तीन सन्त (प्रेरक प्रसङ्ग)

Posted on : 30 July 2019
Views : 1347

एकदिन साँझपख एउटी महीलाले तीनजना सन्तलाई आफ्नो घर छेउमा देखी। ती महिलाले ती तीन सन्तलाई भनी - “तपाईहरु हाम्रो घरमा आई भोजन गरेर हामीमाथि कृपा गर्नुहोस्।”
तर तीन सन्तमध्ये एकले भन्यो - “हामी कुनै पनि घरमा एकसाथ तीनैजना जान सक्दैनौ।”
“किन नि?” महिलाले आश्चर्य मान्दै सोधी।
एकजना सन्तले भन्यो - “मेरो नाम धन हो। मसँगैका साथीहरु सफलता र प्रेम हुन्। हामीमध्ये कुनै एक जना मात्र तपाईको घरमा गएर भोजन गर्न सक्छौँ। त्यसैले तपाई घर सल्लाह गरेर हामीमध्ये एक जनालाई भित्र लगेर भोजन गराउनुहोस्”
महिला भित्र गएर आफ्नो पति र छोरीलाई सबै कुरा सुनाई। पतिले खुशी भएर भन्यो - “त्यसो हो भने हामी धनलाई बोलाउँ अनि हाम्रो घर सुखी हुन्छ।”
पत्नीले भनी -“हामी धन भन्दा पनि सफलतालाई बोलाउँ।”
उनीहरुको कुरा सुनेर छोरीले भनी - “हामी धन र सफलतालाई भन्दा पनि प्रेमलाई बोलाउँ किनभने प्रेमभन्दा ठूलो कुरा अरु केही हैन।”
छोरीको कुरा सुनेर महिला र उसको पतिलाई चित्त बुझ्यो।
महिला घर बाहिर गई र सन्तहरुलाई भनी- “तपाईहरुमध्ये जसको नाम प्रेम हो, उहाँ कृपा गरेर हाम्रो घरभित्र आई भोजन ग्रहण गरिदिनुहोला।”
प्रेम सन्त उनीहरुको घरभित्र गयो। तर साथसाथै अन्य दुई सन्त पनि पछि पछि घरभित्र गए। 
महिलाले आश्चर्यपूर्वक भनी- “मैले त प्रेमलाई मात्र बोलाएकी थिएँ।”
ती सन्तमध्ये एकले भन्यो - “यदि तपाईले धन र सफलतामध्ये कुनै एकलाई  निम्त्याउनु भएको भए एकजना मात्र भित्र जान्थ्यो। तर तपाईले प्रेमलाई निम्त्याउनु भयो। प्रेमले कहिल्यै एक्लै यात्रा गर्दैन। प्रेम जहाँ जहाँ जान्छ, धन र सफलता पनि उसँगै पछिपछि जान्छन्।”