सामाजिक सञ्जाल भन्ने बित्तिकै फेसबुक, भाइबर, इन्स्टाग्राम र युट्युब आदि भन्ने बुझिन्छ। यसबाट हामीले फाइदा र बेफाइदा दुबै लिइरहेका छौँ । खासगरी सामाजिक सञ्जालले हाम्रो कलिला बालबच्चाहरुलाई ठूलो असर पुर्याईरहेको छ ।
हामी ससाना बच्चाहरुले विदेशी भाषा जस्तै हिन्दी, कोरियन, चाइनिज इत्यादि फाटफुट बोलेका सुन्यौँ भने खुशी भैरहेका हुन्छौँ । हामी यसलाई नै ठूलो उपलब्धी मान्छौँ तर यसले हामीलाई आफ्नो मातृभाषा कसरी बोल्ने एवम् संस्कारका कुराबाट कतिसम्म टाढा भैरहेका छौँ भन्ने कुराको महसुस समेत गर्न सकिरहेका हुँदैनौ । वास्तवमा यो राम्रो पक्ष होइन हामी हाम्रा स-साना बच्चाहरुलाई उनीहरुको मनोरञ्जन एवं खुशीको लागि मोबाइल दिइरहेको हुन्छौ । उनीहरुले धेरै जसो समय मोबाइलमा नै बिताउँछन् तर यसले पार्ने असर प्रति जिम्मेवार व्यक्ति को ? स्कुल या त अभिभावक ? मोबाइलमा जे देखिन्छ, जे सुनिन्छ त्यसको दुरुस्त नक्कल गर्ने गर्छन् । जसले गर्दा ती स-साना बालबालिकाहरुको दिमागमा ठूलो असर परिरहेको हुन्छ । उनीहरुले मोबाइलमा जे देख्यो त्यही राम्रो हो, जे सुन्यो त्यही ठिक हो भन्ने मानसिकता बनाउँछन् । त्यसैले गर्दा हामी अर्थात अभिभावकहरुले घरमा राम्रो वातावरणको सृजना गरिदिनुपर्छ । धेरैजसो समय अभिभावकको साथमा हुने हुनाले यसको बारेमा गहन भूमिका निर्वाह गर्नुपर्दछ ।
म आफै एक शिक्षिका भएको हुनाले कताकता अभिभावकहरुले आफ्नो बालबच्चाहरुप्रति आफ्नो उत्तरदायित्व पुरा नगर्नुभएको हो की भन्ने यदाकदा मनमा लाग्छ । म्याम, मेरो बाबु पढ्न मान्दैन, मोबाइल भन्दा भुतुक्कै हुन्छ, पिर्छ, रुन्छ लौन फकाउनु पर्यो हजुरहरुले भनिदिन, सम्झाइदिन पर्यो । हजुरहरुले भन्नु भएको सब मान्छ इत्यादि । मलाई अचम्म लाग्छ आखिर यी सब समस्या के ले र किन हुँदैछ । सामाजिक सञ्जालको दुरुपयोग र प्रयोग गर्ने लतको कारण धेरैजसो समय अभिभावकसँग बालबच्चा हुने कारण हजुरहरुप्रति मेरो आग्रह छ आफै मोबाइल, टि.वी. हेर्नु कम गरौँ । त्यस समयमा उनीहरुसँग भलाकुसारी गर्नुस्, खेल खेल्नुस्, गीत गाउनुस्, नाच्नुस्, हाँस्नुस्, बच्चा यसै खुशी हुन्छन् । आफ्नो शरीर अनि बालबच्चाको स्वस्थलाई पनि राम्रो फाइदा हुने । बिस्तारै फकाउनुस् गृहकार्य कति मज्जाले गर्न सक्छन् । उनीहरुलाई दिक्क पनि नहुने ज्ञान पनि बढ्ने । बालबालिकाको पहिलो पाठशाला भनेको घर हो, अभिभावक पहिलो शिक्षक हो । जहाँ बच्चाहरुले राम्ररी बोल्न सिकिरहेका हुन्छन् । हजुरहरुले राम्रो संस्कारको वातावरण सृजना घरमा गराउनु होला विद्यालयमा हुने हरेक गतिविधिहरुको जिम्मेवारीपूर्ण वहन गर्ने दायित्व हामी पनि लिन्छौँ । बरु हामी र तपाई अभिभावक सबै मिलेर उनीहरुको बारेमा एकछिन सोचौँ न यो हाम्रो नेपाल देश पनि यसै शिक्षित बन्छ ।
विद्यालयमा छोरा छोरीले कसरी पढिरहेका छन्, के कस्ता क्रियाकलाप गर्छन्, कस्तो व्यवहार गर्छन् यी सबैको बारेमा बुझ्नु यहाँहरुको कर्तव्य हो । यो दायित्वलाई पूर्ण निर्वाह गर्न हामी स्कुल परिवार निरन्तर प्रयत्नरत छौँ । परीक्षा आउँदा आफ्नो साथीको बच्चासँग तुलना गरी दवाव दिने कोसिस नगरौँ, ठिक समयमा खाने, सुत्ने, खेल्न एवं घुम्ने समय तालिका निर्माण गरी असल बानीको विकास गरौंँ । जसले गर्दा आफ्नो साथीको बच्चा जस्तै राम्रो नतिजा ल्याउन सहयोग मिल्नेछ। विद्यालयबाट बच्चा घर फर्किसकेपछि थकानको महसुस गर्छन् त्यस्ता कुराको मनन गरी एकछिन आराम गर्न बानी बसालौँ । टि.भी. र मोबाइलमा हेरी सुनी नक्कलमा ल्याएका विदेशी भाषा एवं कुराकानीलाई उपलब्धीको रुपमा नलिऔँ । यसबाट हामीले गर्व गर्नु भन्दा हामीले छोराछोरीबाट के कुरा गुमाउदैछाैँ भन्ने कुराको एकछिन बिचार गरौँ ।
मोबाइलमा चुम्बकीय शक्ति हुने हुनाले यसले बालबच्चाको दिमागी शक्तिमा प्रत्यक्ष असर पर्ने हुनाले हामीले समयको महत्वलाई बुझि ज्ञानगुनका कुराहरु सिक्ने र सिकाउने प्रयास गरौँ । राम्रो संस्कारयुक्त वातावरण घरबाट र विद्यालयमा पनि बनाउनेछौँ भन्ने पूर्ण विश्वासका साथ अगाडि बढौँ । अभिभावक र विद्यालय यी दुवै एक रथका दुई पाङ्ग्रा जस्तै देखिने ठूलो जनशक्ति मिलेर यी कलिला बालबालिकाहरुको भविष्य सुनौलो बनाउने कुरामा प्रयत्न गरौँ । सामाजिक सञ्जालको प्रयोगले बालबालिकाको दिमागी शक्तिमा ह्रास हुन नदिने कुरामा हामी अग्रसर बनौँ । हाम्रो बालबालिकाहरुलाई युट्युबमा व्यस्त राखी हामी पनि फुर्सदिलो एवं समयै बिताउने माध्यमको रुपमा सामाजिक सञ्जालको प्रयोग नगरौँ । हामीले फेर्ने प्रत्येक श्वासको जति महत्व मानव शरीरलाई हुन्छ ठिक त्यस्तै गरी एक मिनेट समयको पनि सदुपयोग गरी जीवन उपयोगी कार्य गर्न समयको महत्वलाई पनि ध्यानमा राखौँ । सामाजिक सञ्जालको दुरुपयोगबाट आफु पनि टाढा रहाैँ र हाम्रा बालबच्चालाई पनि टाढा राखौं ।
कल्पना सिंखडा (बानियाँ)
शिक्षिका
