मेरो विद्यालय

Posted on : 10 April 2020
Views : 558

विद्यालय एउटा आर्मी क्याम्प
परेड खेल्दै सिपाहीहरु
कठोर अनुशासनमा
देशको रक्षार्थ
आ आफ्ना हतियार धार लाउँदै
शत्रुमाथि धावा बोल्न तम्तयार,
गोला बारुदले सुसज्जित
राष्ट्र सेवक हुन् विद्यार्थी ।

विद्यालय एउटा हस्पिटल
टाउको दुख्ने र पेट दुख्ने
विमारीहरुको घुइँचो “सिकरुम”
विमारी दोहोर्याउँदै,
भविष्यका डाक्टर नर्सहरु
उनीहरुको सेवा खातिर
स्ट्रेचर र ह्वील चियर लिएर
अभ्यासमा तल्लीन छन् विद्यार्थी ।

विद्यालय एउटा अदालत
मुक्का हानेका र घचेटिदिएका
दर्जनौ मुद्धाहरु पेशी हुदैछन्
सत्य तथ्यको खोजीमा वकिलहरु
न्यायमूर्तिको साथ दिँदैछन्
अपराधीलाई दण्ड दिन
ठूलो कसरत गर्दैछन् विद्यार्थी ।

विद्यालय एउटा प्रहरी चौकी,
अनुसन्धानमा तल्लीन अफिसरहरु
अदालतले आदेश दिएका
अपराधी समात्न,
जनताको जीउधन सुरक्षाका लागि
गुण्डा नाइकेहरुसँग भिड्दैछन्,
अहोरात्र ड्युटिमा खटिएका छन् ।

विद्यालय एउटा जासुसी संस्था,
कसैले राष्ट्रिय अस्मितामा आँच पुर्याउँछ कि भनी
राज्य द्रोहको अपराध गर्छ कि भनी
हेडक्वाटरमा खबर पुर्याउन
हेड बोइ, हेड गर्लको टीम
दिलो ज्यान दिएर लाग्दैैछन् ।

विद्यालय एउटा सरकार
राजनीति र राजनेता
भविष्य निर्माणका सपनाहरु
कागजी योजनामा उतार्दै
पहाडमा रेल कुदाउने र
हिमालमा केबुलकार पुर्याउने
भिजन प्रस्तुत गर्दैछन् विद्यार्थी ।

इन्जिनियरका
रकेटका डिजाइनहरु,
कार र बुलेट ट्रेनका डिजाइनहरु
नासाका वैज्ञानिकसँग
परामर्श गर्दै
प्रस्तुत गर्दैछन् विद्यार्थी ।

विद्यालय सरस्वतीको मन्दिर
ज्ञानका पुजारीहरु
विद्वता आर्जनका लागि
कठोर तपस्यामा लीन छन् ।

समग्रमा मेरो विद्यालय
एउटा मेसिन हो, एउटा फ्याक्ट्री हो,
जहाँ बादलमाथि स्वच्छन्द उड्ने साहित्कार बनाउँछ ।
मुटु साटेर सास भर्ने र
आँखा साटेर दृष्टि भर्ने डाक्टर बनाउँछ
सुरुङभित्र मोटर कुद्ने बाटो र
पहाड पहाड जोडेर केबुलकार कुदाउने
इन्जिनियर बनाउँछ,
आकासमा कावा खाँदै उड्ने हवाइजहाज
र अन्तरिक्ष सयर गर्ने रकेट बनाउँछ
मेरो विद्यालय एउटा फ्याक्ट्री हौ
यसले मान्छेलाई विवेकशील बनाउँछ ।


कुलचन्द्र वाग्ले

शिक्षक