विद्यार्थीलाई पत्र

Posted on : 27 September 2019
Views : 1349

प्रिय विद्यार्थी भाइबहिनीहरु,

तिमी आफै पढ़दैनौ, तिमीलाई पढ भन्नु पर्छ । तिमी आफै लेख्दैनौ, तिमीलाई लेख भन्नु पर्छ । तिमी आफै सबेरै उठ्दैनौ, तिमीलाई सबेरै उठाउनु पर्छ । तिमी आफै अनुशासनमा बस्दैनौ, तिमीलाई अनुशासनमा बस्न सिकाउनु पर्छ। तिमीलाई हरेक कुरा यसो गर उसो गर भनेर भनिराख्नु पर्छ । यस्तो लाग्छ तिमी एउटा नोकर हौ । मालिकले नोकरलाई अह्राए जस्तो हरेक काम अह्राउनु पर्छ । मेशिनलाई चालु गर्न बटन थिचे जस्तो ।

प्रिय विद्यार्थी नानीबाबु हो, तिमी स्वयम् मालिक हौ । तिमी मेशिन हैनौ, तिमी विवेकशील प्राणी हौ । तिमी त हरेक पल हरुवा सिपाही जस्तो थाकेका देखिन्छौ । तिमी त बिजेता हौ । तिम्रो जन्म नै विजेता बन्नलाई भएको हो । यस अर्थमा तिमी महान बिजेता नै हौ ।

प्रिय विद्यार्थी नानीबाबु हो, जुन दिन तिमीलाई म स्वयम् मालिक हुँ, नोकर हैन, म एउटा बिजेता हुँ, हरुवा हैन भन्ने ज्ञान हुन्छ अर्थात् बोध हुन्छ, बस् त्यो दिनदेखि आज म जे गर्दै छु, मेरो लागि गर्दै छु, मैले यो काम जसरी पनि पुरा गर्नु पर्दछ, किनभने मेरो काम म  आफैले गर्नु पर्दछ भन्ने ज्ञानको यात्रा शुरुवात हुन्छ ।

त्यसैले विद्यार्थी भाइबहिनी हो, यो बुझ्नु अत्यन्तै जरुरी छ कि तिमी कसैको लागि हैन, स्वयम् आफ्नो लागि पढ़दैछौ । जे गर्दै छौ स्वयम् आफ्नो जिन्दगीको लागि गर्दै छौ । तिमी आफुलाई एकपटक फर्केर हेर त, तिमी अब दोहोर्याएर हिँडाउनु पर्ने सानो बच्चा रहेनौ । तिमी अब आफ्नो जिन्दगीको लागि के सही हो के गलत हो भनेर छुट्याउने र निर्णय गर्ने भैसक्यौ । यसर्थ, अब आफ्नो लागि आफै मेहनत गर अनि आफ्नो कामको जिम्मेवारी लिएर अगाडी बढ्न सिक । जिन्दगीमा सफल व्यक्ति बनेर मान्छे बन्नुको परिचय देउ । बाँकी तिम्रै हातमा ।

तिम्रो भलो चाहने अभिभावक

दिपा श्रेष्ठ मगर

अभिभावाक