अल्बर्ट आइन्स्टाइनका प्रेरक प्रसङ्गहरू

Posted on : 02 July 2019
Views : 1384

महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको जन्म जर्मनीको उल्म भन्ने सहरमा मार्च १४, सन् १८७९ मा भएको थियो। उनका बुबाको नाम हर्मन आइन्स्टाइन र आमाको नाम पाउलिन आइन्स्टाइन थियो। उनी सबैभन्दा बढी सापेक्षताको सिद्धान्त र द्रव्यमान उर्जा समीकरण E=mc2 को लागि चिनिन्छन्। आइन्स्टाइनले सन् १९२१ को भौतिकशास्त्रतर्फको विश्वप्रसिद्ध नोबेल पुरस्कार प्राप्त गरे। 

यिनै महान वैज्ञानिक अल्वर्ट आइन्स्टाइनका केही प्रेरक प्रसंगहरु:

१. स्कूलेकालमा बुद्धु विद्यार्थीका रुपमा परिचित अल्बर्ट आइन्स्टाइनले विज्ञानमा क्रान्ती गरेपछि उनको नाम विश्वमै प्रख्यात भयो । 

आइन्स्टाइनसित एकपटक एकजना विद्यार्थीले प्रश्न गर्यो, “तपाईको उन्नतिको रहस्य के हो बताइदिनु हुन्छ की?”
आइन्स्टाइनले बडो नम्रतापूर्वक जवाफ दिए, ''मेरो उन्नतिको रहस्य एउटै सुत्रमा छ ‘हिम्मत कहिल्यै नहार्नु’। जब म सानो थिएँ, त्यतिबेला स्कूलका सबै साथीहरु मलाई बुद्धू भनेर जिस्काउँदथे। शिक्षकले गरेको प्रश्नको जवाफ दिन पनि म सक्दिनथेँ। त्यसैले मलाई बारम्बार बेञ्चमाथि उभिनु पर्दथ्यो। त्यसमथि गणितका शिक्षक भन्ने गर्दथे तिमी त सात जुनीमा पनि गणित सिक्न सक्दैनौ। यो सुनेर म मनमनै रुन्थे, तर मैले कहिल्यै हिम्मत हारिन।''

२. महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइन काममा अति नै तल्लिन भएर लाग्दथे। जुन कार्य शुरु गर्दथे त्यो काम फत्ते गरेर मात्र छोड्दथे। एकपटक आइन्स्टाइन सोधपत्र लेख्ने कार्य सकेर क्लिप (कागज च्याप्ने) खोज्न थाले। टेबुल र दराजका सम्पूर्ण स्थानहरुमा खोजिसक्दा पनि क्लिप फेला पार्न सकेनन्। अन्त्यमा उनले एउटा कुनामा बिग्रेको काम नै नलाग्ने पुरानो पेपर क्लिप देखे। उनले यो क्लिपलाई मर्मत गरी काममा लगाउने जुक्तिबारे सोच्न थाले र बनाउन पट्टि लागे।

एकछिन पछि उनका सहायक पनि आइपुगे। आइन्स्टाइन एउटा पुरानो पेपर क्लिप मर्मत गर्न लागेको देखेर उनले दराजबाट एक बट्टा नयाँ क्लिप निकाले र भने, “महोदय, हामीसगँ प्रशस्त क्लिपहरु छन्। तपाई पुरानो क्लिप बनाउँदै हुनुहुन्छ। त्यसलाई फालेर नयाँ प्रयोग गरे भैहाल्छ नि।”
आइन्स्टाइनले उनको कुरा सुन्दै नसुनी लगातार त्यसैमा लागेर क्लिप तयार गरी छाडे र शोधपत्रमा च्यापे। उनले आफ्ना सहायकलाई बोलाएर पिठमा थप्थपाउँदै भने, “बाबु, जुन लक्ष्यमा लागिन्छ त्यसमा निन्तर लाग्नुपर्छ। विचलित हुनुहुन्न। मलाई कसैले पनि आफ्नो लक्ष्यबाट विचलित पार्न सक्दैन।”

३. एकपटक ब्राउन वेलले आइन्स्टाइनसँग सोधे, “आजभन्दा ठीक सय वर्षपछिको विश्वका बारेमा तपाई के कल्पना गर्नु हुन्छ?”
आइन्स्टाइनले प्रश्न सुनेर एकछिन घोरिएर विचार गरे पनि भने, “आशा लाग्दो र निराशा लाग्दो दुवै।“
ब्राउन वेलले आइन्स्टाइनलाई यसबारे स्पष्टरुप भनिदिन आग्रह गरे।
आइन्स्टाइनले यस बिषयमा स्पस्टीकरण दिंदै भने, “आशा लाग्दो यसकारणले कि आउँदो सय वर्षभित्र मानिसले जल, थल, र नभमा आफ्नो सत्ता स्थापित गर्ने छ र निराशा लाग्दो यसकारणले कि त्यतिबेला मानिस स्वयंदेखि टाढा भाग्ने छ।“