जिन्दगीका दिनहरु

Posted on : 21 April 2019
Views : 748

मैलो र दागी लुगाहरुबाट
अन्धविश्वासका मयल घोटी घोटी धोइरहेकी हुन्छु
घरै बसी कुना काप्चाका फोहोरहरु
सफा गरेर ढलमा फ्याँकिरहेकी हुन्छु
म आफ्नै धर्ती पोतिरहेकी हुन्छु।

भान्सामा नुन बेसार र चिनीका रङ्गहरुसँग खेलिरहेकी हुन्छु
हरिया तरकारीका रङ्गहरुसँग कलाका प्रयोगहरुमा
आफ्ना औंलाहरू चोपलिरहेकी हुन्छु।

तिखो सियोले सम्बन्ध बलियो पार्नलाई
फाटेका कपडाहरु सिलाईरहेकी हुन्छु
म मेरो लालीगुराँसका हत्केलाले
हरेक साँझ आफ्नै घर सुन्दर बनाउन
सफा गरिरहेकी हुन्छु।

चाङ्ग चाङ्ग इट थप्ने सिलसिलामा व्यस्त भैरहेकी हुन्छु
हरेक साँझ हिमाली नदीनालाका सफा धार बनी
मैदान र गह्राका धानका बाला बनेर झुलेरहेकी हुन्छु।

गौथली झैँ पर परसम्म उडेर पनि
साँझपख आफ्नो बचेराहारूको चिन्ताले
म आफ्नै सानो गुँडतिर फर्किरहेकी हुन्छु।

दिपा श्रेष्ठ मगर

अभिभावाक