बालबालिकाहरुको बिकास र अध्ययनमा पभाव पार्ने तत्वहरु

Posted on : 04 April 2019
Views : 1994

प्रत्येक बाबुआमालाई आफना छोराछोरीहरुको भविष्यको बारेमा चिन्ता हुन्छ। उनीहरुको पढाइका बारेमा चिन्ता हुन्छ। आफना नानीबाबुहरु कुनै कुरामा पछाडि नपरुन् सकभर अरु भन्दा अगाडि हुन् भन्ने इच्छा हुन्छ। वहाँहरु आफना नानीबाबु कक्षामा प्रथम भएको देख्न र सुन्न चाहनु हुन्छ। शिक्षकसँग भेट हुँदा र विद्यालयको मिटिंगमा उनीहरुको पढाइका विषयमा कुराकानी गर्नुहुन्छ। जतिसुकै खर्च गर्न, टयुसन् राख्न वा होस्टेल राख्न तयार हुनुहुन्छ। विद्यालयले पनि उनीहरुको पढाइ राम्रो बनाउने कुरा हर तरहले प्रत्येक गरिरहेको हुन्छ। शिक्षकशिक्षिका नियुक्ति गर्दा शैक्षिक पमाणपत्र, तालिम र अनुभवका पमाणपत्र मात्र खोज्दैन कक्षामा पढाउन लगाएर त्यसको मुल्याकंन  गरी सन्तोषजनक भए मात्र नियुक्तिपत्र दिन्छ। त्यसपछि पनि तालिम र कार्यशाला संचालन गर्ने,  दैनिक पाठयोजना बनाउन लगाउने, त्यसको निरिक्षण गर्ने, कक्षा निरिक्षण गर्ने, बेलाबेलामा शिक्षक बैठक, अभिभावक बैठक, कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षा आदिको व्यवस्था गर्छ। त्यसैगरी विद्यार्थीहरुको पढाइपति आकर्षण होस् भन्ने हेतुले काउन्सिसिलिङ र मोटिभेसन कक्षाहरु संचालन गरिन्छन्। यति धेरै प्रयत्नका बाबजुद विद्यार्थीहरुको पढाइमा सन्तोषजनक परिणाम आउन सक्दैन। अभिभावकहरु बच्चाको पढाइ राम्रो भएन भनी विद्यालय नै परिवर्तन गर्नु हुन्छ, होस्टेल राखिदिनु हुन्छ तै पनि सुधार हुन सक्दैन। यसका कारणहरु के हुन सक्दछन् त भन्ने विषयमा यहाँ केही चर्चा गरिएको छ।

सबै बालबालिकाहरु सबै क्षेत्रमा उत्तिकै प्रभावशाली हुदैनन्। बालबालिकाका आआफनै खाले रुची र इच्छाहरु हुन्छन् । बेग्लाबेग्लै खाले प्रतिभाहरु हुन्छन्। कुनै बालबालिका पढाइमा अग्रपङ्तिमा हुन्छन् तर अन्य क्रियाकलापमा पछि हुन्छन् । कुनै बालबालिका खेलमा अगाडि हुन्छन् पढाइमा पछि, त्यस्तै कोही चित्रकलामा कोही गायनमा, कोही नृत्यमा त कोही भाषण गर्नमा सिपालु हुन्छन् यसरी न त सबैका सबै विद्यार्थी दौडमा अगाडि हुन्छन्, न त गायनमा, त्यसैगरी पढाइमा पनि उनीहरु सबैका सबै उत्कृष्ठ हुन सक्दैनन्।

हामी अभिभावक र शिक्षकहरुको कर्तव्य भनेको नानुबाबुहरुमा निहित  प्रतिभालाई चिनेर त्यसै अनुरुप उनीहरुलाई अगाडि बढ्न प्रोत्साहन गर्नु हो। आफुलाई रुची नै नभएको विषयमा उनीहरुलाई जवर्जस्ती धकेल्नाले उनीहरुको प्रगति हुन सक्दैन। हामीले गरेका कतिपय निर्णयहरुले बच्चाको शारीरिक र मानसिक विकासमा अवरोध पुग्न सक्छ। जवरजस्ती बाबुले डाक्टर पढ्न भर्ना गरिदिएको ब्यक्ति मानसिक रोगको सिकार भएको उदाहरणहरु देख्न र सुन्न पाइन्छ। त्यसैले प्रतिभा अनुसारको विषय रोजी त्यसमा राम्रो गर्न सकोस् भन्ने हाम्रो विचार हुनुपर्छ। जबरजस्ती लादिएको विषयले बच्चालाई भविष्यमा बाटो बिराएको बटुवा झै भौंतारिनु पर्ने अवस्था आउन सक्छ।

हामी आफ्नो बच्चाले अझ राम्रो गरोस् भनेर अनावश्यक दबाब पनि दिने गर्छौ। कक्षामा दोस्रो, तेस्रो भएको बच्चालाई तिमी प्रथम नै हुनुपर्दछ भनी दवाव दिन्छौ। यसो गर्नु राम्रो होइन। यसले आफ्नो क्षमताले भ्याएसम्म मेहेनत गरेर दोस्रो वा तेस्रो स्थानमा आएको हुन्छ। तिमीले राम्रो गर्यौ भनेर स्याबासी दिनुको सट्टा प्रथम नभएको भनी गुनासो गर्छौ भने उसलाई झनै नराम्रो लाग्छ। जति गरे पनि बाबा ममीले चित्त बुझाउनु हुन्न जति दुःख गरे पनि देख्नुहुन्न भन्ने नकारात्मक सोचमा डुब्न थाल्छ।

हाम्रा अगाडि थुप्रै विकल्पहरु छन्, थुप्रै पेशा र व्यवसायहरु छन्। ती जुन पेशा व्यवसाय गरे पनि हुन्छ तर आफुले गर्ने पेशा व्यवसायमा आफु  उत्कृष्ट हुनु पर्दछ। जुनसुकै काम गरे पनि जीविकोपार्जन गर्न सकिन्छ तर आफु लगनशील भएर काम गर्नु पर्दछ। कोही फोटोग्राफर, कोही होटल व्यवसायी, यातायात व्यवसायी, मेकानिक्स, प्लम्बर, इलेक्ट्रिसियन, शिक्षक, वकिल, न्यायधिश, कम्प्युटर प्रोगामर, एकाउण्टेन्ट, डान्सर, कलाकार, चित्रकार, खेलाडी जे बने पनि त हुन्छ। आफ्नो रुची र प्रतिभा अनुसार विषयको छनोट गर्नु पर्दछ त्यसो भए दक्षता पनि प्राप्त हुन्छ। डाक्टर, इन्जिनियर वा पाइलट बन्दैमा सबैले उत्तिकै नाम र दाम कमाएका छैनन् बरु दक्षता (Excellency) महत्वपूर्ण कुरा हो । जे बने पनि हुन्छ तर Excellent बन,  Expert बन ।

जुनसुकै काम रामोसँग गर्नका लागि त्यसप्रति सकारात्मक सोच हुन आवश्यक छ। इच्छा नलागी नलागी गरिएको काम राम्रो हुन्न त्यसरी नै पढाइमा सकारात्मक विचार हुनुपर्छ। आ किन पढ्नु परेको होला भन्ने विचारले सधैं पढाइमा कमजोर बनाउँछ। मैले पढ्नु पर्छ भन्ने भावनासाथ पढ्नु पर्ने हाम्रा व्यवहारले कतिपय अवस्था बालबच्चामा पढाइ प्रति नकारात्मक सोच विकास हुन सक्छ । यहाँ पढाइमा बाधा पुर्याउने केही तत्वहरुको चर्चा गरिन्छ ।

१. ज्यादै कम उमेरमा विद्यालयमा भर्ना गर्नु:

बालमनोवैज्ञानिकहरुको भनाइमा ५ वर्ष मुनिका बच्चालाई पेन्सिल समात्न लगाउनु उनीहरुको शारीरिक र मानसिक विकासमा अवरोध पुर्याउनु हो । त्यसैले ५ वर्ष मुनिका बालबालिकालाई खेल, नृत्य र गायनको माध्यमबाट पढाउनु पर्दछ। होमवर्कको बोझ नदिने, अन्य कुनै पनि जिम्मेवारीको बोझ बालबालिकामा नहोस् भन्ने विचार पुर्याउनु पर्दछ । तर त्यसको ठीक विपरीत हाम्रो समाजमा बालबालिका ३ वर्ष नपुग्दै स्कुलमा भर्ना गरिदिने चलन छ। साढे २ वर्ष देखि ३ वर्षको बच्चा भर्ना गर्ने, शुरुमा प्ले ग्रुपमा राखिदिनु भन्ने र ३, ४ महिना नबित्दै मेरो बच्चाले अक्षर पनि चिनेन भनेर अभिभावकहरु गुनासो गर्न थाल्नु हुन्छ। स्कुलमा राइम्स सिकाउने र खेल खेलाउँदै सिकाइरहेको बेला बाध्य भएर लेख्न लगाउनु पर्ने हुन्छ। कतिपय बच्चा प्ले ग्रुपमा भर्ना हुन्छन्, अक्षर चिनेकै हुन्नन् अर्को सेसन शुरु हुँदा एल.के.जी राख्नुपर्ने दवाव आउँछ। अक्षर नै नचिनी कक्षा चढेपछि उसले झन् ठूलो टेन्सन बेहोर्नु पर्ने हुन्छ।

विद्यालयले कम उमेरका बालबालिका भर्ना नलिने भने पनि अभिभावकले नै कर गर्नु हुन्छ, यहाँ नभए अन्यत्र लैजान्छु भन्नु हुन्छ। भर्ना लिनैपर्ने हुन्छ।

२. विद्यालय छुट्दा अभिभावक समयमा लिन नआउनेः

कतिपय बालबालिका  छुट्टी भएपछि पनि धेरैबेर अभिभावक कुरेर बस्न बाध्य हुन्छन्। अभिभावक बेलामा नआउँदा बच्चा एक्लै हुन्छ र प्रतिक्षालयमा विभिन्न कल्पना गर्दै बस्छ। “मेरा ममी बाबा मलाई लिन किन नआउनु भएको होला। अरु सबै घर गैसके, ममात्र यहाँ। बबा ममी चाहिँ कहाँ घुम्न जानुभयो होला, मीठो मीठो खानु भयो होला, मलाई चाहिँ स्कुल छोडेर जानुहुन्छ,  मलाई माया गर्नुहुन्न” आदिआदि। जब गेटमा  बाबा वा ममीलाई देख्छ ह्वाँ....... गरेर रुन्छ। भोलिपल्ट स्कुल जान मान्दैन, स्कुल गए पनि दिनभर त्यस्तै कल्पना गर्न थाल्छ। पढाइमा मन लगाउन छोड्छ। यसरी सानैदेखि पढाइतिर वितृष्णा पैदा हुन्छ । अब कसरी पढाइ राम्रो हुन्छ त । त्यसैले आफ्ना नानीबाबुहरुलाई विद्यालय छुट्ने बित्तिकै लैजाने दुःख विराम सोध्ने, तातो खाना खाजा खुवाउने, विश्राम गर्न दिने गर्नु पर्दछ जस्ले गर्दा ऊ आफुलाई सबैले माया गर्नुहुन्छ भनेर विश्वस्त हुन सकोस् ।

३. धेरै होमवर्क दिने व्यवस्थाः

विद्यालयले साना बालबालिकालाई बोझ हुनेगरी होमवर्क दिनु हुन्न। कतिपय विद्यालयले पुस्तक पनि स्कुलमै राखिदिने दिनभर पढेको कुराले बच्चालाई पर्याप्त हुन्छ भन्ने मान्यता राखेका छन् तर बालबालिकाको घरमा पनि पढ्नु पर्छ भन्ने ज्ञान होस् र पढ्ने बानी होस् भनेर केही गृहकार्य दिइन्छ तर अभिभावकहरु नै होमवर्क थोरै भयो । मेरो बच्चा त एक घण्टामै होमवर्क सकेर खाली खेल्छ। बालबालिका पढाइका साथै प्रशस्त खेल्नु पनि पर्छ। उनीहरुको शारीरिक वृद्धि र विकासको लागि खेल नभइ हुँदैन । खेल नखेल्ने बच्चा त लुलो  लङ्गडा र अल्छी बन्छ। अल्छी बच्चाले पढ्ने मात्र होइन कुनै पनि काम गर्न सक्दैन ।

कतिपय विद्यालयहरुले एल.के.जी र यु.के.जीका विद्यार्थीहरुलाई उनीहरुको क्षमताले नभ्याउने गृहकार्य दिएको पनि पाइन्छ। प्रोजेक्ट वर्क भन्छन् नेटमा सर्च गर्ने,  डाउनलोड गरेर प्रिन्ट गर्नुपर्ने, त्यो प्रिन्टलाई काटेर कापीमा टाँस्नुपर्ने हुन्छ जुन कुरा उनीहरुका अभिभावकले गरिदिनु पर्छ। बच्चा स्कुलबाट आएर अफिस जानुभएको बाबालाई कुरेर बस्नुपर्छ। बबा नआउन्जेल उसलाई  होमवर्क गर्न नसकेकोमा पीर र चिन्ता हुन्छ। यस्तो गृहकार्य दिँदा विद्यार्थीको स्तर (कक्षा) उमेर, उनीहरुको गर्न सक्ने क्षमता आदि हेरेर दिनुपर्छ। सकभर साना नानीबाबुको गृहकार्य उनीहरुले जानिसकेको, पढिसकेको कुरा दिनुपर्छ। यसको उद्देश्य पाठ दोहोर्याउने (Revision) मात्र हुन्छ। गाह्रो र खोजमुलक प्रश्नहरु उमेर र स्तर हेरी दिनुपर्ने हुन्छ।

४. गाडी चढाएर टाढाका विद्यालय पठाउनु:

३,४ वर्षका बच्चालाई विहान सबेरैदेखि तयार पार्ने र गाडी कुरेर, गाडी आएपछि चढाउने अनि आधा एक घण्टा घुम्दैघुम्दै विद्यालय जानु र त्यसैगरी बेलुकी घर फिर्नु पर्दा उसको समय बाटोमा नष्ट हुन्छ। खेल्ने र होमवर्क गर्ने समय नष्ट हुन्छ। त्यसैगरी गाडीमा यदि गुरु गुरुआमाहरु चढ्नु हुन्न भने हाम्रा नानी बाबुले खराब कुरा पनि सिक्न सक्छन्। बाटोमा वा गाडीमा पनि उनीहरुसँग अभिभावक वा शिक्षक हुनु पर्दछ।

५. कक्षा फड्काउनु अर्थात एउटा कक्षा नै नपढी माथिल्लो कक्षामा राख्ने:

नानीबाबुको स्तर र उमेर नहेरी पाठ्यक्रम  र पाठ्यपुस्तकहरु  निर्धारण गरिएको हुन्छ। कक्षा १ मा पढाइ हुने कुरा पुनः कक्षा २ मा व्यवस्था हुँदैन। त्यसैले फड्काउँदा बच्चाको पढाइ छुट्छ र बेस नै विग्रन सक्छ। हामी सिँढी चढ्दा एउटा खुट्किला नटेकी अर्को टेक्ने भयौ भने लड्ने पनि सक्छौं ।

धेरैजना अभिभावकहरु बच्चा लिएर अर्को स्कुलमा जानुहुन्छ। फेल भएको बच्चालाई पनि कक्षा चढाउन अनुरोध गर्नुहुन्छ। क्सैकसैले त बच्चाको बारेमा सही सुचना पनि दिनुहुन्न। जसले गर्दा बच्चा झन् बिग्रन सक्छ। आफ्नो बच्चाको यथार्थ विवरण दिने त्यही अनुरुप विद्यालयले नयाँ विद्यार्थीको इन्ट्रान्स रिजल्ट विषय शिक्षकलाई दिने, उसको कुन विषयमा कस्तो कमी कमजोरी छ भन्ने जानकारी भए सुरुदेखि नै त्यसै अनुसार प्रयास र प्रयत्न  हुन्छ नत्र उसको कमजोरी थाहा पाउनमै समय नष्ट हुन्छ। त्यसैले कक्षाहरु क्रमैसँग पास गर्दै जानु पर्छ कक्षा जम्प गराउनु राम्रो हुदैन ।

६. अनुकुल वातावरण नहुनुः

कतिपय अभिभावकहरु आफ्नै काममा व्यस्त रहनुपर्ने हुँदा,  आफ्नो बच्चा कहाँ जान्छ। छुट्टीमा को को सँग हिड्छ, संगत कस्तो छ भन्ने सम्म पनि हेर्न फुर्सद हुन्न। उ खराब संगत र कुलतमा लाग्न सक्छ। त्यसैले मेरो बच्चा राम्रो संगतमा छ छैन भन्ने बुझ्नु पर्छ। घरमा खाजा खाने, सरसफाई गर्ने, खेल्ने, होमवर्क गर्ने, टि.भी. हेर्ने जस्ता समय तालिका बनाइ व्यवस्थित गर्नुपर्ने हुन्छ। घरमा दाइ, दिदी पढ्छन् भने उ पनि पढ्छ नत्र उ पनि पढ्दैन

त्यसैगरी उनीहरुलाई चाहिने सामानहरु कापी, किताव, पेन्सिल, कलर आदि सामानहरु खाँचो पर्न दिनुहुन्न। भोलि ल्याइदिनु भन्नुभयो भने उसको पढाइलाई नै असर पुग्दछ।

७. टि.भी. हेर्ने समय छुट्याउनु पर्दछ:

सानासाना बालबालिकालाई आधा एक घण्टा भन्दा बढी टि.भी. हेर्न दिनु हुन्न। नानीबाबुहरु टि.भी. हेर्दा धेरैबेर एउटै कार्यक्रम हेर्न सक्दैनन्। एकछिन एकछिनमा च्यानल फेर्छन्। यो बानीले कक्षामा पढाइ भैरहेको बेला पनि धेरैबेर एउटै कुरा सुन्न र गर्न मन लगाउन्नन् च्यानल परिवर्तन गरे झैँ पढाइमा पनि छिनछिनमा नयाँ कुरा सुन्न खोज्ने बानी हुन्छ। सकेसम्म त शिक्षकशिक्षिकाले  त्यसो गर्ने प्रयास गर्नुहुन्छ तर संधै यो सम्भव हुन्न। पाठ पढाएर सक्नु पर्ने पनि हुन्छ। त्यसैगरी कम्प्युटरमा गेम खेल्ने र मोबाइल,  भिडियो गेम आदिमा अल्झिने हुँदा खेलकुद र कसरतमा पछि पर्ने र अल्छी बन्ने हुन्छन्। केही समय बाहिर खेल्नु जरुरी हुन्छ। मेरो बच्चा घरभित्रै मात्र बसोस् भन्ने चाहाना पनि ठीक होइन। स्वस्थ स्फुर्त रहन बाहिरको खेलकुद चाहिन्छ ।

८. पढाइको उद्देश्य स्पष्ट नहुनुः

सबैभन्दा महत्वपूर्ण कुरा के हो भने हामीले किन पढ्नुपर्छ, पढ्दा के फाइदा हुन्छ, नपढ्दा के हुन्छ भन्ने कुरा सानै उमेरमा बच्चाको दिमागमा बसाइदिनुपर्छ। मैले पढ्नै पर्छ भन्ने कुरा भित्री आत्माबाट जागृत भयो भने उसले साँच्चै पढेर देखाउँछ। त्यसैले पढ, पढ भन्ने मात्र होइन किन पढ्ने भन्ने बारे पनि बेला बेलामा शिक्षक अभिभावक दुवैले बच्चालाई सम्झाउने गर्नु पर्दछ ।

कुलचन्द वाग्ले

शिक्षक