पानी – स्वस्थ जीवनको बाटो

Posted on : 10 May 2019
Views : 1633

हाम्रो शरीरमा ८० प्रतिशत पानीको मात्रा रहेको हुन्छ। मांसपेशीमा ७५ प्रतिशत, हड्डीमा १४ प्रतिशत र दाँतजस्तो कडा अङ्गमा पनि ४ पतिशतसम्म पानीको मात्रा रहेको हुन्छ। रगतमा ८० प्रतिशतदेखि ८४ प्रतिशतसम्म पानीको भाग रहेको हुन्छ। शरीरमा रहेको विष छाला, पिसाब, दिसा र फोक्सोको माध्यमबाट बाहिर निष्कासन हुने काम केही समयको लागि रोकियो भने हामी बिरामी परिहल्छौँ। हामी शुद्ध पानी पिउछौँ भने निष्कासन हुँदा पानीले शरीरको विषादी बोकेर बाहिर आउँदछ। पानीले लगातार रगत शुद्धि गर्ने साथै शरीरको गर्मीलाई नियन्त्रण गर्ने लगायत जीवनको अभिन्न तत्वको रुपमा पानीको महत्व रहेको छ।

बिहान सूर्योदय हुनु अघि उठ्नासाथ शौचादी कर्म गर्नु अघि २ गिलाससम्म चिसो पानी पिउँ। तामाको भाँडोमा राखिएको चिसो पानी पिउनेलाई उषापान पनि भनिन्छ। पानी पिउँदा एकै स्वासमा नपिई घुट्को वा जुस, चिया पिए सरह पिएमा राम्रो हुन्छ। बासी पानीको लागि अघिल्लो साँझ एक लिटर पानी अटाउने तामाको भाँडोमा चिसो पानी राखिदिउँ। तामाको भाँडोमा करिब १२ घण्टा राखेको पानीमा तामाको तत्व पानीमा सर्दछ। जुन तत्व शरीरको लागि बढी गुणकारी हुन्छ। उषापानमा तामाको भाँडोको बासी पानीको महत्व रहेको छ। यो बिहानको पानी नित्य सेवनबाट शरीरको बिकार निष्कासन राम्रोसँग हुन जान्छ। पेटको धेरै रोगबाट मुक्त हुने एक राम्रो माध्यम उषापान हो। पेट खलास नहुने र कब्जियत रोगीहरुका लागि यो विधि झनै महत्वपूर्ण छ। कब्जियत भएकाहरुले बिहान पानि पिएर ५/१० मिनेट शरीर तन्काउने, बटार्ने, अगाडी पछाडी झुकाउने ब्यायाम गरेर मात्र शौचादीमा जाने हो भने पेट सफा हुन जान्छ।

बिहान सबेरै पानी पिउने क्रियाकलाप वैद्य ग्रन्थमा अमृतपान सरह भनिएको छ। यसबाट पित्त शान्त हन्छ र रगत शुद्ध हुन गई हृदय मस्तिष्क एवं स्नायु मण्डललाई स्वस्थ बनाइदिन्छ। यी अङ्गहरू स्वस्थ रहनु स्वास्थ्यको मुख्य आधार हो। हाम्रो शास्त्रहरुमा लेखिएको छ सूर्य उदय हुनु अघि आठ अंजुली जल नित्य सेवन गर्ने मानिस कहिल्यै पनि बिरामी हुँदैन, बुढो देखिदैन र सय वर्षसम्म बाँच्दछ। दैनिक उषापानबाट पेट बलियो भई पेटको रोगबाट मुक्ति मिल्दछ। मोटोपन हुन दिदैन। मुत्र सम्वन्धी रग, कम्मरको दुखाई, पायल्स जस्ता रोग समेत हुन नदिन बिहानको पानी पिउन महत्व रहेको छ। बिहानको उषापान सबै रोगमा फाइदाजनक भएतापनि केही रोगमा यो त्यति लाभप्रद नहुन सक्छ। आउँ, बाथ, निमोनिया, क्षयरोग र सर्दीको सिकायत भएकाहरुलाई यो अनुकुल नहुन पनि सक्छ।

विभिन्न प्रकारको रोग लागेको समयमा हामी पानी पिउँदैनौ। यसो गर्नु झन् भुल हुन्छ। ज्वरो, रुघाखोकी, जन्डिस, दादुरा, कबजियत, पत्थरी, मोटोपन सबैमा दैनिक १०/१२ गिलास पानीको प्रयोग गर्नु पर्दछ। पानीले यी रोगहरुलाई भित्रबाट पखाल्ने मौका पाउँदछ। बिहानको उषापान बाहेक मौसम र रोग अनुसार पानीलाई केही तातो गरेर पनि पिउन सकिन्छ। साथै चुरोट, रक्सी, गाँजा जस्ता नशालु पदार्थ सेवन गर्ने बानी भएकाहरुले यो आदतबाट छुटकारा पाउनेछन्। सामान्यतया दैनिक कति पानी पिउन सकिन्छ त भन्ने विषयमा जाडोको मौसममा डेढदेखि दुई र गर्मीको मौसममा दुईदेखि तीन लिटरसम्म पानी पिउनु पर्दछ। शारीरिक र मानसिक कामको दवाब र थकानमा पनि पानी पिउन सकिन्छ। केही घुट्को पिएको पानीले शरीरमा पुन: शक्ति पैदा गरैदिन्छ। पानी पिउँदा सकेसम्म एक-एक घण्टामा १/१ गिलास पिउँदै जानु राम्रो मानिन्छ। पानी पिउने तरीकामा पनि स्वास्थको रहस्य लुकेको हुन्छ। जहिले पनि पानी पिउँदा मुखमा एक घुट्को राखेर मुख चलाएर पिउने गर्नु पर्छ। यसरी पिएको पानीले शरीरको विकार फाल्न बढी मद्दत पुग्दछ। कति मान्छेलाई पानी जति पियो उति फाइदा भन्ने लाग्न सक्छ। तर आवश्यकता भन्दा  बढी पानी पिउनु पनि स्वास्थ्यको लागि राम्रो होइन। बढी पानी पिउँदा किड्नीमा बढी दवाब पर्दछ। शरीरको ग्लुकोजको मात्रा घट्न सक्छ। मुख सुकिरहन सक्छ। दैनिक माथि तोकिएको मात्रामा पानी सेवन गरे पुग्छ। प्राकृतिक चिकित्सामा भोजन २ भाग, पानी १ भाग र हावा १ भाग गरेर भर्नु राम्रो हुन्छ र स्वास्थ्यवर्धक हुन्छ भनिएको छ। पुरा पेट भोजनले मात्र भर्नु राम्रो हुदैन। भोजनको बिच-बिचमा पानी पिउने बानी छ भने एक/दुई घुट्को पिए पुग्छ। भोजनको साथमा बढी मात्रामा पानी पिउने बानी भए कम गर्दै जानु पर्छ। भोजनको साथमा र भोजन गर्नु अघिपछि पिएमा पेटको पाचन रसलाई पखालिदिन्छ। जसकारण पेटको रोग लाग्न सक्छ। पानीले हाम्रो भित्री अङ्गलाई मात्र सफा र शुद्धि गर्ने होइन शरीरका बाहिरी अङ्ग पनि सफा गर्ने र धेरै प्रकारका रोगमा पानीको महत्व छ। प्राकृतिक चिकित्सामा पानीको माध्यमबाट धेरै प्रकारका जिर्ण रोगहरु पनि निको गरेको छ। यसैले उषापानको बानी बसालौं अनि स्वस्थ जीवन बाँचौ।

(लेखकको अनुमतिमा “स्वस्थ रहने तरीका” भन्ने पुस्तकबाट साभार गरिएको)

डा. चेतनाथ अधिकारी

अभिभावक