काेराेना

Posted on : 30 March 2020
Views : 985

संसार चहार्दै आएछौ कोरोना आफ्नै बाटो जाउ
विश्व भ्रमणमा हिँडेका तिमी विश्व नियाल्दै जाउ
बाँच्ने मन छ मलाई कोरोना मेरो हात नसमाउ
मानवविना सुनसान हुन्छ धर्ती अब धेरै नसताउ
कोरोना तिमी निर्दयी छौ आफ्नै बाटो जाउ
विश्व यात्रामा हिँडेका तिमी आफ्नै यात्रामा रमाउ

बच्चादेखि वृद्धासम्म कहालिन्छन् झनै
तिम्रो नाम सुन्दा तर्सेर घरभित्रै लुक्छन् सबै
धेरै भयो आफन्त भेट्न पाएको छैन मैले
कस्तो त्रास लिएर आयौ ढुक्क हुने कहिले
कोरोना तिमी निष्ठुरी बनी धेरैको ज्यान लियौ
बाँच्नेहरुलाई पनि जीवनभर पीडा तिमीले दियौ

धनीगरिब भनेनौ तिमीले मान्छे भन्दा त फरक नै भयौ
समान व्यवहार त देखायौ तिमीले तर दया कति देखाएनौ
आफ्ना कठोर नियतिलाई छर्लङ्ग तिमीले पार्याै
रुन हुन्न भन्नेलाई पनि चिच्याएर रुने गरायौ
कोरोना तिमी अपराधी हौ आफ्नो बाटो जाउ
गर्नु विध्वंस गरायौ तिमीले अब धेरै नगराउ

मान्छे मात्र नभएको भए कस्लाई मार्थ्यौ खोइ ?
विचल्लीमा पार्यौ तिमीले रुँदै हिड्छन् कोही
दुनियाँलाई घात गरी घरै रित्तो पार्यौ
एकपछि अर्कोतर्फ सर्दैसर्दै गयौ
कोरोना तिमी घाती छौ आफ्नै बाटो जाउ
मान्छेहरुको संगत छाडी आफ्नै यात्रामा रमाउ

संसारभरी फैलिएर किन दुख दिन्छौं
मानव बस्तीमा सल्किएर केको बदला लिन्छौ
आकाशधर्ती सुनसान छ कस्तो पीडा छ अहिले
एकपटक पाउने चोला हो यो फर्कदैन कहिले
कोरोना तिमीलाई विन्ती छ आफ्नै बाटो जाउ
बाँच्न देउ मानवलाई अब धेरै नसताउ

कति विद्वान ढले यहाँ, कति डाक्टर ढले
सर्वसाधारणको हिसाबै छैन कति आपतमा परे
कोही ढले सडकमा कोही अस्पतालमा
कस्तो भाइस रहेछाै तिमी मार्छाै अकालमा
कोरोना तिमीले मानवजातीलाई आतंकितै पार्यौ
तिमीलाई चिन्ने महान व्यक्ति पनि तिमीले नै मार्यौ

मर्नु त एकदिन छँदैछ हामीले गर्नु पनि त धेरै बाँकी छ
जीवन रहे पो संसार बन्छ यहाँ गर्नेहरुको इतिहास साक्षी छ
रोदन, चीत्कार, पीँडाहरु त छदै छ नि जीवनमा
विश्वास, आँट र साहस बोकी हिड्नुपर्छ मनमा
कोरोना तिमी जुन बाटो आयौ त्यही बाटो जाउ
बाँच्न देउ मानवलाई भो अब धेरै नसताउ
भो अब धेरै नसताउ !


 

निलिमा पुन

सङ्गीत शिक्षक