मैले देश भरिका विभिन्न जिल्लाका विभिन्न विद्यालयका धेरै विद्यार्थीहरुलाई तालिम दिने क्रममा भेटेर सोध्ने गरेको छु तपाईहरुलाई खेल्न मन पर्छ कि पढ्न धेरै विद्यार्थीहरुले चर्को आवाजमा खेल्न मन पर्छ भन्नुहुन्छ किन भन्दा, खेल खेल्दा, आनन्द आउँछ, खुसी लाग्छ मज्जा आउँछ तर पढाइमा आउँदैन भन्नुहुन्छ। कुनै पनि पेशा वा काममा खुसी र आनन्द जोड्न सकिएन वा जानिएन भने त्यो कार्य, पेशा उसको लागि सफलता होइन पीडादायी बन्दछ ।
असल नागरिक, खुशी विद्यार्थीको लागि संस्कार सहितको शिक्षा आजको आवश्यकता हो। खेल खेल्दा टिभी, मोवाइल हेर्दा, जुन आनन्द महसुस हुन्छ त्यस्तै पढाइ लेखाइमा पनि खुसी, आनन्द प्राप्त गर्ने कला भएमा सबै विद्यार्थी पढाईमा मात्र होइन, जिवनमा नै सफलताको अनुभुती गर्न सक्छ। बुझ्नुपर्ने कुरा यो छ कि संसार खेल मैदान रहेछ हामी खेलाडी, कहिल्यै बच्चा बनेर खेल्छौ, कहिल्यै कलेज, स्कूल विद्यार्थी, कहिल्यै विभिन्न जागिरे कर्मचारी, कहिल्यै बाबाआमा, कहिल्यै बुढाबुढी भएर खेल्छौं । जुन खेल जे बनेर खेल्छौँ त्यसमा खुसी र आनन्दित हुन सक्नु नै सफलता हो। यसर्थ पढाइ लेखाइ पनि जिवनमा एउटा अनिवार्य खेल हो । अन्य जुनसुकै खेललाई पूर्णता दिएर टिकाइ राखेर खुसी हुन पढाइ लेखाइ अपरिहार्य छ ।
अब, विद्यार्थीहरुले जीवनमा सफलता हासिल गर्न बुझ्नुपर्ने र गर्नुपर्ने केही महत्वपूर्ण बुँदाहरु प्रस्तुत गर्दछु ।
१. शिक्षाको महत्वः शिक्षाको महत्व बुझेको विद्यार्थीलाई पढाइ खेल हुन्छ ऊ पढ्दा लेख्दा आनन्दित हुन्छ। शिक्षाको महत्व कस्तो छ त भन्ने प्रसंगमा ,
शिक्षाद्धारा मलिन अति छुचो चित्तलाई पखाली
आत्मामा शान्तिशाली नयाँ विनय नयाँ शुद्ध चैतन्य हाली,
आफु के हो? कसरी चिनिने ज्ञान विज्ञान के हो?
मर्नु के हो? अमर कसरी गर्नुपर्ने त के हो?
सारा वस्तु सहजसित नै नासिने दुःखदायी ।
शिक्षा नै हो अमर जगमा सत्य आनन्ददायी ।।
न चौरहार्य न चराजहार्य
न भातृभाज्यं न च भारकारी
व्यये कृते वर्धत एवं नित्य
विद्याधनं सर्व धनं: प्रधानमं ।
२. सोचाइ, सपना, जीवनको नक्सा :
कक्षामा सधै प्रथम, द्वितीय हुने र कहिल्यै उत्कृष्ट अंक ल्याउन नसकीरहेका नानीबाबुहरुलाई उठाएर सोध्ने गर्छु “तपाई राम्रो नम्बर ल्याएर प्रथम, द्धितीय हुन्छु भनेर सोच्नु भएको थियो?”
प्राय प्रथम, द्वितीय हुनेहरुले Yes भन्नुहुन्छ र अरुले No भन्नुहुन्छ। मान्छे हेरेर को सफल विद्यार्थी भनेर चिन्ह सकिदैन । अनुहारले, साइजले, रंगले सफल हुने र नहुने होइन रहेछ। उसको सोचाइले, सफल हुन्छु भन्ने सपना देख्नाले, हुने रहेछ । विद्यार्थीले आफ्नो इच्छा र खुवीलाई बुझेर के बन्ने हो? सपना (Dream) बनाउने र लेख्नुपर्छ, भित्तामा टाँस्ने, साथी आफन्तलाई भन्ने गर्नुपर्छ । आफ्नो दिमागलाई Target दिनुपर्छ, परीक्षामा कस्तो गर्ने कति GPA ल्याउने । कसरी अगाडि बढ्ने (Strategy र Planning) रणनीति र योजना दिमागमा छर्लङ्ग नक्सा हुनुपर्छ । र सो नक्सानुसार, धैर्यताका साथ निरन्तर कर्म गरेमा सोचे जस्तो घर अवश्य बन्छ।
३. बानी, सङ्गत र शारीरिक परिवर्तन : भनिन्छ मानिसको दिमागले जुन कुरालाई २१ दिनसम्म निरन्तर हेर्छ, सुन्छ र सङ्गत गर्छ त्यो उसको बानी बन्छ र बानीले नै उसको भविष्य निर्धारण गर्छ, यो बेलामा चाडो चाडो शारीरिक परिवर्तन हुन्छ, मनमा चञ्चलता कौतुहलता र म जस्तो बलियो र जान्ने कोही छैन र रिस बढी उठ्ने पनि हुन सक्छ। खराब साथीहरुको सङ्गत, आफ्नै आफन्तहरुको कारणले पनि बच्चाहरु बिग्रने गरेको पाइएको छ। यसैले, सङ्गत राम्रो गर्नुपर्छ। साथीको घरमा, आफन्तहरुको घरमा पनि धेरै जाने आउने गरिरहन हुदैन लोभ गर्ने, आशा गर्ने बानी आजैबाट त्याग्नुपर्छ। नरम बोल्ने तर कडा तर्क दिनु पर्छ । कसैले कुनै गलत कार्य आफुप्रति गरेमा, अभिभावक(बाबा, आमा) तथा शिक्षकहरुलाई बेलैमा जानकारी दिने बानीले सुरक्षातिर जीवन सहज हुन्छ ।
४. खानपान, विद्युतीय सामग्री र निन्द्रा :
खानाले शरीर तथा दिमाग बन्ने हो, जस्तो जस्तो हेर्छौं त्यस्तै विचार आउँछ त्यसैले घरमा बनेका ताजा खानेकुरा खाने पौष्टिक खाना मिलाएर खाने, बजारका खाना जस्तै दुध, माछा मासु, काजु, ओखर, हाडे बदाम, किसमीस जस्ता खाने कुराले दिमागलाई राम्रो गर्छ शरीर स्वस्थ बनाउँछ। मात्रा मिलाएर थोरै थोरै खाने साथै धेरै पनि नसुत्ने ५, ६ घण्टा भन्दा कम पनि नसुत्ने गर्नुपर्छ । आजकल नानीबाबुहरुले मोवाइल टि.भी.को प्रयोग धेरै गर्ने पाइएको छ। यसको प्रयोगले मानिसमा निम्न समस्या आउने रिसर्चले बनाएको छ।
१. आँखामा समस्या आउँछ २. पढेको कुरा, सम्झन नसक्ने हुन्छ
३. छिटो र धेरै रिस उठ्छ ४. नसा, काँध, ढाड र मुटु सम्बन्धि रोग लाग्छ
५. टाउको दुख्ने, वाक्वाक लाग्ने रिंगटा लाग्ने हुन्छ ६. यसको रेडीयसनले गर्दा बच्चा उत्पादनमा बच्चाको स्वास्थमा नकारात्मक प्रभाव देखिन सक्छ। त्यसैले यस्ता चिजहरुको प्रयोग सकेसम्म कम गरौँ र आवश्यकता पर्दा मात्र गरौँ, आगो नभइ पनि हुँदैन चलाउन जानेन हेलचेक्रेयाई गर्यो भने पोल्छ खरानी बनाउँछ। यसलाई सहि सदुपयोग गरौँ । केही समय मिलाएर योगा, ध्यान प्राणायमको लागि दिने गर्नुपर्छ पढेर मात्र हुदैन Smart Study Tips लाई पनि ध्यानमा राखेर Smart Study गर्नुपर्छ ।
गुरु, बाबा, आमा र देशको महत्वः
“गु” भनेको नराम्रो, अन्धकार “रु” भनेको उज्याले, नराम्रो र अन्धकार रुपी संसारबाट उज्यालो ज्ञानरुपी संसारमा ल्याउने तपाईको शुभ चिन्तक नै गुरु हुनुहुन्छ। आफ्ना गुरुहरु (शिक्षक शिक्षिका)लाई सम्मान गर्न सक्नु नै असल विद्यार्थीको कर्तव्य हो, जहाँ पहिलो पटक धर्ती टेक्यो, स्वास फेर्यो, आँखा खोल्यौ , यही माटोले ठूलो बनायो यस माटोलाई देशलाई कदापि बिर्सनु हुदैन देशको लागि केही गर्नुपर्छ मैले भन्ने भावना आजैबाट पलाओस शिक्षा आर्जन गर्न, काम सिक्न परदेश जानुपर्छ जाने हो तर आफ्नै देशमा पसिना बगाउनु पर्छ, यो देशमा तिम्रो अति खाँचो छ।
अब, जन्म दिने आमालाई एक दिन सम्झनुस्
९ महिना पेटमा बोकेर, कस्तो होला के होला राति सुत्दा पनि बच्चालाई दुख्छ कि भनेर माया गर्ने आमा । प्रसव वेदनापछि या आफ्नो पेटै चिरेर तपाईलाई जन्म दिने आमा । मेरो बच्चा भन्दै छातिमा टाँस्दै हजारौपटक म्वाई खाँदै दुध चुसाउने आमा, एकछिन नदेख्दा, कुनै रोग लाग्दा मेरो बच्चालाई केही नहोस् है भन्दै आत्तिने आमा । यस्ती ममतामयी आमालाई हामीले कहिल्यै हेला नगरौ । बाबालाई पनि माया गरौ, दुनियाँमा बाबा नै यस्तो ब्यक्ति हो जो चाहन्छ मेरो छोराछोरी म भन्दा बढी सक्षम होस्।
एकदिन एउटा बुढो मान्छे फोन मर्मत गर्ने पसलमा फोन बनाउन आउँछ । फोन मर्मत गर्ने मान्छेले भन्छ, “हजुरको मोवाइलमा कुनै खराबी छैन।“ आँखाबाट आँसु बगाउँदै बुढो मान्छेले भन्यो, “अनि त्यसो भए किन मेरो छोराछोरीको फोन आउदैन त?“ यस्तो हुन्छ बाबा आमाको मन छोराछोरी प्रति ।
अन्तमा, विद्यार्थी तपाई सफलताको विउ हो।
त्यो विउको दानालाई हेर्दा कसैले पनि सुन्दर फूल, र ठूलो बोट देख्दैन । एउटा विउबाट रुख बन्न पहिले ऊ माटोभित्र पुरिन पर्छ, आफ्नै बोक्रालाई च्यातेर टुसाउनु पर्छ। जरा जमिनका गाड्दै अवरोधहरुलाई छेड्दै माटो बाहिर निस्कनु पर्छ फेरि पनि उसलाई हावाहुरी घाम झरी खडेरी आदि प्रतिकूलतासँग मुकाविला गर्नुपर्छ । आज तपाईलाई कसैले चिन्दैन। कम्तिमा तपाई आफैले त चिन्नुहोस् आफुलाई आफ्नो क्षमतालाई, जीवनमा अवश्य सफल हुन सक्नुहुन्छ। यसको लागि कामलाई माया गरेर (राम्रोसँग पढ्दै) अनुशासनमा बसेर सङ्घर्षशिल आफैलाई बनाउदै निरन्तर लक्ष्यमा विनम्र भई खुसी हुदै अगाडि बढिरहनै पर्छ । हिजो जुन तरिकाले सोच्ने गर्नुहुन्थ्यो अब बदल्नुहोस् आफ्नो नराम्रो सोच, तरिका र सङ्गतलाई। “जीवन अवसर हो।”
सबैको जय होस्, आनन्द खुसीयाली प्राप्त होस् ।
ईश्वर श्रेष्ठ
उत्प्रेरक
