विद्यार्थी भाइबहिनीलाई एक शिक्षकको प्रेमपत्र

Posted on : 23 April 2019
Views : 790

प्यारा भाइबहिनीहरु

असिम प्यार

भाइबहिनीहरुको अथक परिश्रम खर्चेर मलाई सम्झी पठाएको ज्ञानवर्धक पत्र हिजो पाएँ। तिमीहरुले १०।१५ वर्षको जीवनयात्रा क्रममा प्राप्त गरेको रुप, आर्जन गरेको अनुभव र भोगेको मार्मिक अनुभूतिलाई पालिसदार शब्दहरुको बनोटबाट बनेका चुम्बकीय शैलीको प्रयोग गरी लेखेर पठाएको पत्र पढ्दा म औधी नै खुसी भएको छु। कालीगण्डकीले शालिग्राम कुँदे झै  कुँदेका तिम्रा पत्रका प्रत्येक शब्दभित्र मैले जीवनको विराट अनुभव छचल्किएको अनुभूति गरेको छु। तिम्रा माझिएका सुकोमल शब्दमा राम्ररी उनेर पठाएको स्वच्छ र निर्मल अनुभुतिको जवाफ जुठा, कर्कश शब्दहरु पैँचो लिएर उनीदिन लागेको छु,  स्वीकार ल......। मेरा यी जुठा, कर्कश र छरपष्ट प्रकत भएको रुखो छुच्चो मन पढेर तिम्रा हँसिला खुसिला अनुहार अँध्यारो झुसीलो हुने छैन भन्ने पुर्ण विश्वास लिएको छु।

प्यारा भाइबहिनीहरु, तिम्रो वास्तविक नाम जे भए पनि मैले रोजेको तिम्रो प्रिय नाम चाहि “पढाइ” हो। दरिलो भरिलो स्वच्छ सुन्दर पहाडी खोँचबाट हुतिँदै बटारिँदै छङछङ गाउँदै खसेको पानीको झरना झै निरन्तर बगिरहने स्वरुप तिम्रो रुप हो। तिम्रो झर्झराउँदो झरझरमा पृथ्वीको गर्भमा लुकेर रहेको अनमोल चाँदी र समुद्रभित्र छिपेर रहेको बहुमुल्य मोती टलक्क टल्किएको हुन्छ। तिम्रो सौन्दर्य पुर्ण सफा सुन्दर दृश्य बाँचेको हुन्छ अनि यो तिम्रो रुपाकृतिभित्र सत्यम् शिवम् सुन्दरम् मुसुक्क हाँसेको हुन्छ। यो तिम्रो सुन्दर रुपाकृति देखेर जोकोही सौन्दर्य प्रेमीरसिकहरु सजिलै आकर्षित हुन्छन्। तिमीले आफुभित्र रहेको असिम र अनन्त पीडा लुकाएर अरुलाई सकेसम्म हँसाएको छौँ। तिमीले मित्रहरुको अशान्त हृदयलाई शान्त र सुखी पार्ने प्रयत्न गरेका छौ। तिम्रा रुपका प्रशंसकहरुले तिमीलाई सौन्दर्यको खानी र आँखाको स्वच्छ नानीको नाम दिएका छन्।

तिमीहरु एञ्जल्सको काखमा बसेर उसैको अँगालोमा आलिंगन भएका रहेछौ, मलाई औधी खुसी लाग्यो। तिमीहरुले रोजेको बाटो मलाई सही लाग्यो। एञ्जल्स् शिक्षाको अखण्ड सङ्घर्ष हो। यो बाउन्न हन्डर र त्रिपन्न ठक्कर खाँदै पहाडको कठोर र दृढ छाती छेडेर बाहिर निस्किएको कन्चन झरना हो। मैले सुनेको थिएं,  सबै कोइला हिरा हुदैनन,  सबै पानीका फोहरा झरना हुदैनन्। निश्चय नै हो प्रशस्त राप र ताप पाएको कोइला हीरा हुन्छन,  पहराको काप फोरेर निस्केको र पहराबाट निडरतापूर्वक हाम फालेको छहरा नै झरना हुन्छ। त्यसैले तिमीहरु पनि सङ्घर्षबाट अगाडि बढनुपर्छ। तिमीहरु नौनी होइन आगामा खारिएको घिउ हुनुपर्छ। करार र सङ्घर्षबाट उठेको मान्छे मात्र दृढ र आत्मविश्वासी हुन्छ। आशा छ, तिमीहरु पनि त्यसरी नै दृढ र आत्मविश्वासी हुनेछौ। मेरो विचारमा जीवन सङ्घर्ष हो,  त्यसैले पहाड र काँढासित कुइनो जुधाएर बाँच सिक्नुपर्दछ। हामीले जीवनलाई पूर्णिमाको उज्यालो रातमात्र नसम्झि औसीको अँध्यारो रात पनि सम्झनुपर्छ। पढाई औँसीको अध्यारो चिर्ने,  पुर्ण चन्द्रमाको रोशनी हो,  त्यसैले तिमीहरुले ध्यानपुर्वक पढ्नुपर्छ। तिमीहरु आन्ध्रमहासागरमा नाविकविना भौँतारिएको जहाज होइन त्यसलाई नियन्त्रण गर्ने र सही बाटोमा ल्याउने नाविक हुनुपर्छ।

प्यारा भाइबहिनीहरु, तिमीहरु अब सुगा मात्र होइन कोइली बन्नुपर्छ। फेरि तिमीहरुले पत्रमा लेखेका थियौ “हामी सिर्जनशिलतामा विश्वास गर्छौं’’  यो वाक्य पढदा मलाई औधी खुसी लाग्यो र मेरो मन चंगा भएको थियो। तिमीहरुमा आएको परिपक्वता देख्दा म गौरवान्वित भएको थिएँ। तर तिमीहरुको भनाइ र गराई एउटै हुनुपर्छ। सिर्जनशील मान्छेले नै संसार जित्छ। अब सुगा रटाइको पढाइले कुनै परीक्षा त उत्तिर्ण होउला तर जीवनको परीक्षामा उत्तिर्ण हुन सक्दैनौ, त्यसैले कोइली बन्न सिक्नुपर्दछ। संसारका सबैभन्दा धनी बिल गेटसले कलेजको शिक्षा पुरा गर्न सकेका थिएनन् भने डेउ कम्पनीका मालिक किम उ चुङले हाई स्कुलसम्म पनि पास गर्न सकेनन् तर उनीहरु उच्च शिक्षा पाएका भन्दा धनी भए। त्यस्तै १०९२ वटा आविष्कार गर्ने थोमस एल्वा एडिसनले कलेजको मुख पनि देखेका थिएनन् भने विधुतीय शक्तिको आविष्कारका माइकल फराडेले पनि कलेजको मुख कहिल्यै देखेनन्। मेरो मतलब तिमीलाई कलेज नपढ वा विद्यालय नगए हुन्छ भन्ने कदापि होइन तर विद्यालय मात्र गएर हुँदैन,  सिर्जनशिल हुनुपर्छ भन्ने आशय हो।

भाइबहिनीहरु, तिमीहरु शिक्षाका नाममा सर्टिफिकेटको माला पहिरिएरमात्र शिक्षित कहलिन खोजेका हौ भने त्यो शिक्षा जीवन सापेक्षित हुनै सक्दैन। तिमीले अब ममतावादी शिक्षाको खोजी गर्नुपर्छ। आफुलाई सकारात्मक बनाउन सक्नुपर्छ। हो, यो चुनौतीपुर्ण छ तर तिमीलाई थाहा भएकै हो हिलोमा सुन्दर कमल फुल्छ जसलाई सबैले मनपराउँछन्। अबको यस एक्काइसौँ शताब्दीमा मानवमारा शिक्षा भन्दा मानवतावादी शिक्षालाई आत्मसात गर्नैपर्छ। यदि तिमी यस अग्निपरीक्षामा सकुशल समुत्तिर्ण भयौ भने तिमी उदाहरण बन्ने छौ,  तिमी इतिहास बन्ने छौ अनि शैक्षिक मानवका निमित्त बन्दनिय शैक्षिक धरोहर पनि। यदि तिमी यस कार्यमा खरो भएर उत्रन सकेनौ भने हावामा उडेको बेलुन हुनेछौ, चराले आकाशमा पारेको फुल हुनेछौ अनि हुनेछौ बालुवाको घर। त्यसैले यो कार्य चुनौतीपुर्ण छ र यो चुनौती चिर्न तिमीले एञ्जल्स हार्टका केही गुण सापट लिन र दुर्गुण गुणलाई त्याग्न नितान्त आवश्यक छ। एन्जल्सले मन धुनेदेखि तन धुने सम्मलाई शरण दिएको छ। एन्जल्सले तिर्खालुको आँतमात्रै भरेको छैन, ईष्र्यालुको ईष्र्या पनि मेटिदिएको छ। एन्जल्सले आफनो स्वच्छ हाँसो पस्केर हाँस्न बिर्सेकाहरुलाई पनि हाँस्न सिकाएको छ। ऊ आफना लागि कम र अरुका लागि बढी बाँचेको छ। तिमी पनि निश्वार्थी बन, आफना लागि कम र अरुका लागि बढी बाँच। अवश्य एकदिन नव आकाशमा धुवतारा बनेर उदाउने छौ तिमी। मेरो आशिर्वाद छ तिमीहरुलाई। यो बेला तिमीहरुको चन्चलता र जिज्ञासाको बेला हो। साँच्चै, तिमीहरु चन्चल पनि हुनुपर्छ र जिज्ञासु पनि हुनैपर्छ। तर तिम्रा बालशुलभ ओठहरुमा कलेठी लाग्ने गरी छाडा छोडिएका बँधुवा राँगो झै बुर्लुलक्क बुर्लुलक्क उफ्रने अनि घरमा पालिएको कुकुरले घरकै मालिकलाई थुके झैँ सधैँ अनाहक भुकिरहने चन्चलता र जिज्ञासाको कुनै तुक छैन। तिमी थोरै बोल्ने,  धेरै सुन्ने हुनुपर्छ। तिमी बेमौसममा बहकिएर साउने झरीमा उर्लिएको खहरे नभई शान्त स्वभावको समुद बन्नुपर्छ। अरुको लहलहैमा लागेर जीवनलाई चुरोटको सर्को र दुव्र्यसनको झन्दामा बेर्ने छैनौँ भन्ने उम्मिद लिएको छु। तिमी आधुनिकताको नाममा आफनो संस्कार र संस्कृतिलाई बिर्सेर बाबुआमाले आँखा चिम्लने गरी नाङ्गो पदर्शन गर्नेछैनौ। तिमीहरु एकलव्य भएर आफना गुरुहरुको सम्मान र बाबुआमालाई देवता समान पुजा गर्ने आदर्श स्तम्भ बन्ने छौ। अतः समग्रमा भन्नुपर्दा तिमीहरु ठुलो मान्छे होइन असल र सफल मान्छे बन्ने छौ। यही आशा लिएको छु ।

प्यारा भाइबहिनीहरु, मैले तिमीहरुलाई आफनै छोराछोरी सम्झेर निकै लामो चिठी लेखें। मेरो जीवनको जन्माइ,  बँचाइ,  र सङ्घर्ष गराइले मेरा आफना नानीबाबुहरु प्रेरणा मिलोस् भन्ने हेतु यो पत्र कोरेको हुँ। त्यसैले,  तिमी नित्य निरन्तर सडघर्ष,  सिर्जना र मानवताको अविरल शैक्षिक प्रवाह बनेर युगयुगान्तरसम्म बाँचिरहनु अनि अमृतमय ज्ञान र विज्ञानको स्वाद अरुलाई पनि चखाइरहनु,  पिलाइ रहनु भन्दै यो पत्र आजलाई यति।

उही तिमो सुन्दर भविष्यको कामना गर्ने

शिक्षक 

होमबहादुर जिसी

शिक्षक