समीर राजभण्डारी
(विद्यालय कार्यक्रम संयोजक)
एञ्जल्स् हार्ट माध्यमिक विद्यालय परम्परागत शिक्षा प्रणालीलाई सम्मान दिँदै आधुनिक शैक्षिक प्रणालीमा अगाडि बढेको कुरा अवगत गराउन चाहन्छु । यस विद्यालयले विविध पृष्ठभूमि बोकेका व्यक्ति, मान, परम्परा र संस्कृतिहरुको अनौठो धार धारण गरेको सङ्गम हुनुका साथै तारकेश्वर नगरपालिकाका समुदायसँग पनि विशेष समन्वय गरी यस नगरपालिकालाई अगाडि बढाउन मार्ग प्रशस्त गर्ने एउटा सबल प्रवेश मार्गका रुपमा उपस्थित रहेको छ । यसको प्रयास यहाँ पढ्न आउने अनियन्त्रित हीराहरुलाई चमक दिनुमा नै अनवरत रुपमा समर्पित हुनेछ। यो विद्यालय बालमैत्री रुपमा प्रस्तुत हुँदै बालकेन्द्रित शिक्षण सिकाइ क्रियाकलापमा अगाडि बढेको छ र सधैँ बढिरहने छ । यस विद्यालयमा पाठ्यक्रम विकासकेन्द्रद्वारा निर्धारित पाठ्यक्रमलाई हुबहु अनुसरण गरी अगाडि बढेको जानकारी पनि गराउँदछु साथै पढाइमा कही कतै अलमल नहोस् भनी सम्पूर्ण शिक्षक शिक्षिका कक्षा कोठामा जाँदा पाठयोजनाका साथ कक्षा कोठामा जाने बन्दोबस्त पनि यस विद्यालयले गरेको जानकारी गराउँदै आवश्यक र विषयवस्तुले मागे अनुरुप श्रव्यदृश्यका माध्यमले विद्यार्थीहरुमा ज्ञानको भण्डार बढाउन कुनै कन्जुस्याइँ नगर्ने संस्था हो भनी यहाँहरुलाई जानकारी गराउन समर्थ नै छु ।
म एञ्जल्स हार्ट स्कुल परिवारको तर्फबाट उत्कृष्टता प्राप्त गर्न निरन्तर प्रयास गर्ने र प्रगति गरिरहने प्रतिज्ञा गर्दछु । हामी सधैँ यसका लागि सकारात्मक सहयोग खोज्दछौँ । यसै योजना अनुरुप २०७५ सालको कक्षा आठको आधारभूत परीक्षामा यस विद्यालयका ७५ जना विद्यार्थीहरुले औसतमा ३.२६ जि.पी.ए. ल्याउन सक्षम भएको जानकारी गराउँदछु । यही नीतिलाई अगाडि बढाएको कारण यस वर्ष हामी कक्षा १० माध्यमिक शिक्षा परीक्षामा २ जना विद्यार्थीलाई विशिष्ट स्थान ४ अङ्कमा ४ नै ल्याउन सफल भएका छौंँ । यसले के प्रमाणित गरेको छ भने हामी कुनै पनि विद्यालयभन्दा कम छैनौँ । यो अब्बलता हामीले बोलेर होइन कामका रुपमा प्रस्तुत गरेका छौँ त्यसैले पनि हामी गौरवान्वित भएका छौँ । यो अवसर तपाईँहरुले हामीलाई आफ्ना नानीबाबु सुम्पेका कारण नै सम्भव भएको हो । यसमा विद्यालय तपाईहरुमा आभार प्रकट गर्दछ । यो सम्पूर्ण शिक्षकहरुको अथक प्रयास, विद्यार्थीहरुको निरन्तर मिहिनेत साथै विद्यालय प्रशासनको सही संयोजनका माध्यमबाट सफल भएको कुरा यहाँहरुलाई ब्यक्त गर्दछु । “सर्वगुण सम्पन्न” बन्न हाम्रो स्कुलमा, विद्यार्थीहरुलाई सहभागिता गराउने अभिभावक प्रति हामी धेरै आभारी छौँ । यसले नै हामीलाई पनि गौरवान्वित तुल्याएको छ ।
हामी विद्यालयमा विद्यार्थीहरुको हरेक तहबाट निगरानी राख्दै उनीहरुको प्रतिभा प्रस्फुटन होस् भन्नेमा सचेत छौ । असल कामलाई प्रोत्साहन र गलत कामलाई नसियत दिँदै प्रोत्साहनका लागि हौसला दिने खालका मेरिट कार्डको प्रयोग गरेका छौं । विभिन्न विधा जस्तै: राम्रो र सफा हस्तलेखन, अनुशासन, विद्यालय पोशाक, विद्यालयमा नियमितता साथै हरेक सेक्सनबाट मासिक रुपमा “महिनाको उत्कृष्ट विद्यार्थी” घोषणा गर्दै हरियो मेरिट कार्ड प्रोत्साहन स्वरुप प्रदान गर्दछौं । सँगसँगै नसियत दिनुपर्ने विद्यार्थीहरुमा रातो डिमेरिट कार्ड दिदै विद्यार्थीलाई गलत बाटो लाग्नु हुँदैन भनी सचेतना दिने काम पनि गरिएको कुरा अवगत गराउन चाहन्छु। यदि स्कुल वातावरणलाइ नै बिगार्ने भएमा त्यस्ता विद्यार्थीहरुलाई विद्यालयबाट नै निष्काशन गर्ने पनि गरिएको कुराको अवगत गराउन चाहन्छु ।
आदरणीय अभिभावक ज्यू, आजको युगमा अन्तर्राष्ट्रिय भाषाविना हामी हाम्रो जीवन कल्पना पनि गर्न सक्दैनौ । त्यसमाथि नेपाल जस्तो सानो आकारको अर्थव्यवस्था भएको देशमा नेपाली भाषामा मात्रै सीमित हुँदा विभिन्न समस्याहरु झेल्नु पर्ने अवस्था आउने भएकोले अभिभावकहरुको अभिप्राय अनुरुप नेपाली विषयको पठनपाठनको समयमा बाहेक अन्य बेला अङ्ग्रेजी भाषा बोल्ने वातावरण रहेका अवगत गराउन चाहन्छु । साथै पढेरभन्दा भोगेर शिक्षण सिकाइ क्रियाकलाप हुन्छ भनी प्रयोगात्मक रुपमा विद्यार्थी स्वयमलाई भनुभव हुने गरी शैक्षिक भ्रमणको व्यवस्था गरी पाठ्यक्रमले मागे अनुरुप ठाउँको छनोट गरी शैक्षिक भ्रमणमा पनि विद्यार्थीहरुलाई लगी त्यही अनुरुपको प्रयोगात्मक कार्य पनि गराएको अवगत गराउँछु । यसका साथै हामी अतिरिक्त क्रियाकलापलाई पनि सँगसँगै लगेका छौं ।
विद्यार्थीहरुको चाहनालाई ध्यानमा राखी खेल, गीत/सङ्गीत र नृत्य जस्ता अतिरिक्त क्रियाकलापलाई पनि समय तालिका मिलाई कक्षा सञ्चालन गरिएको कुरा जानकारी गराउँछु । विद्यार्थीहरुभित्र रहेको अन्तरनिहीत क्षमतालाई समान रुपले प्रस्फुटन गराउन सदनगत (पहेँलो, रातो, हरियो, निलो) रुपमा स्वतन्त्र रुपमा प्रतियोगिता पनि हरेक हप्ता गरिएको कुरा ब्यक्त गर्न चाहन्छु ।
यस विद्यालयको मूल नीति नै “राम्रो गर र राम्रो बन” भन्ने आदर्श नै हो । आजका विद्यार्थी भोलिका देशका कर्णधार हुन् । उनीहरुलाई असल नागरिक बनाई राष्ट्रका लागि योगदान दिन सक्ने राष्ट्रप्रेमी, देशभक्त नागरिक बनाउँदै अगाडि बढ्ने प्रण म स्कुल संयोेजकका तर्फबाट गर्दछु।
यो प्रणलाई साकार गर्न आमाबुबा, स्कुल साथै विद्यार्थीहरुको सामुहिक प्रयासले मात्र सम्भव हुन्छ।
धन्यवाद ।