विद्यालय भनेको बालबालिकाहरुको भविष्य निर्माण गर्ने एउटा मिनि सोसाइटी हो। विद्यालयसँग अभिभावक, विद्यार्थी, समाज र देशको निकट सम्बन्ध रहेको हुन्छ किनभने औपचारिक शिक्षा पाउने, ज्ञान पाउने विद्यालयबाट शिक्षक शिक्षिकाको पूर्ण जिम्मेवार रहेको हुन्छ। विद्यालयमा विभिन्न जातजाति, संस्कार धर्म र सम्प्रदायको बालबालिकाहरु ज्ञान आर्जन गर्न आउँछन्। सबै समुदायको प्रतिनिधित्व हुनेगरी बालबालिकाहरुको सर्वाङ्गीण विकास, समाजको विकास र देशको विकास हुने गरी विद्यालयले शिक्षा प्रदान गर्ने अठोट राख्नुपर्छ। साथसाथै अभिभावकको महत्वपूर्ण भूमिका रहेको हुन्छ तबमात्र व्यक्ति, समाज र देशको विकास अवश्य हुन्छ। एउटा पूर्ण विद्यालय हुनको लागि वा विद्यार्थी बालबालिकाहरुलाई पूर्ण ज्ञान दिनको लागि विद्यालयको भौतिक संरचनाका साथै ज्ञान दिने शिक्षक शिक्षिका वा गुरु गुरुआमा र अभिभावकको महत्वपूर्ण स्थान रहन्छ। जस्तैः कक्षाकोठा, खेलकुदको मैदान, पुस्तकालय, अनुसन्धान गर्ने ल्याब, प्राथमिक उपचार (First Aid) को कोठा, पानी, चमेना गृह र शौचालयको व्यवस्था आदि चुस्त दुरुस्त राख्नुपर्छ।
कक्षाकोठा: बालबालिकाहरुको लागि बस्ने र पढ्ने कक्षा कोठा बालमैत्री हुनुपर्दछ। डेक्सबेन्च, पाटी, उज्यालो हावा खेल्न सक्ने, पङ्खा, विजुली सबैको व्यवस्था हुनुपर्छ र सबै खालको बालबालिकाहरुले ज्ञान आर्जन गर्न सकुन्।
खेलकुदको मैदान: बालबालिकाहरुलाई अतिरिक्त कृयाकलापको अत्यन्त आवश्यकता रहेको हुन्छ। यस्ता क्रियाकलापले बालबालिकाहरुको वृद्धि र विकासमा अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ। त्यसकारण विद्यालयमा खेलमैदान विद्यार्थीका संख्या हेरी मैदानको व्यवस्था हुनुपर्छ। खेलमा Indoor game र outdoor Game को लागि छुट्टाछुट्टै व्यवस्था हुनुपर्छ। कक्षाकोठामा अध्ययन गर्दा, प्रत्यक्ष असर नपर्ने खालको दुरी कक्षाकोठा र खेलमैदानको हुनुपर्छ। साथै खेलकुदको सामानको व्यवस्था हुनुपर्छ। खेल खेलाउँदा विद्यार्थी वा बालबालिकाहरुको उमेर हेरी तालिकामा खेल खेलाउनु पर्ने हुन्छ। पुस्तकालयको व्यवस्था, विद्यालय भनेको ज्ञान आर्जन गर्ने मन्दिर हो, त्यसकारण विद्यालयमा सबै तहका बालबालिकाहरुलाई पढ्न रुचि, उत्साह गराउन पुस्तकालय हुन्छ। पुस्तकालयमा कथा, कविता, नाटक, निबन्ध, पत्रपत्रिका र जीवनीका साथै अन्य जानकारी मुलक पुस्तक राख्नुपर्ने हुन्छ। बालबालिकाहरुले पुस्तकालयको पुस्तकहरु पढेर बौद्धिक ज्ञान लिन पढ्न रुची जगाउँछ। पुस्तकालयको कोठा ठूलो वा बस्ने वा पढ्ने टेबल डेक्सको व्यवस्था हुनुपर्छ।
प्रयोगात्मक ल्याबः कोठा विभिन्न विषयसँग सँम्बधन रहेर, विज्ञान, कोठा, संगीत कोठा, आर्ट कोठा, नृत्य कोठा वा अन्य प्रयोगात्मक कोठाको पनि आवश्य रहेको हुन्छ र विषयसँग मिल्ने सामानको व्यवस्था गर्नुपर्छ ।
प्राथमिक उपचार कोठा (First Aid Room): विद्यालयमा नभइ नहुने प्राथमिक उपचार कोठाका साथै स्वास्थ परिचारिका हुनुपर्छ। किनभने अध्ययन गर्दा विभिन्न स्वास्थ्य समस्या भयो वा अकस्मात स्वास्थ्य समस्या भएमा प्राथमिक उपचारको व्यवस्था गरी आराम गराउनु पर्ने हुन्छ वा अभिभावकलाई खबर गर्नुपर्ने हुन्छ।
शौचालय वा खानेपानी: विद्यालयमा शौचालय वा खानेपानीको व्यवस्था राम्रो हुनुपर्छ। केटा, केटी, र कर्मचारीको लागि छुट्टाछुट्टै हुनुपर्छ। शौचालय पनि सिनियर , जुनियर हुनुपर्छ। शौचालयमा पानी, साबुन र डस्टविन सरसफाइको चीजको व्यवस्था हुनुपर्ने हुन्छ। शौचालय कक्षाकोठा भन्दा अलि टाढा होस्, न कि गन्ध नआओस र शौचालयमा सरसफाई गरी दुरगन्धबाट बचाउनु पर्छ। खानेपानी शुद्ध स्वास्थ हुनुपर्छ।
चमेनागृहः विद्यालयमा चमेनागृहको व्यवस्था हुनुपर्छ । सबै विद्यार्थीले सजिलैसँग खाना खाजा खानसक्ने हुनुपर्छ। खाना खाजा सफा , ताजा, स्वादिष्ट हुनुपर्छ। चमेनागृहमा सरसफाई गर्नुपर्ने हुन्छ किन की सोझै स्वास्थसँग सम्बन्ध भएको कारणले राम्रो व्यवस्था हुनुपर्छ।
शिक्षक शिक्षिका: शिक्षक शिक्षिकाको भूमिका महत्वपूर्ण हुन्छ। शिक्षक शिक्षिका भनेको एउटा Role Model हुन्। कक्षा कोठामा शिक्षक शिक्षिकाले कस्तो ज्ञान सिप विद्यार्थीलाई दिन्छन् सोझै घर समाज र राष्ट्रलाई असर परेको हुन्छ। अध्ययन गर्दा विद्यार्थीको उमेर प्रकृति हेरि शिक्षण गर्नुपर्ने हुन्छ। बालबालिकाहरुको सिक्ने क्षमता एउटै प्रकृतिको हुँदैन, त्यस कारण बालबालिकाभित्र भएको क्षमता पहिचान गरी त्यसलाई बाहिर ल्याउन र व्यवहारमा प्रयोग गर्न सघाउनु पर्छ। शिक्षक शिक्षिका भनेको सहजकर्ता हो। बालबालिका भनेको एउटा पुस्तक हो, पढ्न सिक्नुपर्छ। उनीहरुको व्यवहारबाट, हाउभाउबाट भविष्य निर्धारण गरिदिनु शिक्षकको कर्तव्य हो, असम्भव भन्ने केही छैन, बालबालिकाहरु सधै वास्तविकतामा हिडिरहेका हुन्छन्। त्यसकारण उनीहरुले कुनै कुरामा अभिरुचि गर्नु, छुनु, सोध्नु, हेर्नु, स्वभाविक नै भन्नुपर्छ। मात्र कुन उमेरमा बालबालिकाहरुको कस्तो कस्तो बानी व्यवहार आचरण देखाउछन् भनेर जान्नु पर्छ। बालबालिकाहरुको राम्रा क्रियाकलापलाई सधै प्रोत्साहित गरी पुरस्कृत गर्ने र नराम्रा क्रियाकलापहरुलाई आवश्यक सल्लाह दिई सुधार गर्नुपर्ने हुन्छ। त्यसकारण शिक्षक कक्षाकोठामा जानुभन्दा अगाडि पूर्व तयारी गर्नुपर्छ। जस्तैः Daily Lesson Plan, शिक्षण सामाग्री, पुरस्कार आदि हुनुपर्छ।
अन्त्यमा एउटा पूर्ण शिक्षक शिक्षिका हुनको लागि इमान्दारी, सहयोगी, अनुशासित, नैतिकवान, सहनशील, आदि नभइ नहुने तत्व हुन्।
विमला श्रीस पुन
पूर्व प्राथमिक संयोजक
