यौन दुर्व्यवहार हाम्रो जस्तो अविकसित मुलुकमा दिनप्रतिदिन बढ्दै गइरहेको छ। हाम्रो देश पुरुषप्रधान देश हो र यहाँ हरेक कुरा पुरुषहरुकै मनोमानीमा चलिरहेको छ। यसैकारणले पनि होला यौन दुर्व्यवहार दिनप्रतिदिन बढिरहेको छ। यौन दुर्व्यवहार अन्त्य गर्नको लागि सरकारले विभिन्न कदम चाले पनि अझै त्यसको पूर्णरुपमा कार्यन्वयन हुन सकेको छैन। हाम्रो समाजमा व्यक्ति प्राकृतिक वा अप्राकृतिक तरिकाबाट यौन क्रियाकलापमा संलग्न हुन्छन्। खास गरी हाम्रो समाजमा पति पत्नी बीचमा हुने सामान्य अवस्थाको यौन सम्पर्क बाहेक अन्य सबै यौनका क्रियाकलाप यौन अपराध, यौन दुराचार, यौन विकृतिका रुपमा लिइएको पाइन्छ।
यौन दुर्व्यवहार कुनै व्यक्तिको इच्छा, चाहना, स्वीकृति बिना शव्द अथवा शारीरिक व्यवहारद्वारा अर्को कुनै परिचित वा अपरिचित जो कोही व्यक्तिद्वारा त्यस व्यक्तिको यौनिकता विरुद्धको कुनै कार्य गरिन्छ भने त्यो व्यक्ति दुखी, त्रसित, लज्जित तथा घाइते हुन्छ भने त्यस्ता सबै व्यवहार यौन दुर्व्यवहार वा यौन दुरुपयोगभित्र पर्दछ। यौन दुर्व्यवहार भन्नाले यौन सम्भोग मात्र हुन्छ भन्ने छैन। यसभित्र यौन आनन्द वा यौन लाभ लिने मनसायले बिना सहमति जबर्जस्ती अर्को व्यक्तिको शारीरिक संवेदनशील अङ्गमा छुने, सुम्सुमाउने, अश्लील शव्द उचारण गर्ने, अनावश्यक रुपमा हेर्ने, संकेत गरेर जिस्काउने, जीउ टाँस्ने, धक्का दिने, बाटो छेकेर दुख दिने, काँधमा हात राख्ने, पछि लाग्ने, व्यक्ति इच्छा विपरित घरसम्म पुर्याउने, भेट्न बोलाउने, बलफ कल गर्ने, जबर्जस्ती बालविवाह गरिदिने, यौनिक रुपमा होच्याउने, असुरक्षित यौन सम्पर्कको लागि दवाव दिने आदि यौन दुर्व्यवहारभित्र पर्दछन्।
बिशेष गरेर पुरुषप्रधान समाजमा केटाहरुद्वारा युवती वा महिलाहरुलाई यौन दुर्व्यवहार गरेको पाइन्छ। उल्लेखनीय रुपमा देख्न वा सुन्न पाइन्छ तापनि यत्रतत्र महिलाद्वारा पुरुषलाई पनि यौन परिशानी गरेको पाइन्छ। यौन हैरानी पुरुषले पुरुषलाई र महिलाले महिलालाई पनि गरेको पाइन्छ। यस्तो यौन दुराचारलाई अन्त्य गर्नको लागि सरकारले यौन दुराचार सम्बन्धी नीति नियम तयार पारी यस सम्बन्धी जनचेतनामूलक कार्यक्रम ल्याउने र यस्ता कार्यक्रमलाई मिडियाबाट प्रशारण गर्न सके केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ। यौन दुराचार ग्रामीण र सहरी दुवै क्षेत्रमा हुने गरेको पाइन्छ। यस सम्बन्धीका कार्यक्रम दुर्गम वा सहरी दुवै क्षेत्रमा लागु गर्ने र यस सम्बन्धी ज्ञान प्रदान गर सके केही मात्रामा यौन दुर्व्यवहारलाई रोक्न सकिन्छ। यौन दुर्व्यवहार अन्त्य गर्नका लागि स्थानीयस्तरमै पनि विभिन्न प्रक्रियाहरु अगाडि बढाउन सकिन्छ। जस्तै सडक नाटक र टेलिचलचित्रहरू प्रदर्शन गर्ने र यौन दुर्व्यवहार विरुद्धका बोर्डहरु ठाउँठाउँमा राखेमा यौन दुर्व्यवहार न्यूनीकरण गर्नका लागि केही राहत पुग्दछ। यौन दुर्व्यवहार विभिन्न कारणलेहरुले हुने गर्दछन्। जस्तै नैतिक शिक्षाको अभाव, कम्जोर कानुन, अनावश्यक हेलमेल, दुर्व्यसनी वा बेरोजगार, अश्लील पत्रपत्रिका वा अश्लील सञ्चार माध्यम, अश्लील फेशन वा पश्चिमी संस्कृतिको प्रभाव, खुल्ला यौन व्यापार, मानसिक रोगले ग्रसित भएका कारणले पनि यस्ता विभिन्न घटनाहरु घटेको पाइन्छ। यौन दुर्व्यवहारको घटना विशेष गरेर विभिन्न कार्यक्षेत्रमा हुने गर्दछ। जस्तै: डाक्टर र नर्सको बीचमा, शिक्षक र छात्राको बीचमा, पुजारी र भक्तजनको बीचमा वा माथिल्लो ओहोदाका हाकिमले तल्लो तहका महिला कर्मचारीलाई अतिरिक्त समयसम्म कार्यालयमा बस्न दवाव दिने आदि यौन दुर्व्यवहारका उदाहरण हुन्। यौन दुर्व्यवहार फस्टाउनुको प्रमुख कारण स्वयम् हामी र हाम्रो समाज हुन सक्छ। हामीले व्यक्तिको भावना र चाहना नबुझी गाली गर्ने, पिट्ने र यातना दिने गर्दछौं। जसले आफ्नो अनावश्यक चाहना, भावनाका साथै उसमाथि अरुले गरेका क्रियाकलाप आदि व्यक्त गर्न नसक्दा मानसिक चेतना गुमाउनु, आत्महत्या गर्नु जस्ता घटना घट्ने गर्दछन्। अभिभावकले आफ्नो सन्तानलाई खान र लाउन दिएर तिनीहरुको आवश्यकता पूरा भएको र आफ्नो दायित्व पूरा भएको महशुस हुन सक्छ। आफ्ना परिवारको सदस्य कहाँ जान्छ? के काम गर्छ? कामको शिलशिलामा कस्तो व्यक्तिसँग संगत गर्छ, कुन समयमा घर फर्कन्छ यी सबै कुराको विचार गर्नु पनि अविभावकको दायित्व हो। त्यत्तिकै भूमिका शिक्षकशिक्षिकाहरुको पनि रहन्छ। शिक्षकशिक्षिकाहरुले पनि विद्यार्थीहरुलाई किताबी ज्ञान दिएर मात्र पुग्दैन। उनीहरुलाई यौन दुर्व्यवहार सम्बन्धित नैतिक ज्ञान प्रदान गर्नु पर्दछ। त्यसैगरी पाठ्यक्रमविद र शिक्षाविदहरुले पनि पाठ्यक्रम निर्माण परिमार्जन गर्ने क्रममा यौन शिक्षालाई पनि समावेश गर्न भुल्नु हुँदैन। साथै समाजमा रहेका बुद्धिजीवी कहलिनेहरुले पनि समाजमा रहेका युवायुवतीहरुलाई परामर्श दिनुका साथै उनीहरुमाथि रेखदेख गर्न सकेपछि स्वच्छ समाजको निर्माण गर्न सकिन्छ। यस्तो गर्न सकेमा यौन दुर्व्यवहारको सिकार बन्नबाट सबै युवायुवतीहरुलाई सुरक्षित राख्न सकिन्छ। साथै हाम्रो समाज, हाम्रो राष्ट्र, र सम्पूर्ण विश्व नै सुनौलो, सुरक्षित र स्वच्छ बन्न सक्छ। यदि हामीले यस पक्षमा ध्यान दिन सकेनौ भने के भोलिका हाम्रा पिंढीहरु सुरक्षित रहन सक्लान? हाम्रा सन्ततीहरु नै गलत बाटोमा हिंडेपछि देशको गति के होला? सोचनीय विषय छ।
रमा शर्मा
शिक्षिका
