आमाको माया

Posted on : 11 August 2019
Views : 1059

नेपालको पूर्वी पहाडको इलाममा एकजना गगन नाम गरेको केटा थियो। ऊ एकदम तेज दिमाग भएको र मेहेनेती थियो। कक्षामा सधैँ प्रथम हुन्थ्यो। त्यसैले विद्यालयमा ऊ सबैको प्यारो थियो। एकदिन आमाले खाना बनाउन ढिला भएकाले गगन खाना नखाई विद्यालय गयो। आमाले त्यस दिन विद्यालयमा नै खाना पुर्याइदिनु भयो। तर दुर्भाग्य जुन दिन आमाले खाना पुर्याउनु भयो त्यसै दिनदेखि उसका साथीहरुले उसलाई जिस्क्याउन थाले। ‘ए अन्धीका छोरा!’, ‘गगने तेरी आमा त बहुलाई जस्ति रहिछन् नि।’, ‘तँ त त्यो झत्ती आइमाईको छोरा पो रहिछस् नि।’ आदि इत्यादि शब्दले साथीहरुले गिज्याउन थालेपछि उसलाई ज्यादै दुःख लाग्यो। गगनकी आमाको एउटा आँखा थिएन। उनीहरु एउटा सानो झुपडीमा बस्थे। उनी आफ्नो छोराको लालनपोषणका लागि अर्काको घरमा काम गर्न जान्थिन् तर आफ्नो छोरालाई प्राण भन्दा प्यारो गर्थिन्। एकछिन घर आउन ढिला भयो भने अथवा गगनलाई आफ्नो आँखा अगाडि देख्न पाइनन् भने दुःखी हुन्थिन्। पिर मान्थिन् पहिले त गगन पनि आमा छाडेर एकैछिन पर जान सक्दैनथ्यो तर जुन दिनदेखि उसको आमाका कारण साथीहरुले घृणा गर्न थाले त्यस दिनदेखि विस्तारै उ आमादेखि टाढा हुन थाल्यो। आफ्नी आमालाई घृणा गर्न थाल्यो।

ऊ पढ्दै गयो। उसले एस. एल. सी. परीक्षामा सर्वोत्कृष्ट अंक ल्याएर पास गर्यो। त्यसपछि ऊ काठमाण्डौ गएर पढ्न थाल्यो। राम्रो पढाइ भएका कारण कलेजमा पनि फ्रि पढ्न पायो भने  चौधरी ग्रुपको एउटा इलेक्ट्रोनिक कम्पनीमा काम पनि पायो। ऊ पैसा कमाउनमा व्यस्त भयो। कहिल्यै पनि आफ्नी आमा र घर गाउँ सम्झेर फर्किएन। ८/१० वर्ष बिते। आफ्नो छोराको खबर के होला, के गरेर बसेको होला, खान पनि पकाउन जान्दैनथ्यो, कति दिन भोकै पर्यो होला, मैले पनि पैसा पठाएकी छैन, बिचरा मेरा छोराले कति दुःख पायो होला भन्दै आमा दिनरात उसैलाई सम्झेर आँखाभरी आँसु पार्थिन्। मेलापात गरी कमाएको पैसा लिएर एकदिन छोरा भेट्न भनी आमा काठमाडौंतिर लागिन्। त्यसबेला अहिलेको बसपार्क पनि बनेको थिएन। उनी रत्नपार्कको बसपार्कमा पुगिन्। कति दिनसम्म आफ्नो छोराको सोधी खोजी गरिन्। बल्ल बल्ल एकजना मानिसले, “आमा तपाइको छोरा त बानेश्वरमा बस्छ, घर बनाएको छ, उसले बिहे पनि गरिसक्यो। तपाईँका २ जना नाति नातिना पनि छन्” भन्ने खबर सुनायो। आमा हर्षले गद्गद् भईन्। त्यही मानिसले दिएको ठेगानामा गएर सोधखोज गर्दै गर्दै उसले बताएकै घरमा पुगिन्। घरमा ताल्चा लगाएको थियो। बाहिर गेट छेउमा गएर टुक्रुक्क बसिन्। आउन त आएँ घरमा ताल्चा लगाएको छ फेरि घर पनि यही हो कि होइन। केही पैसा नबोकी आएको मेरो छोराले यति छिट्टै समयमा कसरी यत्रो घर बनायो होला मनमा अनेक कुराहरु खेलिरहेका थिए। गेट खोलेर एकजना स्वास्नीमान्छे एउटा छोरा र एउटी छोरी हातमा दोहोर्याउँदै भित्र पसिन्। आमालाई पत्याउन गाह्रो भैरहेको थियो कि यिनै महिला उनकी बुहारी हुन् यिनै नानीहरु नतिनातिना हुन् भनेर। आमाले सोधिन्, “नानी मेरो छोरा गगनको घर यही हो?” बुहारीलाई थाहै थिएन कि उनकी सासूआमा पनि छिन् भनेर। त्यसैले यो को बहुलाई बुढी हो भन्दै उनी हतार हतार नानीहरु लिएर घरभित्र पसिन्। आमाले नातीलाई छुन खोजिन्, माया गर्न खोजिन् तर उनीहरु  भित्र पसिहाले। आमा के गर्ने, के गर्ने भएर गेट बाहिर निस्कन मात्र के लागेकी थिइन्, आफ्नो छोरा गगन आउँदै गरेको देखिन्। आमा हर्षले गद्गद् भईन्। मेरो छोरा भनेर अँगालो मार्न लागेकी थिईन्, गगनले  ठूलो ठूलो स्वरमा कराउन थाल्यो, “तिमी यहाँ पनि आइपुग्यौ? मेरा छोरा छोरी डराउँछन्, तिमी यहाँबाट गैहाल।” आमा छोराको यस्तो व्यवहार देखेर छक्क परिन्। गहभरी आँशु पारेर भक्कानो परेर दुई हात जोडी माफी माग्दै भनिन्, “माफ गर्नु होला, म गलत ठाउँमा आएछु।” यति भनेर आमा घर फर्किईन्। कति दिनदेखि भोकै तिर्खै खोजेर भेटेको छाराले यस्तो  व्यवहार गर्यो। तर पनि आफ्नी बुहारी र नाति नातिनी देख्न पाएकोमा उनी खुसी नै थिईन्।

एकदिन गाउँको विद्यालयमा ठूलो कार्यक्रम हुने भयो। विद्यालयको रजतजयन्ती कार्यक्रम हुने भयो। धेरै मानिसहरु भेला भएका थिए। उनको छोरा गगनलाई पनि विद्यालयले निमन्त्रणा दिएको थियो। आफ्ना परिवारलाई पनि नभनी ऊ गाउँ आएको थियो। उसलाई खादा लगाएर विद्यालयले सम्मान गर्यो। एकजना भद्र मानिसले गगनलाई उसकी आमाले दुःख गरेर पढाएको कुरा स्मरण गर्यो। गगनका आँखा पनि रसाए। त्यो कार्यक्रम सकिएपछि तिनै भद्र मानिसले ‘गगन! आमालाई भेट्न जाने होइन, उहाँ त विरामी हुनुहुन्छ,’ भनेर सुनायो। गगन सरासर आफ्नी आमा भेट्न पुरानो झुपडीतिर लाग्यो। ढोका अलिकति खुल्लै रहेछ, आमा हातमा एउटा चिठी बोकेर ढल्नु भएको रहेछ। उसले आमालाई छाम्यो। आमा बितिसक्नु भएछ। उसले आमाको हातबाट चिठ्ठी लियो। यो उसकै लागि लेखेको रहेछ। उसले पढ्न थाल्यो।

प्यारो छोरा गगन,
म तिमीलाई धेरै माया गर्छु। म आज ज्यादै खुसी छु। तिमी शहर गएर प्रगति गरेछौ, घर, बुहारी, नाति नातिनी सबै देख्न पाएँ। त्यति राम्री बुहारी पाएकोमा म ज्यादै खुसी छु।
यो पत्र तिमीले पाउँदासम्म म बाँचेकी हुनेछु वा छैन सायद मरिसकेकी हुनेछु होला तर एउटा कुरा तिमीलाई सुनाउन चाहन्छु, हेर बाबु तिमी सानो छँदा हामी बिराटनगरमा बस्थ्यौं। हाम्रो एउटा राम्रो  घर थियो। एउटा राम्रो गाडी र बाबा कम्पनीको म्यानेजर हुनुहुन्थ्यो। हामी एकदिन धनकुटा आउँदा हाम्रो गाडी दुर्घटना भयो। तिम्रो बाबालाई धेरै चोट लाग्यो। तिमी पनि चोटैचोट लागेर घाइते भएका थियौ। बुबा र तिम्रो उपचारमा धेरै पैसा खर्च भयो। तिमी त बाँच्यौ तर तिम्रो बुबालाई मैले बचाउन सकिन। तिमी बाँचे पनि तिम्रो एउटा आँखा क्षतविक्षत भएकोले मेरो आँखा तिमीलाई लगाइदिएँ। त्यसको लागि हाम्रो घर पनि बेच्नुपर्यो। त्यसैले म तिमीलाई लिएर यस ठाउँमा आएँ। जग्गा जमिन, सम्पत्ति, घर केही पनि नभएकोले हामीले धेरै दुःख खप्नु पर्यो। तर दुःख जति भए पनि तिमीले राम्रो पढेर प्रगति गरेकोले मैले सबै दुःखहरु भुलेँ। म सधैँका लागि तिमीबाट टाढा जाँदैछु। तर म मरेर गए पनि यो संसारलाई तिम्रा आँखाको मद्दतले देखिरहने छु।

उही तिम्री आमा
अन्धी बुढी

पत्र पढेर गगनले गहभरी आँशु पारेर आमालाई हेर्यो, “मलाई माफ गरिदिनु होस्” भनेर रोयो, करायो र आफैलाई धिक्कार दिदैं पश्चातापले पिरोलिई रह्यो।

सरु वाग्ले

शिक्षिका