कृष्टल र जेनी (बालकथा)

Posted on : 17 January 2020
Views : 1549

कृष्टल र जेनी दुबै एल के जीमा पढ्ने विद्यार्थी हुन् । उनीहरुको घर पनि एकदम नजिकै छ । त्यसैले बोर्डिङ जाँदा र फर्कंदा मात्र होइन घरमा पनि धेरै जसो उनीहरु सँगै हुन्छन् । कहिले जेनी कृष्टलको जान्छे त कहिले कृष्टल जेनीको जान्छ । जो जसकोमा गए पनि फर्किँदा उनीहरु झगडा गरेरै फर्किएका हुन्छन् । सँगै नभई पनि हुन्न, भए पनि खाली झगडा गर्ने हुँदा टोलतिर सबैले जेनी र कृष्टललाई कुकुर र बिराला जस्ता भन्थे । पढाइमा कृष्टल भन्दा जेनी अलि सिपालु थिई । त्यसैले कृष्टल होमवर्क गर्न जेनीकोमा नै जान्थ्यो । जेनी चाहिँ आफु कृष्टल भन्दा जान्ने छु भनेर घमण्ड गर्थी । र कृष्टलले केही पनि जान्दैन भन्ने झैँ गरेर कृष्टललाई हेपेर बोल्थी। जुन कुरा कृष्टललाई मन पर्दैनथ्यो । अनि झगडा शुरु हुन्थ्यो । कहिले कुनको कपि किताब च्यातिन्थ्यो त कहिले कुनको कलम भाँचिन्थ्यो । कहिले कुनले कलमले कहाँ कोपिदिन्थ्यो । कहिले कुनले कसको कहाँ टोकिदिन्थ्यो । न त अलग अलग राखेर मान्छन् न त झगडा नगर भनेर मान्छन् । विद्यालयबाट फर्कदा नयाँ नयाँ गाली गर्ने अपशब्दहरु पनि सिकेर आउँदा रहेछन् अनि झगडा गर्दा तिनै नराम्रा शब्द बोलेर झगडा गर्ने गर्दथे । यस्तो बोल्नु हुन्न नबोल भन्दा फिटिक्कै नमान्ने जे नभन भन्यो उनीहरु त्यही दोहोर्याई दोहोर्याई भन्ने गर्थे । उनीहरुसँग दुबै घरका परिवार आजित थिए । छोराछोरीले नराम्रो कुरा सिके राम्रो संस्कार दिन सकिएन भनेर उनीहरु चिन्तित थिए । एकदिन कृष्टल र जेनीले त्यो टोललाई नै चकित पारिदिए । पढ्दा पढ्दै उनीहरु झगडा गर्न थाले झगडाले उग्र रुप लियो । उनीहरु दुबैजना टोल नै थर्कने गरी चर्काे चर्काे चिच्याएर झगडा गरिरहेका थिए । सँधै उनीहरुको झगडाले दुखी हुने टोलबासी आज उनीहरुको झगडामा पनि रमाइलो मानेर हाँस्दै थिए । कारण यस्तो थियो सँधै सुन्नै नसक्ने फोहोरी शब्द बोल्दै पिटेर कोपरेर टोकाटोक गरेर झगडा गर्थे अनि रुन्थे । तर कृष्टल र जेनी आज झगडामा पनि एकले अर्कालाई कृष्टलजी, जेनी जी हजुरले यसो भन्नुभयो..... यस्तो होइन के कृष्टलजी, यस्तो हो के जेनी जी..... यस्तो भन्दै आदरपूर्वक बोल्दै थिए । पहिला घर परिवार र टोलका कसैले त्यस्तो नबोल भन्दै सम्झाउँदा पनि नमान्ने बच्चाहरु आज अचानक आफै यस्तो बोलेको सुन्दा उनीहरुमा यो परिवर्तन कसरी आयो टोलकालाई जिज्ञासा हुनु स्वभाविक थियो । जेनी र कृष्टलमा यस्तो खालको परिवर्तन ल्याउने कारण यस्तो थियो । घरमा झगडा गर्ने बच्चाहरु विद्यालयमा पनि झगडा गर्थे । कुनै बच्चाले जानेका एक दुई नराम्रा शब्दहरु झगडाका क्रममा उनीहरुले बोल्दा ती शब्द अरु बच्चाहरुले पनि सिक्थे । यस्तो नबोल भन्दै सर म्यामहरुले गाली गर्दा हप्काउँदा उनीहरु नटेरेर झन् त्यस्तै बोलिदिँदा हामीले हाम्रो बोर्डिङका बच्चालाई राम्रो शिक्षा दिन सकेनौँ भनेर सर म्यामहरु पनि चिन्तित थिए । र उनीहरुले एउटा उपाय निकाले मित्रता दिवसको अवसरमा एउटा कार्यक्रम राख्दै त्यही कार्यक्रममा त्यही दिनबाट लागु हुने गरी यस्तो नियम बनाए ।
अब हरेक विद्यार्थीले आफ्नो साथीसँग विद्यालय मात्र होइन जहाँ भेट हुँदा र बोल्दा पनि नामको पछाडि जी लगाएर हजुर भन्दै उच्च आदरपूर्वक बोल्नुपर्ने, कसैले कसैलाई पनि हात छोड्न, पिट्न, कोपर्न, टोक्न नपाइने, नजिक घर हुने साथीहरु विद्यालय आउँदा घर जाँदा मिलेर जानुपर्ने । होमवर्क मिलेर गर्नुपर्ने । आफुले जानेको कुरा साथीलाई सिकाइदिनुपर्ने । कसैैले कसैलाई अनादर गरेर बोलेमा हात छोडेमा आफुले जानेको कुरा साथीले सोध्दा नसिकाइदिएमा पिडितले विद्यालय आएर भन्नुपर्ने । नियम नमान्नेलाई सजाय र पीडितलाई पुरस्कार विद्यालयबाट प्रदान गरिने । विद्यालयबाट दिइने सजाय र पुरस्कार मासिक परीक्षामा १० प्रतिशत नम्बर अनुशासनबाट निर्धारण गरिनेमा यी नियम उलङ्घन गर्नेको नम्बर काटेर पीडितलाई थपिदिने । बोर्डिङमा यस्तो नियम लागु भएपछि कृष्टल र जेनी घरमा बोल्दा पनि बोर्डिङको नियम सम्झेर बोल्न थाले। किनकि उनीहरुलाई नियममा चल्न सिकाइएको थियो । बच्चाहरुले शुरुमा आफैँ जानेका हुँदैनन् । ठूलाले जे सिकायो त्यही सिक्ने हुन् ।


सबिता पराजुली

शिक्षिका