स्वर्ग र नर्क (प्रेरक प्रसङ्ग)

Posted on : 20 May 2019
Views : 950

एकजना सैनिक एकजना गुरु कहाँ गयो र सोध्यो – “वास्तवमा स्वर्ग र नर्क भन्ने चिज हुन्छ त?”
“तिमी को हौ?” गुरुले सोधे।
“म एउटा सैनिक हुँ।“ सैनिकले घमण्डका साथ जवाफ दियो।
“उसो भए तिमी सैनिक हौ?” गुरुले आश्चर्य मान्दै भने, “तिमी जस्तोलाई कसले सैनिकमा भर्ती गरायो? तिमी त भिखारी जस्ता पो देखिन्छौ।“
सैनिकलाई गुरु जस्तो व्यक्तिबाट यस्तो कुरा सुन्दा झनक्क रिस उठ्यो। उसले आफ्नो हात तरबारको बिंडमा पुर्यायो। सैनिकको गतिविधि देखेर गुरुले भने – “ए, तिमीसँग त तरवार पनि रैछ। तर यसो हेर्दा त तरवारमा धार पनि छैन जस्तो छ नि। एउटा सैनिक भएर भुत्ते तरवार लिएर हिंड्न तिमीलाई लाज लाग्दैन?”
गुरुको यस्तो अपमानजनक शव्दहरु सुनेर सैनिक रिसले थरथर काँप्दै म्यानबाट तरवार बाहिर निकाल्यो। गुरुले तुरुन्तै भने – “ल हेर, नर्कको ढोका खुल्यो।“
यो कुरा सुन्ने बितिक्कै सैनिकले गुरुले भन्न खोजेको कुरो बुझ्यो। अनि हातको तरवार भुईमा फाल्यो र गुरुको अघिल्तिर लम्पसार परेर दण्डवत गर्यो।
गुरुले शान्तपूर्वक भने – “अब भने स्वर्गको ढोका खुल्यो।“