नेपाल स्काउटको संक्षिप्त परिचय

Posted on : 29 April 2019
Views : 8982

विश्वमा स्काउटको सुरूवात सन् १९०७ मा भएता पनि नेपालमा भने वि.स.२००९ साल (सन् १९५२ जुन १८) बाट मात्र यसको सुरूवात भएको हो । वि.स.२००७ सालमा नेपालमा प्रजातन्त्र आएपछि देशभर शैक्षिक जागरण आउन थाल्यो। देशका हरेक स्थानमा विधालय खुल्न थाले र शिक्षाको ज्योति देशका हरेक कुना–कुनासम्म पुग्न थाल्यो। यस्तो अवसर देशको वर्ग, जाति र धर्मका मानिसहरूले समानरुपमा उपयोग गर्ने अवसर प्राप्त गरे। यस्तो अवस्थामा नेपालले भने विभिन्न विकास कार्यमा विस्तारै अघि बढ्दै थियो भने विश्वका अरू राष्ट्रहरू विभिन्न क्षेत्रमा विकास गर्दै अघि बढ्ने क्रम द्रुत गतिमा थियो। यसैले पनि विश्वमा स्काउट स्थापना भएको ४५ वर्षपछि मात्र नेपालमा स्काउटिङ शिक्षाले पाईला टेकेको पाइन्छ।

स्काउटिङले शैक्षिक गतिविधि र्माफत विधार्थीहरूलाई देशभक्त र वफदार बनाउदछ। त्यसैले यो राष्ट्रिय दल धर्म र जातजाति आदि विभेदबाट टाढा रहेर शिक्षण संस्थानमा आधारित शैक्षिक आन्दोलनकै रूप हो। प्रजातन्त्र पाप्तपछि नागरिकहरू आफ्ना अधिकारप्रति सचेत रहने गर्दछन्। यस्तो अवस्थामा नागरिकहरूलाई अनुशासित नैतिकवान एंव नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्षम हुनु अति आवश्यक देखिन्छ। यसका लागि बालबालिका तथा युवायुवतीहरूलाई विधार्थी जीवनबाटै अनुशासित बनाउन स्काउट शिक्षाको देशभर आवश्यकता महशुस गरि स्काउट मास्टर तालिम संचालन गर्न विदेशबाट विशेषज्ञ बोलाउनु पर्ने कुरा राजा त्रिभुवन समक्ष शिक्षाविद डा. त्रैलोक्यनाथ उप्रेतीले अनुरोध गरे। राजा त्रिभुवनबाट स्वीकृति प्राप्त भएपछि शिक्षा मन्त्रालयले भारत स्काउट्स एण्ड गाईड्सलाई पत्र लेखि नेपालमा स्काउट तालिम सञ्चालन गर्न अनुरोध गरियो। सोही पत्र अनुसार भारत स्काउट्स एण्ड गाइड्सका नेसनल अर्गनाइजीङ कमिश्नर तथा क्याम्प चिफ श्री राम वाजपेयी २५ जना स्काउट सहित काठमाण्डौं आएका थिए। कार्यक्रम अनुसार उनले विभिन्न स्कुल तथा कलेजका स्काउटमा रूची भएका ३० जना शिक्षक तथा प्राध्यापकहरूलाई समावेश गरि वि.स. २००९ साल जेठ १० गते शुक्रबारका दिन नेपालमा र्सवप्रथम स्काउट मास्टर तालिम गोदावारिमा शुरू भयो। तालिम संचालन भएपछि गोदावारिसम्म आवतजावत गर्न, सामान ढुवानी गर्न र अन्य कामको लागि समेत कठिनाइहरु आई परेको हुनाले पछि सो तालिम लाई छाउनीमा सारियो।

छाउनिमा तालिम सञ्चालन भइरहेको बेला बि.स. २००९ साल अषाढ ५ गते तदनुसार १८ जुन १९५२ वुधबारका दिन नारायणहिटी राजदरवारमा आयोजित विशेष समारोहमा राजा त्रिभुवनबाट तालिम प्राप्त स्काउट मास्टरहरूलाई संगठित हुन र स्काउट कार्यक्रम विस्तार गर्न नेपल ब्वाईज स्काउट्स र गाईड्स संस्थाको झण्डोत्तलन गरि उद्घघाटन गरियो। यसै अवसरमा राजा त्रिभुवनले पनि स्काउट प्रतिज्ञा लिएका थिए। स्काउको संरक्षक बनी स्काउटिङको विस्तारमा राजा त्रिभुवनको महत्वपुर्ण योगदान रहेको छ। नेपाल ब्वाइज स्काउट र गाइड्सको स्थापना भए लगतै देशमा ३ वटा ट्रुप सञ्चालन भयो। यसमध्ये दुईवटा प्रो. गोबिन्द नारायण ‘ज्यापु’ बाट काठमाण्डौंको भिमसेन स्थानमा भीमवाल स्काउट (ओपन ट्रुप) र सरकारी शिक्षण संस्था मध्ये आधार शिक्षा शिक्षण केन्द्र (शिक्षक तालिम केन्द्र) मा स्काउट दलहरू स्थापना गरि तालिम शुरु गरिएको थियो। यसको साथै काठमाण्डौं जिल्ला क्षेत्रपाटी स्थित जुद्धोदय पब्लिक हाई स्कुलमा स्काउटर उद्यमान श्रेष्ठले स्काउट कार्यक्रम हुरू गरेका थिए। यसरी नेपालमा बिस्तारै विभिन्न स्कुलहरूमा पनि स्काउट दलहरू स्थापना हुँदै स्काउट शिक्षा फैंलिदै गयो।

दामोदर बस्नेत

स्काउट शिक्षक