएर, शब्द दोहोर्याएर, चपाएर, बढी थेगोको प्रयोग गरेर, बोलीमा आरोह, अवरोह र लयात्मकताको कमी हुनु, रुखो बोल्नु श्रोताको उमेर, स्तर, रुचि अनुकूल भाषाको प्रयोग नहुनु, स्थानीय भाषिकाको प्रयोग गर्नु यी विविध कारणले श्रुतिबोधमा समस्या देखिन्छ।

श्रोतागत कारण:- वक्ता र श्रोताको भाषिक पृष्ठभूमि र सामर्थ्य मिलेन भने सुनाइमा बाधा उत्पन्न हुन्छ।  श्रोता र वक्ताको भाषिक पृष्ठभूमि समान भएपनि स्थानीय एवम् सामाजिक भाषिकाले श्रुतिबोधमा वाधा उत्पन्न हुन्छ। त्यसैगरी श्रोता नै शारीरिक र मानसिक रुपमा कमजोर छ भने पनि सुनाइमा कमजोरी हुन्छ।

विषयवस्तुगत कारणः- वक्ताद्धारा सुनाइने विषयवस्तु श्रोताको क्षमताको भन्दा जटिल र गहन भयो भने श्रोताको उमेर, स्तर, क्षमता र रुचीलाई ख्याल नगरी विषयवस्तु पस्कन खोज्यो भने श्रोताले उक्त विषयवस्तु बोध गर्न सक्दैन । बोध गर्न नसक्दा समस्या उत्पन्न हुन सक्छ ।

वातावरणगत कारणः- कक्षा भित्र वा बाहिरको वातावरणले श्रुतिबोधलाई प्रभावित गर्न सक्छ। आर्थिक सामाजिक र सांस्कृतिक दृष्टिले मात्र नभई वर्गीय हिसाबले समेत श्रोता श्रोता बीचको घरको वातावरणले पनि फरक पार्छ। त्यसैगरी घरको अनियन्त्रित वातावरणमा हुर्केका केटाकेटीका निम्ति विद्यालयको नियन्त्रित वातावरण कष्टकर अनुभव भयो भने विद्यार्थीहरु सुनाइतिर मन नलगाएर श्रुतिबोधमा असर पर्छ। कक्षा कोठा भित्र विद्यार्थी संख्या, बसाइ, व्यवस्थापन, एउटा कक्षाबाट निस्कने हल्लाले अर्को कक्षाकोठामा पार्ने असर, गाडी मोटरको आवाज, उद्योगबाट निस्कने आवाज पङ्खा वा डेक्स, बेञ्च आदि कुराबाट निस्कने आवाजले पनि कक्षा कोठाको वातावरणमा प्रत्यक्ष रुपमा असर पारेको हुन्छ।

यस्ता विविध कारणबाट देखिने सुनाइसँग सम्बन्धित समस्याको समाधानका लागि निम्न उपायहरु अपनाउन सक्छौँ ।

  • बक्ताले स्पष्ट बोल्न सक्नुपर्दछ।
  • श्रोता शारीरिक र मानसिक रुपले स्वस्थ हुनुपर्दछ ।
  • बक्ताले बोल्ने विषयवस्तु श्रोताको रुची, उमेर र स्तर अनुसार हुनुपर्दछ ।
  • स्वच्छ, शान्त वातावरणको निर्माण गर्नुपर्दछ ।
  • बक्ताले बोल्ने भाषा श्रोताले बोधगम्य गर्न सक्ने खालका हुनुपर्दछ ।
  • सुनाइ सम्बन्धी विभिन्न उपकरणलाई उपयोगमा ल्याउनुपर्दछ ।

निष्कर्षमा भन्नुपर्दा श्रुतिबोध भनेको सुनेर बोध गर्नु हो। कक्षा कोठामा श्रुतिबोध कार्यकलाप गराउँदा सबै बालबालिकामा श्रुतिबोध क्षमता समान स्तरको हुँदैन। श्रुतिबोध क्षमता कमजोर वा असमान हुनुका कारणहरु पत्ता लगाइ, शिक्षकले राम्रोसँग शिक्षण गर्नुपर्दछ । कमजोर हुने कारणहरु पहिचान गरी निराकरणका उपाय अबलम्बन गरी शिक्षण गर्न सकेमा श्रुतिबोध क्षमता वृद्धि भई सिकाइ प्रभावकारी, सहज, दिगो हुन जान्छ।

रमा शर्मा

नेपाली शिक्षिका