धार्मिक आचरण, आस्था र स्काउट शिक्षा

Posted on : 06 August 2019
Views : 1302

मानव जीवनलाई व्यवस्थित र मर्यादित बनाउने नियम धर्म हो। सन्तुलित पर्यावरणभित्र मानवताको प्रवद्धनका लागि धर्मको आविष्कार भएको हो। मानवीय मूल्यहरुलाई आत्मसात गर्दै अनुशासन र कर्तव्य निर्वाहको गहिरो अध्ययनबाट धर्मको आविष्कार भएको हो। प्रीति, सहनशीलता, आत्मसंयम, चोरी नर्गनु, पवित्रता, इन्द्रिय लगाम, ध्यान पूर्वक विचार, शास्त्रको ज्ञान, विश्वसनीय दृढ प्रतिज्ञा र क्रोधको अभाव (शान्त) दशवटा धर्मका लक्षण भनिएका छन्। समग्र जीवनको उल्लास, उत्सव, आनन्द र आन्तरिक सत्य अनुभूति गर्ने आधार धर्म हो। स्काउटहरुका लागि अनुशासन, कर्तव्यकर्म, राष्ट्रसेवा, समाज सेवा र मानवताको प्रवद्र्धन गर्ने विधिको समुचित परिचालन नै धर्म हो।
प्राचिन समयदेखि नै मानिसहरु धेरै धार्मिक विचारमा आफूलाई सरिक राख्दै आएका थिए र सधैँ धार्मिक कार्यक्रमहरुमा भाग लिन्थे। कुनै काम शुरु गर्नु भन्दा पहिले धार्मिक अनुष्ठानबाट कार्य आरम्भ गर्ने र सबैलाई ईश्वरको रुपमा सम्झेर माया गर्दथे। यसैगरी संसारका हरेक मानिसहरु झैँ आफूलाई छुटै पहिचान मार्फत स्थापित गर्न जुटेका स्काउटहरुले पनि धर्ममा विश्वास गर्दछन्। जुनबेला उनीहरु बाहिर जान्छन्, पहाड, जङ्गल घुम्छन्, विभिन्न जनावरहरुको सेवा गर्छन् बोट विरुवा, फूलहरु रोप्छन् इत्यादि काममा समेत आफ्नो निष्ठापूर्वक दयालुपन देखाउँछन्। जवसम्म मानिसले धर्ममा विश्वास गर्दैन, त्यसबाट बनाइएका नियमहरु मान्दैन तबसम्म त्यो असल मानिस हुन सक्दैन। स्काउट कार्यक्रमका आधारभूत सिद्धान्तहरु मध्ये ईश्वर परमेश्वरप्रतिको कर्तव्यमा पनि यसको केही परिमार्जित रुप छ। जस अनुसार आध्यात्मिक सिद्धान्तसित गाँसिएर ती आध्यात्मिक सिद्धान्तको स्रोत ती धर्मप्रति वफादार तथा तीबाट उपज भएका कर्तव्यहरुको स्वीकार्य गर्ने क्षमता रहेको हुन्छ। यसको कारण स्काउट कार्यक्रममा समेत व्यक्तिगत ईश्वर नमान्ने युवायुवतीहरुलाई भौतिक विश्वलाई माथ गरी आध्यात्मिक मूल्यहरु खोज्न प्रोत्साहन दिइन्छ।
एक धर्म मान्ने मानिसले अर्को धर्म मान्ने मानिसहरुलाई दुःख दिनु, भेदभाव गर्नु , वाधा खडा गर्नु, विरोध गर्नु जस्ता कामहरु गर्नु हुँदैन। ‘‘स्वधर्मे निधनं श्रेय: परधर्मो भयाबह:’’ भने जस्तै आफ्नै आचरण र चालचलनमा बस्नु वेश हुन्छ। आफ्नो आचरण र चालचलन छाडेर अर्काको आचरण र चालचलनमा जानु भन्दा सबैको सम्मान गर्नु स्काउटको धर्मप्रतिको कर्तव्य हुन्छ। स्काउटका संस्थापकद्धारा निर्देशित गरिएको सिद्धान्तमा पनि मानिस भन्दा माथिको शक्ति सम्बन्धी आवरणमा स्काउट कार्यक्रमको आधार रहेको कुरा बताएका छन्। स्काउटहरुका लागि प्रकाशित महत्वपूर्ण पुस्तक स्काउटिङ फर ब्वाइज नामको पुस्तकमा पनि वेडेन पावेलले धर्मका कुरालाई सरल रुपमा प्रष्ट पारेका छन्। यसर्थ स्काउटहरु पनि धर्मजीवन (अर्कालाई न्यायको बाटोमा हिडाउँन प्रेरित गरेर जीवन चलाउने) धर्मपथ (भलाइको मार्ग, सत्मार्ग), धर्मपाठक (नागरिक कर्तव्य सिकाउने) योद्धा नायकहरु हुन्। यसर्थ स्काउटहरुले पन धार्मिक आचरण नियम पालना गर्नु अत्यावश्यक हुन्छ। यहाँ केही आचरणहरु उल्लेख गरिएका छन् :– ईश्वरप्रति आफ्नो कर्तव्य पूरा गर्दा जुनबेला खुशी भइन्छ त्यसबेला उनीप्रति कृतज्ञ रहनुपर्छ। मानिसको भलाईका लागि आफ्नो कर्तव्यका रुपमा सबै मानिसप्रति उपकारी र उदार हुनुपर्दछ। कसैबाट उपहारस्वरुप प्राप्त वस्तु स्वीकार्दा उसप्रति आफ्नो कृतज्ञता प्रकट गर्नुपर्दछ। संसारमा बाँचुञ्जेल असल काम गर्नु पर्दछ। राम्रो मानिस बन्नु राम्रो कुरा हो तर राम्रो काम गर्नु त्यो भन्दा बढी राम्रो मानिन्छ।

दामोदर बस्नेत

स्काउट शिक्षक