पात्रहरु: आमा, बाबा, कान्छी(दिदी), सुन्तली(बहिनी)
(मिरमिरे उज्यालोसँगै कान्छीकी आमाले ढोका खोलेर बिस्तारै बिस्तारै आफ्नी छोरी कान्छीलाई बोलाउन लागिन् ।)
आमाः ए कान्छी कान्छी उठ् झिसमिसेमै नुहाएर आउनुपर्छ कति सुतेको । उठ् ।
कान्छीः पख्नुस् न आमा एकछिन् त सुत्न दिनुस् ।
आमाः अँहँ आज नुहाएर चोखिने दिन हो । पँधेरामा भिड हुन्छ अहिले नुहाएर आइ हाल् ।
(आँखा मिच्दै मिच्दै कान्छी उठ्छे । आफ्ना लुगा बटुलेर झिसमिसेमै डराउँदै डराउँदै आमाको पछि पछि लाग्छे । डरले आमाको हात समाउन खोज्छिन् ।)
आमा: अहिले गाग्री छोइन्छ, अलि पर मलाई नछोइकन हिँड् ।
(कान्छी मन खिन्न पार्दै आमाको पछि पछि लाग्छे । अनि पँधेरोमा नुहाइ धोइ गरेर सुनपानी खाएर फुरुङ हुँदै घर फर्किन्छे ।)
आमाः ओहो अहिले त खुब खुसी भाछेस् त किन नि ?
कान्छी: किनकि अब म बहिनी र हजुरसँग सुत्न पाउछु नि त मलाई बाहिर एक्लै सुत्दा कति डर लाग्छ थाहा छ हजुरलाई । रातभरी म निदाउन सक्दिन नि आमा ।
आमाः हामीले नि तँ जस्तै गरेर हुर्किएको हो किन डराउने ।
बहिनी: दिदी घर आउँदा खुसी भएर दिदीको हात समाउँछे ।
सुन्तली: दिदी आज त हामीसँगै बसेर भात खाने है । अनि राति एकै ठाउँमा पनि सुत्ने ल ।
कान्छी: (मुसुक्क हाँसेर टाउको हल्लाउँदै) हुन्छ नि ।
आमाः ल ल छिटो गरेर घाँस काटेर आऊ खाना खाएर स्कुल जान ढिला हुन्छ ।
(दिदी बहिनी डोको लिएर जङ्गलतिर लाग्छन् ।)
सुन्तली: दिदी तिमी किन महिनै पछि बाहिर सुत्छौ ?
कान्छीः किन कि आमाले भन्नु भएको छुने नहुँदा घरको दलिन टेक्न मिल्दैन रे र भित्र सुत्न नि मिल्दैन रे ।
सुन्तलीः तिमीलाई डर लाग्दैन बाहिर सुत्न ?
कान्छी: लाग्छ नि तर के गर्ने भित्र पस्नै दिनुहुन्न ।
सुन्तली: तिमी कहिलेसम्म यस्तै गरेर बस्छौ त ?
कान्छी: म नमरेसम्म ।
(दिदीका कुरा सुनेर सुन्तलीको आँखाबाट आँसु झर्छ ।)
सुन्तली: तिमीमात्र हो बाहिर बस्ने ?
कान्छी: अँहँ, भोलि तिमी पनि बस्नुपर्छ ।
सुन्तली: (झसङ्ग डराएर) अँहँ, म त कहिले बस्दिनँ ।
(दिदी चुपचाप लागेर हिँड्छे ।)
दिदी: ल ल छिटो घाँस काटेर घर हिँड् ढिला भयो ।
(घर आई खाना खाई दुवै दिदीबहिनी स्कुल जान्छन् ।)
कान्छीः सीता आज त मलाई सन्चो नभएको जस्तो भएको छ ।
सीताः के भयो ?
कान्छीः खै ज्वरो आए जस्तो भाको छ ।
सीताः कसरी के भयो?
कान्छीः खै हिजो गोठमा सुत्दा रातभरी जाडो भएको थियो फेरि विहानै अँध्यारोमै नुहाएर आएको त्यही भएर होला ।
सीताः धेरै सञ्चो नभए सरलाई भनेर घर जा न त ।
कान्छीः भो, बाले गाली गर्नुहुन्छ ।
(स्कुल छुट्टी पछि घर फर्किन्छन् ।)
कान्छी: आमा मलाई त ज्वरो आएको जस्तो भएको छ ।
आमाः कान्छीको निधार छाम्दै भनिन्, अँ हो त तेरो शरीर त तातिएको छ । पख् म तेरो बालाई भनेर एउटा सिटामोल दिन्छु ।
(त्यो दिन खाना पनि नखाइ सिटामोल खाएर कान्छी घुप्लुक्क निदाउँछे । भोलिपल्ट झिसमिसेको उज्यालोसँगै कान्छी उठ्छे ।)
कान्छी: आमा मलाई भोक लागेको छ खाना दिनुस् न ।
आमाः पहिला हात मुख त धो अनि पकाएर दिउँला ।
(एकछिनमा आमाले मकै भट्ट भुटेर खल्ती भर हाली दिन्छिन्, कान्छी र सुन्तली दङ्ग पर्दै वनतिर लाग्छन् कान्छी र कान्छीको बहिनी बीच धेरै माया थियो । उनीहरु सँगै मिलेर पढ्थे, मिलेर काम गर्थे । यसैगरी रमाइलोसँग खेल्दै रमाउदै दिन बित्दै थियो । फेरि कान्छीको छाउपडी बस्ने दिन आयो । कान्छी धुरुधुरु रोइरहेकी दिई ।)
सुन्तलीः के भयो दिदी ?
कान्छी: अब फेरि म त छाउपडी बस्ने दिन आयो । मलाई रातभरि डर लाग्छ ।
कान्छी: (आमालाई रुँदै भन्छे) आमा आजदेखि त म त्यहाँ बस्दिनँ है ।
आमाः नबसेर हुन्छ, हामी पनि बसेको हो । पाप लाग्छ । कुल रिसाउँछन् ।
(कान्छी चुपचाप रोइरहन्छे । आमाले थोत्रो सिरक र एउटा गुन्द्री दिन्छिन् । अत्यन्त जाडो मौसम थियोे कान्छीलाई निद्रा लागेको थिएन । बारीमा उभिएका रुख पनि उसलाई तर्साएको जस्तो लाग्थ्यो । रातभरी डरैडरमा रोएर बिताइन् । बिहानी पख कति बेला आँखा लागेछ थाहै भएन)
आमाः ए कान्छी आज किन नउठेकी यति बेलासम्म कान्छी ए कान्छी ।
कान्छी: आमा म त उठ्नै नसक्ने गरेर ज्वरो आको छ। आज त म केही खान्न र जान्न आमा ।
आमाः तँलाई उम्केपछि स्वास्थ चौकीमा लैजाउँला ।
(यसै गरेर ३।४ दिन बित्छ)
(चौथो दिनमा)
आमाः कान्छी! कान्छी! ए कान्छी!
(कान्छी नबोले पछि आमा छाउगोठतिर लाग्छिन्, कान्छी केही बोल्दिन, के भयो यतिबेलासम्म किन नउठेको आज चोखिने दिन हो तर कान्छी केही बोल्दिन । नजिकै गएर आमा सिरक तान्छिन् तर पनि केही बोल्दिन)
आमाः कस्ती केटी रहिछ बोल्दै नबोल्ने ।
(आमा झसङ्ग हुन्छिन् कान्छीलाई छाम्छिन् उनको शरीर हिउँजस्तो चिसो भएको हुन्छ । कुनै हलचल हुँदैन । आमाको मनमा चिसो पस्छ। कान्छी उठ भन्दै हल्लाउँछिन् । तर कान्छी कुनै प्रतिक्रिया गर्दिन ।)
आमाः ए कान्छीका बा, यता आउनुस् त कान्छी बोल्दिन त ।
(बा दाैड्दै आउँछन् । कान्छी मरिसकेकी हुन्छे, आमा बा दुवै डाँको छोडेर रुन्छन् ।)
(सुन्तली पनि दौड्दै आमा बा रोएको सुनेर आउँछे ।)
सुन्तली: दिदीलाई के भो ?
बाः अब तिम्रो दिदी हामीसँग छैन ।
(वास्तवमा कान्छीलाई छाउपडी बस्दा चिसोले निमोनियाले भएको हुन्छ ।)
अन्त्यमा-
हामी सबै शहरमा बस्ने भएकोले यो नाटक वास्तविक लाग्दैन तर आजसम्म पनि नेपालको कैयौँ दुर्गम क्षेत्रमा हरेक दिन सुन्तली र कान्छी जस्ता बालिकाहरु यो कुप्रथाबाट गुज्रिरहेका छन् र कतिपयले यो नाटकमा जस्तै ज्यान गुमाउने र यौन शोषण जस्ता जघन्य अपराध खेप्न बाध्य छन् ।
पुनम कार्की
शिक्षिका
