आज भन्दा १२ वर्ष अगाडि म काठमाडौँको पूर्वी भाग जोरपाटी स्थित एउटा राम्रै नाम चलेको संस्थागत विद्यालयमा यही सामाजिक शिक्षा विषय पढाउँथे जसरी अहिले एञ्जल्स हार्टमा पढाइरहेको छु । म मेरा सयौँ नानीबाबुहरुसँग रमाउँथे । उनीहरुको भविष्यप्रति सचेत हुँदै कहिले गाली गर्थेँ त कहिले फकाउँथेँ । यही नै एउटा शिक्षकको धर्म जस्तो लाग्थ्यो र हो पनि । म भन्ने गर्थें जसले गाली गर्छ उही सबैभन्दा नजिकको हुन्छ र माया गर्छ । हाम्रा आमाबुबाले हामीलाई यसकारण गाली गर्नुहुन्छ किनकी उहाँहरु नै हामीहरुका सबैभन्दा नजिकको पात्र हुनुहुन्छ । हाम्रो भविष्यप्रति सजग हुनुहुन्छ। जसले मह काढ्छ उसले हात चाट्छ भने जस्तै जसले माया गर्छ उसले गाली पनि गर्छ । तिमीहरुलाई थाहा नै छ, न्युटनको तेस्रो नियमले क्रियासँगै प्रतिक्रिया हुन्छ भन्छ। शिक्षक पनि दोस्रो अभिभावक हो। उहाँहरुले विद्यार्थीलाई माया गर्नुहुन्छ र त उहाँहरुसँग गाली गर्ने अधिकार छ। म त्यही गर्थें र अझ पनि त्यही गर्छु । म यहाँनिर यो लेख यसर्थ लेखिरहेको छु ताकी भाइबहिनीहरलाई प्रेरण मिलोस् जसरी खालिद होसेनीको उपन्यास The kite Runner को पात्र आमिर एउटा मायालु साथी हसनको प्रतिज्ञा प्रेरणा र सहयोगले चङ्गा उडाउने प्रतियोगितामा विजेता हुन सक्यो ।
एकदिन जब म विद्यालयको दैनिक कार्य सकी आफ्नो डेरातर्फ थकित र फुङ्ग उडेको अनुहार लिएर निस्कदै थिएँ एउटा परिचित आवाज मेरो कानमा प्रतिध्वनित भयो । म मेरो निन्याउरो अनुहारलाई आवाज आएतर्फ घुमाएँ उनी कक्षा १० मा अध्ययनरत भाई पो रहेछन्। म टक्क रोकिएँ। उनले मसँग ५ मिनेटको समय मागे। मैले पनि आनाकानी नगरी हुन्छ भनिहाले। उनले मसँग भने- “सर अब म आफ्नो जीवनको सुइ घुमाउन चाहन्छु। सँधै म कृतिम अक्सिजनको बन्धक भएर बाँचे अब म आफ्नै हृदयको ढुकढुकीमा बाँच्न चाहन्छु।“ मैले उनको कुरा बुझिन र अक्मकिदै सोधें- “तिम्रो आसय मैले बुझिन नि?” उनले स्पष्ट पार्दै भने- “सर म मान्छे हुन चाहन्छु।“ मलाई उनको कुरा वाईघात लाग्यो अनि भने- “धत! लाटा तिमी मान्छे नै त हौ नि।” म त्यहाँबाट हिँडे मलाई बाटामा समेत उनको प्रश्नले घच्घचाई रह्यो मलाई उनको प्रश्न एउटा आब्स्ट्रयाक्ट आर्ट लाग्यो । म सोच्दै हिँडे। उनको अमूर्त प्रश्न मेरो आर्ट ग्यालरीको थ्री डाइमेन्सनलमा चित्राङ्कित हुन थाल्यो। तर त्यसबाट मैले नौनी निकाल्न चाहन्थें। मलाई छटपटी र उच्चछवासले औडाह भयो। रातभरि निद्रा परेन। मेरो टेबलमा लियो टोल्सटायले लेखेको कथा संग्रह थियो । मलाई कथा पढ्न अति रोचक लाग्थ्यो। भाग्यवस मैले त्यसरात उनको Three Questions नामक कथा पढेँ।
भोलिपल्ट म स्कूल सदा भन्दा आधा घण्टा अगाडि पुगेँ। मैले हिजो प्रश्न गर्ने भाइलाई खोजें र हामी हिजो उसले प्रश्न गरेकै ठाउँमा उभियौं। मैले लियो टल्सटायको कथालाई अमूर्त रुपमा उनी सामुन्ने राखेँ। जसमा एउटा राजाले मानिसको सफलताका लागि तीनवटा प्रश्नको उत्तर खोज्न चाहेका थिए। राजाले मानिसका लागि सबभन्दा महत्वपूर्ण समय (The most important time) कहिले हो, महत्वपूर्ण ब्यक्ति (the most important person) को हो र महत्वपूर्ण काम (The most important work) के हो भनि यसको उत्तर जान्ने चाहेका रहेछन् । तिमीले पनि यी तीन प्रश्नको उत्तर सही तरिकाले खोज्यौ र प्रयोग गर्यौ भने अवश्य सफल मान्छे बन्ने छौ।
हो, प्रत्येक विद्यार्थीले यी तीनवटा महत्वपूर्ण प्रश्नको उत्तर जान्नैपर्छ। एउटा विद्यार्थीको लागि उसको महत्वपूर्ण समय भनेको आज हो, अहिले हो। विद्यार्थीले गर्नुपर्ने सम्पूर्ण कार्य अहिल्यै वा आजै गर्नुपर्छ। हामीले हाम्रो वर्तमानलाई खेर फाल्नु हुँदैन। र कसैको पनि महत्वपूर्ण ब्यक्ति भनेको जोसँग अहिले उ सम्पर्कमा छ अर्थात विद्यार्थीको लागि महत्वपूर्ण व्यक्ति भनेको उसको शिक्षक हो र महत्वपूर्ण काम भनेको जुन उसले कार्य गरिरहेको छ अर्थात उसको पढाइ हो। तिमी पनि यी तीनवटा कुरालाई बुझेर अगाडि बढ्यौ भने भोलि तिम्रो जीवन कहिल्यै असफल हुने छैन ।
मैले उसलाई मान्छे बन्ने अरु पाँच सुत्र सुझाएँ, प्रत्येक मान्छेको सफलताको कडी उसको जिज्ञासा हो। जिज्ञासाले मान्छेको ज्ञानमा निखार ल्याउँछ र नयाँ सोचको विकास हुन्छ। बर्षायाममा बेमेसोले उर्लने खहरे झैँ तुक न बेतुकको जिज्ञासाको कुनै अर्थ छैन । समय सापेक्षित र विषय सन्दर्भित जिज्ञासा हुनुपर्छ। गुरुत्वाकर्षण शक्तिका प्रतिपादक महान वैज्ञानिकले रुखबाट फल तल किन झर्यो भन्ने सोच वा जिज्ञासा राखेकै कारण सामान्य न्युटन महान बने र त उनलाई हामी आज पढिरहन्छौँ। सिर्जनशीलता (Creativity) सफलताको अर्को नाम हो। अरुले यो गरे उ गरे भनेर गन्ती गर्नुभन्दा आफैले केही गर्नुपर्छ। त्यसरी नै साहस -Courage) र आत्मबल (Conviction) ले पनि मानिसलाई अघि बढ्न प्रेरित गर्दछ। मानिस मानिस बन्नका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको उ भित्रको योग्यता वा सामर्थ्य { (Competent) हो । संसारले किन्ने भनेको मान्छेको योग्यता हो। यदि तिमी योग्य बन्यौँ भने तिमीलाई किन्न मान्छे घरमै आउँछन् । तिमीलाई थाहै छ नेइमार, रोनाल्डोलाई उनीहरुकको शरीर देखेर अमुक क्लबले लगानी गरेको होइन यो त उनीहरुको क्षमतालाई दिइएको हो। त्यसका लागि तिमीभित्रको क्षमतालाई पहिचान गरी त्यसमा चमक ल्याउने कोसिस गर अवश्य मान्छे बन्ने छौ। उसको यही मान्छे बन्ने इच्छा भनौ वा जिज्ञासाले अहिले ऊ एशिया प्यासिपिक हेर्ने विविसी न्युज च्यानलको क्षेत्रिय पत्रकार छ जहाँ उसको मासिक ३ लाख हाराहारी तलब पाउँछ। एञ्जल्स हार्ट भित्र पनि यो क्षमता छ त्यसैले भाइबहिनीहरुका लागि उत्प्रेरणा स्वरुप मैले यो प्रसङ्ग जोडेको हुँ यहाँ ।
भन्छन् वनको चरी वनमै रमाउँछ। तिमीहरु पनि विद्यालय भित्रका चरी हौ। त्यसैले तिमीहरु विद्यालयभित्रको गतिविधिमा रमाउन सक्नुपर्छ। तिमीमा क्षमता छ र अदम्य साहस पनि। त्यसलाई निखार ल्याउनु पर्छ। फलामलाई पनि तिखारेपछि धारिलो बन्छ। तिमीहरुले आफुभित्रको क्षमतालाई तिखार्न सक्यौ भने भोलिका धारिला मान्छे बन्ने छौ यसमा दुईमत छैन। कस्तुरीले आफ्नो नाभीको सुगन्ध थाहा नपाएर कोसौँ ढाटा कुद्छ रे हामी अब कोसौ कुद्ने कस्तुरी नभई हामीभित्रको क्षमता पहिचान गर्न सक्ने मान्छे हुनु छ।
भाइबहिनीहरु, तिमीहरु लहरेपिपल होइन अग्राख बन्नुपर्छ। छिट्टै हर्लक्क बढ्ने लहरे पिपल हावाको सानो झोक्काले ढल्छ, छिटो समयमा नै कुहिन्छ र समाप्त हुन्छ। तर अग्राख वर्षौं टिक्छ, बलियो हुन्छ। निरन्तरताले मान्छेलाई अग्राख बनाउँछ, त्यसैले प्रत्येक कुरामा निरन्तरता दिन सिक। यो यथार्थ हो हिमालबाट बग्ने खोला कहिल्यै सुक्दैन।
भाइबहिनीहरु आज तिमीहरु एञ्जल्स हार्टको गर्भमा छौ। म एञ्जल्स हार्टलाई कञ्चन र पवित्र हिमाल सम्झन्छु जहाँ निस्वार्थ र जीवनदायी हाँसो हाँस्न सिकाउने प्राकृतिक नासो छ। हिमालले हामीलाई दुःख र सङ्घर्षको क्षणहरुलाई धैर्यपूर्वक सामना गर्न सिकाइ रहेको छ। हिमाललाई घामले पोल्दैन, हिउँले कटकटी काट्दैन, वर्षाले विरामी पार्दैन बरु कठोरता पन्छाइरहन हिमाललाई रमाइलो लाग्छ । हिमाल कठोरहरु प्रति कठोरता प्रदर्शन गर्दैन, दुःखमा आत्तिदैन, आफ्नो उच्चता र सौन्दर्यमा मात्तिदैन। यिनै गुणले भरिपूर्ण छ एञ्जल्स हार्ट। एञ्जल्स हार्टका यिनै सफलताका गुणहरुलाई हामीले आत्मसात गर्नुपर्छ। जसरी राप र तापले पिल्सिएको कोइला हिरा हुन्छ त्यसरी नै अथक परिश्रम र सङ्घर्षले खारिएको जीवन सफल हुन्छ। कष्ट र आत्मविश्वासका साथ अगाडि बढ, अवश्य पनि सफलताको सगरमाथा चुम्ने छौ।
जीवन एउटा बृहत् समुन्द्र हो। जहाँ मोति लुकेको छ। तिमीहरु समुद्रका गोताखोर हौ त्यसैले तिमीहरुले समुद्रबाट मोती निकाल्नु पर्छ। अब हामीले चन्द्रमाको शितलतालाई पहिचान गर्ने हो, चन्द्रमाको कालो धब्बालाई पहिल्याउने होइन। एञ्जल्स हार्टले तिमीलाई यही सिकाएको छ। त्यतिमात्र होइन एञ्जल्स् हार्टले तिमीहरुलाई मौरी भएर बाँच्न सिकाएको छ र मान्छे भएर जिउन सिकाएको छ। तिमीहरु सँधैभरी मिहनेती र स्वाभिमानी मौरी भएर बाँच्नुपर्छ। सूर्यको रापलाई शक्तिमा बदल्ने कला लिएर हिँड्नुपर्छ जसले तिमीहरुलाई कहिल्यै भोको राख्दैन र कहिल्यै नाङ्गो पार्दैन र अन्त्यमा यति मात्र भन्छु जित्नेले कहिल्यै हार्दैन, तिमी मात्र जित्ने आँट गर। अवश्य पनि उकालो चढ्न गाह्रो हुन्छ र समय लाग्छ तर उकालो चढिसकेपछिको सम्म ठाउँमा सुस्ताउनुको मज्जा नै छुट्टै हुन्छ।
होमबहादुर जिसी
शिक्षक
