योगको सामान्य अर्थ जोड्नु हो। वेदान्त अनुसार शरीरका तीन रुप छन् – सुक्ष्म शरीर(मनोवैज्ञानिक बौद्धिक कोष), स्थुल शरीर(अन्नमय शारीरिक कोष) र कारण शरीर(आत्मिक कोष)। यी तीनवटा शरीरका बीच सन्तुलन कायम गराउनु योग हो। जीवन भनेको शरीर, ज्ञानेन्द्री, कर्मेन्द्रीय, मन, बुद्धि, अहम् तथा आत्माको सम्मिश्रण हो। यी सबै चीजहरु आ-आफ्नै प्रभाव जमाउने प्रयासमा रहन्छन्। योग नै यस्तो माध्यम हो, जसले यी सबै चीजको सन्तुलन मिलाइदिन्छ। यसरी जीवनको सन्तुलन मिलाउने हुँदा यसलाई सन्तुलन र सामान्जस्यताको विज्ञान भने पनि हुन्छ। योग विद्या साधनाको माध्यमबाट आत्मानुभूति रहेर थाहा पाउने विषय हो। यो विद्यालाई सिद्धान्तबाट मात्र बुझ्न खोज्नु मूर्खता हुनेछ। योगको विषयमा पतञ्जलीले भन्नु भएको छ- “चित्त वृत्ति रोक्ने विधिलाई योग भनिन्छ”। योगको विषयमा गीतामा भनिएको छ- “योग: कर्मसु कौशलम्” अर्थात- कर्मको कुशलता नै योग हो। योगले सजगताको पाठ सिकाउँछ, सम्यक बनाउँछ। जीवनमा आश्चर्यजनक परिवर्तन गराउँछ। योग भनेको जीवन तथा आत्मा विकासको विज्ञान हो। शारीर, मन र आत्मा यी सबैलाई बुझ्ने विज्ञान नै योग हो। हाम्रो शरीरमा इडा, पिंगला र नाडी छन्। यी सुसुम्ना नाडीहरुलाई क्रमश: नकरात्मकता, सकारात्मकता र सन्तुलनका रुपमा लिन सकिन्छ। यसैगरी सांख्य दर्शन अनुसार पनि मानिसहरुमा हर समय तीनवटा शक्ति क्रियाशील रहन्छ, ती हुन्- सत्व (सन्तुलन), रज (क्रियाशील) र तम (निष्कृयता) । जुन व्यक्तिमा तमस् प्रभाव बढी हुन्छ, त्यस्तो व्यक्ति अल्छी, अकर्मन्य र सुस्त किसिमको हुन्छ। रज गुण भएका व्यक्तिहरु अति सक्रिय हुन्छन्। व्यस्त हुन्छन्। यी दुवै गुणको सामन्जस्य मिलाउने गुण सत्व हो। यी दुवै गुणलाई सन्तुलनमा ल्याई शान्ति, समृद्धि, सुखपूर्ण बनाउने सत्व गुणको प्राप्तिको माध्यम नै योग हो।
जीवन एउटा चुनौती हो। मानिसले जन्मसँगै मानवीय विशेषता पनि साथमै लिएर आएको हुन्छ। त्यस्तो मानिस पाइदैन, जोसँग हर समय समस्या नहोस्। गृहस्थीसँग गृहस्थी सम्बन्धी समस्या रहला भने उद्योगपति, व्यापारी, कलाकार, राजनीतिज्ञ सबै जो-जुन ठाउँमा छन्, त्यहाँ समस्या रहेकै हुन्छ। जीवन, समस्या र चुनौतीभित्र रहेर पनि जो व्यक्ति शान्त, साहस र धर्यका साथ समस्याको समाधान गर्दै अगाडी बढ्छ त्यही व्यक्ति नै शारीरिक र मानसिक रुपले सबल र स्वस्थ बन्न सक्छ। अस्वस्थ व्यक्ति जीवनलाई बोझ सम्झन पुग्दछ, समस्यादेखि भाग्न खोज्दछ र अरुलाई दोष लगाउँदछ। आफुभित्रको कारणलाई कहिल्यै पनि खोज्दैन। अचेल विज्ञानको विकाससँगै मानिसहरु दुखी, अस्वस्थ, असफल, निरास हुने क्रम बढ्दै गएको छ। धन छ, सुबिधा छ, उपयोग गर्न मन लागेको चीजमा कुनै कमी छैन, तैपनि मानिस सुखी र स्वस्थ हुन सकेको छैन। शारीरिक स्वास्थ्यको सम्बन्ध मनसँग रहेको हुन्छ भने मनको सम्बन्ध आत्मासँग रहेको हुन्छ। शरीर बिरामी भएमा उपचार गर्न सबै अस्पताल पुग्दछन्, तैपनि रोग निको भएको पाउँदैनौ। शरीर स्वस्थ हुन, मन स्वस्थ हुनु पर्दछ। मनलाई स्वस्थ बनाउन कुनै डाक्टरले सक्दैन। आजसम्मका औषधी विज्ञानले मनलाई स्वस्थ बनाउन सकेको छैन। मन र शरीरको सन्तुलन नमिलाई जीवन सुखी रहन सक्दैन। मानिस जे चाहन्छ, त्यो पाउनको लागि, मन र शरीरको सन्तुलन मिलाउनको लागि, जीवनको चुनौतीसँग सामना गर्नको लागि र मानवीय समस्याबाट पार पाउनको लागि के त्यस्तो साधना छ त? जहाँबाट मानिस सुखी रहोस्। त्यो साधाना हो – योग।
योग एक विज्ञान हो। विज्ञानको अर्थ बराबर अध्ययन, अनुसन्धान र परीक्षण गर्दा त्यसको परिणाम एकै किसिमको निक्लनु हो। योग एक बौद्धिक, तर्कसंगत र सिद्धान्तमा आधारित दर्शन हो। यो कुनै धर्मोदेश, पूजापाठ अथवा कुनै जाति, भाषा र सम्प्रदाय विशेषसँग मात्र सम्बन्ध राख्ने विषय होइन। यसको आविस्कारकर्ताले शुरुमै पत्ता लगाएको कुरा के हो भने मानिसको विशिष्ट शक्ति भनेको शरीर र मन हो। मन र शरीर दुवैलाई उचित ध्यान दिन सकिएन भने मानिसहरुले इच्छित फल प्राप्त गर्न सक्दैनन्। मन र शरीर बीच सन्तुलन मिलाउने विज्ञान नै योग हो। आधुनिक चिकित्सा विज्ञानले यति ठूलो सफलता देखाए पनि मानसिक स्वास्थ्य ठीक नभई शारीरिक स्वास्थ्य ठीक हुँदो रहेनछ भने निचोडमा वैज्ञानिकहरु पुगिसकेका छन्। मानसिक र शारीरिक स्वास्थ्यका लागि योग भन्ने विषयमा पनि उनीहरु एकमत छन्।
(लेखकको अनुमतिमा “स्वस्थ रहने तरीका” भन्ने पुस्तकबाट साभार गरिएको)
डा. चेतनाथ अधिकारी
अभिभावक
