शुभकामना

Posted on : 25 October 2019
Views : 964

प्रज्ज्वल भै रश्मीका किरणहरुले फारुन निशा धराको,
प्रफुल्ल होस् प्रकृति सिञ्चित जलले निर्मल होस् भाव साराको ।

धन विद्या बल अहम सम्प्रदायी भावना छलकपट र स्वार्थ दानवको,
भस्मीभूत बनाई अन्यायहरुलाई कल्याण बक्सियोस् हे ईश सदमानवको ।

जबजब निशाले छोप्दछिन् सदकर्महरूलाई प्रस्फुटित हुन्छन् अन्यायी भूतहरु,
चाकडी चाप्लुसी गरी न्याय गाड्दछन् दलदलमा घुस्छन् कलङ्कित दूतहरु ।

बुद्धिजिवी हुँ म भन्नेहरुको कुतर्क र गुटले,
हुने छैन दीर्घ भलो कँही कतै जात, भात र टुट फुटले ।

हामी प्रदर्शन गर्दछौँ अविवेकी मनले आडम्बर टाइ सुटको,
संयम ज्ञान सिद्ध भै कर्म गरौँ अब हामी खाँचो छ कर्मठ, निःस्वार्थ र एक जुटको ।

रातो दिन छियाछिया दहन शोषण भइरहेछ प्रकृति माँको,
हाम्रै यही धरतीमा छन् अमृत रसहरु इमानीलाई वर्णन अन्य किन कहाँको ।

ब्र्रह्मा, विष्णु, महेश, गणेश सरस्वती दुर्गा लक्ष्मी र कृष्ण पनि।
पुकार्दछु सब दिव्य आत्मा भगवान भलो जगत् को होस् भनी ।

रामसीता हनुमान कंश र रावण युधिष्ठिर भिष्म पितामह,
गुरु नानक कबिर बुद्ध सहित अर्जुन कर्ण बाली, सुग्रीव अथाहा ।

जेशिश, महमद, जैन हिन्दु, सनातन सबका आत्मा परमात्मा ईश,
एउटै हो सबको आत्मा परमात्मा ईश भने किन टुक्रिदै छन् उन्नाइस् बिस ।

सबैले पुज्ने जे जे नाम भए पनि दिव्यात्माहरुको आशीर्वादले,
कल्याण होस् सब जीवहरुको स्वस्थ उमङ्ग सँधै हुँदैन उन्मादले ।

दया होस् नयनमा मायाँ होस् मनमा करुणा सेवा कर्महरुमा,
ज्ञान गंगा, प्रगति, उपकार विश्व भरिमा सदभाव सबै धर्महरुमा ।

अन्तर्मन आत्मादेखि दिन्छु सब जनमा मेरो शुभकामना,
सुख शान्ति प्रगति शुमङ्गल सबमा ईश्वरले सबको नाममा ।

दीनानाथ पौडेल

संस्थापक