विश्वमा स्काउटको सुरुवात र विकास

Posted on : 08 April 2020
Views : 13978

विश्वमा स्काउटको शुरुवात सन् १९०७ मा बेलायतबाट भएको हो । यसका संस्थापक (प्रवर्तक) रोबर्ट स्टेफेन्सन स्मिथ बेडेन पावेल हुन् । उनलाई वेडेन पावेल पनि भनिन्छ। वेडेन पावेलले विद्यालयको अध्ययन पूरा गरेपछि बेलायतको सैनिक सेवामा प्रवेश गरे । सैनिक सेवामा रहँदा उनलाई विद्रोही शक्तिहरुसँग विभिन्न किसिमका कठिनाइहरुको सामना गर्नु परेको थियो । त्यसमध्ये सन् १८९९ मा बेलायती सेना र पश्चिम अफ्रिकाको माफेकिङ प्रदेशमा रहेका स्थानीय बोअर जातिहरुबिच उक्त क्षेत्रमा युद्ध अति महत्वपूर्ण थियो । दक्षिण अफ्रिका गएर नयाँ भर्ना गरिएका सैनिकहरु समेत गरी उनीसँग जम्मा २४०० जवान सैनिकहरु थिए, जब कि विपक्ष बोअर जातिहरुसँग १०,००० भन्दा बढी सैनिकहरु थिए । यस्तो अवस्थामा युद्धको लागि सेना तयार पार्ने जिम्मा वेडेन पावेललाई दिइएको थियो । गुप्तचरको काम, प्राथमिक उपचारको काम, क्याम्पको सुरक्षा गर्ने काम, खबर आदान प्रदान गर्ने काममा समेत कतिपय सैनिक जवानहरु खटिएका थिए जुन समयमा एक एक सैनिकको ठूलो महत्व रहेको हुन्थ्यो।
माफेकिङ प्रदेशलाई बचाइराख्ने क्रममा आइपरेका विभिन्न समस्याहरुको समाधान गर्न वेडेन पावेलका चिफ स्टाफ अफिसर एडवर्ड सिसिलले माफेकिङका ९ वर्ष भन्दा माथिका केही केटाहरुलाई जम्मा गरी बालसेना तयार पारे । तिनीहरुलाई खाकीको ड्रेस र ह्याट (Hat) लगाउन दिइयो । यसरी तयार पारिएका ती केटाहरुलाई साधारण जिम्मेवारीका कामहरु जस्तैः खबर आदन प्रदान गर्ने, क्याम्प सुरक्षा गर्ने, साधारण प्राथमिक उपचार र विभिन्न सङ्केत सम्बन्धी कामहरुको जिम्मा दिइएको थियो जुन काम उनीहरुले दिलोज्यान दिएर फुर्तिकासाथ पूरा गर्न थाले । यस सिलसिलामा वेडेन पावेलले एक दिन एक जना बालकसँग सोधे, “साइकल चलाउँदा कुनै दिन तिमीलाई गोली लागि हाल्यो भने के गर्छौ ?” जवाफमा उक्त बालकले भन्यो, “श्रीमान् म यति छिटो साइकल चलाउँछु कि गोलीले मलाई भेट्नै सक्दैन।” यति सानो केटाको यति ठूलो साहास देखेर वेडेन पावेल चकित भएका थिए । यस्तो ठूलो साहसका साथ गोलीको कुनै पर्वाह नगरी काम गर्ने बाल सेना थिए “गुड इयर” यिनै बालक नै विश्वको पहिलो ब्वाइ स्काउट थिए ।
बालसेनाको मद्धतले वेडेन पावेलले माफेकिङ प्रदेशलाई सात महिनासम्म बचाएर राखे र ब्रिटिश फौज मद्धतको लागि आएपछि माफेकिङ प्रदेशलाई बोअर जातिबाट मुक्त गराए । यसरी वेडेन पावेलले माफेकिङ स्थित बोअर जाति विरुद्धको लडाईमा बालसेना तयार पारी तिनको सहायताबाट विजय हासिल गर्न सफल भए यसबेलादेखि उनलाई साना बालकहरुलाई विशेष तालिम दिन सकेमा तिनीहरुले पनि देशको राम्ररी सेवा गर्न सक्छन् भन्ने भावना जागृत भएको थियो । यस युद्धबाट प्राप्त सफलताको फलस्वरुप उनले सैनिकहरुका लागि Aids to Scouting पुस्तक समेत प्रकाशित गरेका थिए । यो पुस्तक विद्यार्थीहरुलाई पाठ्यक्रमको रुपमा बेलायतका स्कुलहरुमा समावेश गरिएको थियो । यसबाट वेडेन पावेललाई स्काउट सञ्चालन गर्ने प्रेरणा मिलेको थियो । यसर्थ माफेकिङ युद्धमा सहभागी बालकहरुलाई दिइएको जिम्मेवारी साहसिक ढङ्गबाट पूरा गर्न सफल भएको घटनाबाट प्राप्त प्रेरणा स्वरुप सन् १९०७ मा बेलायतको ब्राउन सि टापुमा धनी गरिब तथा विभिन्न जाति र धर्मका २० जना केटाहरुलाई लिएर पहिलोपटक जुलाई २९ का दिन प्रयोगात्मक तालिम क्याम्प कुडुसिङ बाजा बजाई उद्घाटन गरे । जुलाई २९ देखि सुरु भएको उक्त क्याम्प अगष्ट ८ का दिन समापन भएको थियो । यसपछि विश्वभर स्काउट कार्यक्रमहरु तिब्र गतिमा सुचारु हुँदै गयो । सन् १९०८ को जनवरी १५ मा वेडेन पावेलले 'स्काउटिङ फर ब्वाइज' नामक पुस्तक प्रकाशित गरे जसले स्काउट कार्यक्रमहरु सहजरुपमा विश्वमा सञ्चालन गर्न मद्धत पुर्यायो जुन आजसम्म पनि उत्तिकै प्रभावकारी रहेको छ ।
स्काउटिङ फर ब्वाइज पुस्तकको आधारमा केही केटाहरुले आपसमा मिति स्काउटका टोलीहरु बनाएर त्यसलाई नेतृत्व गर्ने नेताको रुपमा टोली नायक छाने, टोलीमा काम गर्दै जाँदा आइपरेका समस्याको समाधान गर्न तथा अन्य सहयोग सुझावको लागि आफुभन्दा बढी ज्ञान भएका व्यक्तिको सहयोग समेत लिए । त्यही मद्धत दिने ब्यक्तिलाई स्काउट मास्टर भनियो । यसरी स्काउटिङको सुरुवातमा पहिला स्काउट पछि टोली नायक हुँदै स्काउट मास्टरको व्यवस्था भएको पाइन्छ । यही नै स्काउटको आधारशिला हो । स्काउटिङ कार्यक्रम वेडेन पावेलले बालबालिकाहरुका लागि तयार पारेका हुन् । यस कार्यक्रमले विस्तारित रुप लिँदै गएपछि वेडेन पावेलले विभिन्न उमेरका केटाकेटीहरु तथा विभिन्न क्षेत्रमा संलग्न ब्यक्तिहरुका लागि समेत उपयोगी हुने गरी गल्र्स गाइड तथा स्काउट, कब/ब्राउनी स्काउट, रोभर रेञ्जर स्काउट सी स्काउट, एयर स्काउट पनि सुरु गरे । यसरी बेलायतबाट सुरु भएको स्काउट कार्यक्रम चिली, अमेरिका, घाना, भारत हुँदै विभिन्न देशहरुमा फैलिंदै गई हाल विश्वभर नै स्काउटिङ कार्यक्रम एक शैक्षिक कार्यक्रमको रुपमा संचालन भईरहेको छ ।


 

दामोदर बस्नेत

स्काउट शिक्षक