मान्छे केही हुन्छ र बन्छ भने आफ्नो शक्ति, सामर्थ्य र बुद्धिमत्ताले हुन्छ। ‘बोकेको कुकुरले मृग मार्दैन’ भने झैँ तपाईलाई केही पाइला हिंड्न मानिसले सहयोग गर्लान् तर तपाईलाई कसैले पनि शिखरमा लिएर जाँदैनन्, सफलताको शिखरमा पुग्नको लागि तपाईले आफैं हिंड्नुपर्छ, आफै पाइला चाल्नुपर्छ। तपाईं कुनै कुरा चाहनु हुन्छ भने त्यो पाउने नपाउने तपाईंमै निर्भर छ। यदि तपाईंमा कुनै समस्या या बाध्यता छ भने समाधान गर्ने कुरा पनि तपाईंमै निर्भर छ। तपाईंको सफलता वा असफलतामा तपाईं बाहेक अरु कोही जिम्मेवार छैन। अरुलाई दोष दिएर नपन्छिनुस्। यदि तपाईको सङ्कल्प छ, तपाईंले जसरी पनि सफल हुनु छ र चाहे जेसुकै होस् तपाई यसमा अटल रहनु हुन्छ भने तब संसारमा कुनै त्यस्तो शक्ति छैन, जसले तपाईलाई सफलता प्राप्त गर्नबाट रोक्न सकोस्। यदि तपाईंको जीवनमा कुनै लक्ष्य नै छैन भने तपाईंसँग कुनै सङ्कल्प पनि हुँदैन। तपाईंले धेरै काम गरेको मेहनत गरेको त देखिन्छ तर परिणाम केही पनि निस्कँदैन। तपाईं कुनै तीव्र गतिको रेलमा चढ्नु भयो तर आफू कहाँ जाने भन्ने नै तपाईंलाई थाहा छैन भने त्यो गतिको के अर्थ? के प्रयोजन? गतिमान हुनु मात्र सबै कुरा होइन। गति लक्ष्यतिर छ कि छैन, प्रमुख कुरा त्यो हो। त्यसैले लक्ष्यविनाको मानिस लगामविनाको घोडा जस्तै हो। त्यसकारण हामी विद्यार्थीमा लक्ष्यतिर लक्षित हुन विद्यार्थीमा हुनु पर्ने पाँच लक्षणलाई सदा सर्वदा पालन गर्नु पर्दछ। विद्यार्थी परिश्रमी हुनु पर्दछ। त्यसैले भनिन्छ:-
काक: चेष्टा वको ध्यान स्वान निन्द्रा तथैव च:
अल्पहारी गृहत्यागी विद्यार्थी पञ्च लक्षणम्।
कौवा जस्तो चलाख, ज्ञान आर्जन गर्ने बेला बकुल्लाको झैं एक चित्त भएर पढाइमा ध्यान, कुकुरको जस्तो निद्रा, थोरै खाने र घर त्यागेर नियमित विद्यालय हुनु पर्ने प्रमुख गुणहरु हुन्। यसका लागि पनि आफैमा दृढ इच्छा हुनु जरुरी छ। यसलाई मन, वचन र कर्मका साथ अगाडि बढाउनका लागि आफ्नो सफलता आफैसँग छ भनी शक्ति, सामर्थ्य र बुद्धिमत्ताका साथ अघि तपाईं आफु बढ्नुस् सुन्दर संसार तपाईंको हुन्छ। लक्ष्यका साथ अघि बढेकै कारण आज धार्मिक र सामाजिक दुवै क्षेत्रमा नाम कमाउन सफल व्यक्तित्व भएका हुन्:- शिव, गणेश, देवी, फ्लोरेन्स, मदर टेरेसा, जुनको ताइवे, दयावीर आदि आदि। अन्तमा लक्ष्य प्राप्तिका लागि केही सङ्घर्ष त अवश्य गर्नु पर्दछ नै जसरी सुनलाई विभिन्न आकारका गहनामा परिणत गर्नमा आगोमा तताउनु पर्दछ त्यसरी नै लक्ष्य प्राप्तिका लागि पनि सङ्घर्षरत रहनुपर्दछ।
तपाईंलाई लक्ष्यमा पुर्याउने केवल अध्यनले मात्र हो। त्यसैले भनिन्छ:-
विद्यां ददाति विनयं विनयाद् याति पात्रताम्।
पात्रत्वात् धनमाप्नोति धनात् धर्मं ततः सुखम्॥
विद्याले नम्रता दिन्छ, विनयी वा सहनशील भइसकेपछि असल मान्छे बन्न सहयोग गर्दछ। असल पात्र भएपछि धन कमाउन सकिन्छ। धन भएपछि सुख हुन्छ। अनि ठूला-ठूला काम गर्न सकिन्छ। यी उद्देश्य प्राप्त गर्न पनि आफूमा दृढ इच्छा शक्ति आवश्यक हुन्छ। उद्देश्य प्राप्त गर्न आफैँमा सङ्कल्प आवश्यक हुन्छ, त्यसैले लक्ष्यले मानिसलाई महान् बनाउँछ; शिखरमा पुर्याउँछ साथै विशिष्ट प्रतिभाका रुपमा चिनाउँछ। लक्ष्यमा लक्षित भइ आगाडि बढ्नुहोस्, तपाईंलाई संसारका कुनै अवरोध महान बन्न रोक्न सक्दैन। मानिसका लागि लक्ष्यमा पुर्याउन अरुले होइन आफ्नुभित्र रहेको इच्छा शक्तिले मात्र हो। त्यसैले त देवकोटाले भनेका हुन् -
के हो ठूलो जगतमा? पसिना विवेक
उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक
परिश्रम गरेर पसिना बगाई अगाडि बढ्यौ भने जस्तो सुकै अवसरको पनि सिर्जना आफैं गर्न सकिन्छ। जीवनलाई अमृतमय लक्ष्यले नै बनाउँछ।
अयोध्या प्रसाद प्याकुरेल
नेपाली शिक्षक
