काल शब्दको शाब्दिक अर्थ कुनै पनि युग, समय, बखत, अवस्था बेला आदि हुन्छ । महाकाव्यमा पात्र तथा घटनाहरूको युग तथा समयलाई यसले जनाउने गर्दछ । कुन समयको प्रभावले कृतिकारले त्यस कृतिको रचना गर्यो तथा कृतिभित्र के कस्ता कालगत परिवेशले कृतिलाई सशक्त पारेको छ भन्ने कुरा नै कालगत परिवेशको अध्ययन हो । कालगत परिवेशको भिन्नताले पनि कृतिको वर्णनमा भिन्नता ल्याउँछ । कालको सफल प्रयोग नै कृतिको लक्ष्य प्राप्ति हो ।
रामायण महाकाव्यमा मुख्य रूपमा पुराण अनुसार विभाजित सत्य, त्रेता, द्वापर र कलिमध्ये कालगत परिवेशको रूपमा त्रेतायुग आएको छ । जसको समयावधि १२,९६,००० वर्ष रहेको पाइन्छ । यही समयमा नै अयोध्यामा दशरथले र जनकपुरमा जनकले शासन गरेका थिए । यिनीहरूको शासनकालको व्यवस्था सामन्तकालीन थियो । यस समयमा राजा महाराजाहरूले राज्य संचालन गर्ने गर्दथे र सामन्तयुगीन समय भए पनि त्यस समयमा जनताका आवाजलाई महत्व दिएर सुनिन्थ्यो । जनताबाट कुनै किसिमको आक्षेप लागे पनि राजा महाराजा जस्तोसुकै त्याग गर्न पनि तयार हुन्थे । त्यसैले त्यस समयको शासन व्यवस्था भनेको सामन्तयुगीन प्रजातान्त्रिक व्यवस्था हो भन्न सकिन्छ । मानिस प्रकृतिको निकट रहेर जीवन सन्चालन गर्नु, गुरूद्वारा बालबालिकालाई शिक्षादीक्षा प्रदान गर्नु, हातहतियारको नाममा काठे औजारहरूको विकास हुनु, दृश्यसत्ता राजा, सेनापति, वीर एवम् अदृश्यसत्ता परम ईश्वरीय सत्ताको बन्दना गरी इहलौकिक तथा परलौकिक जीवनको सुख र मोक्षप्राप्ति कसरी गर्न सकिन्छ भन्ने मानिसको सोच रहनु त्यस समयको कालगत विशेषता हो । त्यस समयका मानिसहरू आदर्शवादी, भक्तिपरक, नैतिकवान् एवम् आध्यात्मप्रधान रहेका पाइन्छन् । त्यस समयमा समाज, धर्म, नीति, भक्ति, ज्योतिष, न्याय, प्रशासनलगायत सम्पूर्ण कुराहरूमा वैदिक विधिविधान नै चलेको पाइन्छ ।
यसरी रामायण महाकाव्यमा कालगत परिवेश बुझाउने तिथिहरू एकादशी, दशमी पूर्णिमा, रामनवमी आदि आएका छन् भने समय बुझउने शब्दहरू बखत, बेला, अहिले, पहिले, एकछिन आदि प्रयोग भएका छन् । कालगत हिसाबले रामायण महाकाव्यमा प्रत्यक्ष रूपमा रामायणकालीन काल र परोक्ष रूपमा त्रेताकालीन समय वरपरको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश अभिव्यञ्जित भएको छ । त्यस्तै प्राकृतिक कालचक्रका रूपमा आउनेजाने प्रभातकालीन समय, दिवा समय, सन्ध्याकालीन समय, रातको समय, प्रातःकाल, वर्षाकाल, एकदिन, सन्ध्या, आज, भोलि, महिना, ऋतु पनि यहाँ उपस्थित भएको छ । साथै मौसमी परिवर्तनसँगै घुम्दै आउने विभिन्न ऋतुहरूमध्ये शरद्काल, सूर्यमास, चन्द्रमास, आदि जस्ता ऋतुको पनि सुस्पष्ट चित्रण यस महाकाव्यमा भएको छ । यस रामायण महाकाव्यमा जङ्गली युगबाट मान्छे भर्खरभर्खर घर बनाएर बसेको, ऋषिहरू जङ्गलमै तपस्या गरेर तपोवनमै रमाएको र राजाहरू जङ्गलमा शिकार खेलेको वर्णनले शिकारी युग थियो भन्न सकिन्छ । स्वर्गका अप्सरा र देवता इन्द्र र असुरहरूको युद्ध र विजय आदिले रामायण महाकाव्यमा पौराणिक युग रहेको स्पष्ट हुन्छ ।
वास्तवमा भन्ने हो भने यस महाकाव्यमा कवि आचार्यले अतीतकालीन पौराणिक समयको ऋषि सभ्यता, त्यति बेलाका राजा महाराजाहरूको दुव्र्यवहार, राजा र प्रजाबीचको सम्बन्ध, कृषियुगको थालनी, गुरुकुलीय परम्पराबाट शिक्षाका क्षेत्रमा आँशिक विकासजस्ता कुराहरुको सङ्केत दिँदै राम र रावणको युद्ध र विजय आदिद्वारा पौराणिक युगको स्पष्ट चित्रण गरेका छन् । साथै महाकाव्यमा देखिने गृहस्थी, राजनीति, वैभव–विलास, आदर्शप्रेम, तपोवन र आध्यात्मिक आदर्श आदिका दृष्टिले पनि यो महाकाव्य अतीतकेन्द्री रहेको छ । त्यसमा पनि प्राचीन युगका अनेक उथलपुथलबाट परिचित भए तापनि कवि आचार्य त्यसप्रति आँखा चिम्लिएर एकोहोरो रूपमा प्राचीनताको महिमागान गर्न पुगेका छन् । यो उनको प्राचीनताको मोह हो । आचार्यको भावुकता र वस्तुगत अवलोकनको अभावले यस रामायण महाकाव्यमा पौराणिक समयलाई स्वर्णमय र त्रेताकालीक परिवेशको चित्रण गरेका छन् ।
पिताम्बर दाहाल
शिक्षक
