Posted on : 23 June 2019
Views : 1235
भरोसा विहिन धरहरा जस्तो धर्मराएको
पुषको कठ्याङ्ग्रिएको कुहिरोभित्र अलमिलिए जस्तो
यो जिन्दगी
आशा विहिन भरोसामा जस्तो
डोके दाइले डोकोको बिट मार्नै भुले जस्तो
कता कता फुस्किएको जिन्दगी
विद्यार्थीले झोलामा कोचेको कापी जस्तो
कच्याककुचुक
मिलाउँदा मिलाउँदै च्यातिएको पाना जस्तो
यो जिन्दगी
त्यो पहाडी भिरमा फुलेको बुकी फूल झैँ
टिप्नै असजिलो यो जिन्दगी
हुटिट्याउँले झैँ आकाश धानेको
स्वर्णिम कल्पना बुन्दै अल्झिएको यो जिन्दगी
गाइने दाइको सारङ्गी झैँ
धुन फेरिरहने यो जिन्दगी
सगरमाथाको उचाई झैँ
उच्च रैछ जिन्दगी
बुझ्नेलाई त श्रीखण्ड
नबुझ्नेलाई खुर्पाको बिंड रैछ जिन्दगी।
रमा शर्मा
नेपाली शिक्षिका
