शरीरमा नसाको महत्त्व भए झैं भाषाका लागि व्याकरणको महत्त्व हुन्छ । व्याकरणिक सुझ र व्यवहार तथा विशुद्ध प्रयोग अभ्यासहरूबाट व्याकरण सम्मत शुद्ध भाषाको प्रयोग गर्न सकिन्छ । त्यसैले भाषा शिक्षणमा व्याकरणलाई पनि एक महत्त्वपूर्ण भाषिक विषय वस्तुका रुपमा ग्रहण गरेर शिक्षण गर्ने गराउने प्रचलन रहेको छ ।
भाषा शिक्षणका उद्देश्यलाई भाषाका चार सिपः सुनाइ, बोलाइ, पढाइ र लेखाइका सन्दर्भमा हेर्ने गरिन्छ । त्यसका लागि व्याकरण शिक्षण आवश्यक मानिन्छ । व्याकरण सिकाउनुको अर्थ व्याकरणका नियम, सूत्र र उदाहरणहरू खरखर्ती भन्न र लेख्न सक्ने तुल्याउनु नभई भाषिक प्रयोगमा व्याकरणात्मक सचेतना अँगालेर शुद्धता, उपयुक्तता र सर्वस्वीकार्य प्रयुक्ति सम्प्रेषण गर्न सक्ने सामर्थ्य दिलाउनु हो । सारांशमा व्याकरण शिक्षण एक जटिल र नीरस कुरा भए पनि यसलाई सचेततापूर्वक विद्यार्थी स्तर र पूर्वानुभाव सम्वन्धित बनाई प्रयोग प्रसङ्ग र अभ्यासका माध्यमले शिक्षण गरिनु उपयुक्त हुन्छ ।
व्याकरण शिक्षणका विधिहरू मोटामोटी निम्न लिखित चार किसिमका देखिन्छन्ः
१. निगमन विधि
२. आगमन विधि
३. भाषा संसर्ग विधि वा प्रत्यक्ष विधि
४. भाषा पाठ्यपुस्तक विधि
माथि उल्लेखित विधि मध्ये 'भाषा पाठ्यपुस्तक विधि' एक प्रमुख विधि हो । यो विधि भाषा पाठ्यपुस्तकबाटै पाठगत वा विधागत प्रयोग प्रसङ्गका आधारमा व्याकरण शिक्षण गर्ने विधिलाई भाषा पाठ्यपुस्तक विधि भनिन्छ । यसलाई आगमन र प्रत्यक्ष भाषा विधिको सम्मिश्रित विधिका रुपमा पनि चिनिन्छ । भाषा पाठ्यपुस्तकका पाठैपिच्छे अन्य अभ्यासका साथमा व्याकरणात्मक धारणा र अभ्यास समेत गराउने गरी व्याकरण विषय वस्तु राखेर पाठगत प्रयोग एवम् उदाहरणका प्रसङ्गहरूबाट व्याकरण सिकाउने तरिका यस विधिमा प्रयोग हुन्छ । पाठभित्रैका प्रयोग प्रसङ्गका उदाहरणबाट प्रत्यक्षताको बोध हुने र तिनको आगमनात्मक ढङ्गले प्रयोग अभ्यास र नियमीकरण गर्न समेत मद्दत पुग्ने भएकाले वर्तमान परिपेक्षमा यस विधिलाई प्राथमिकता दिन खोजिएको पाइन्छ ।
यस विधिले 'व्याकरण भाषाभित्र छ र भाषा व्याकरणवद्ध छ' भन्ने दृष्टिकोण राख्छ । यस विधिको मुख्य मर्म विद्यार्थीहरूलाई प्रत्यक्ष ढङ्गको व्याकरण सिकाउनुभन्दा सम्बन्धित भाषा पाठ्यपुस्तकबाटै सिकाउँदा प्रासङ्गिकता, रोचकता र प्रभावकारिताको समेत सिर्जना हुन्छ भन्ने हो ।
भाषा पाठ्यपुस्तक विधिका केही समस्या पनि नभएका भने होइनन् । पाठ्यपुस्तकभित्र प्रस्तुत गरिने पाठ्यसामग्रीहरूको छनोट र स्तरणमा विशेष सतर्कता अपनाएर यस विधिको प्रसोगलाई सजिलो तुल्याउनु परम आवश्यक देखिन्छ । यस्तो हुन सकेमा धेरै हदसम्म व्याकरण शिक्षणका अपेक्षाहरूलाई यस विधिबाट पूरा गर्न सकिने ठान्न सकिन्छ । उदाहरणका लागि, भाषापाठ्यपुस्तकमा प्रयोगमा आएका केही वाक्यहरूः
"यस विषयमा म विश्वमा देखिएका प्राणीसम्बन्धी केही कुरा स्पष्टसँग भन्दै छु ।"
यस - विशेषण विषयमा - नाम म - सर्वनाम
विश्वमा - नाम देखिएका - विशेषण केही - विशेषण
कुरा - नाम स्पष्ट - नाम सँग - नामयोगी
भन्दै छु - क्रियापद यस विषमा - कर्ता विस्तारक म - कर्ता/ उद्देश्य
विश्वमा देखिएका प्राणीसम्बन्धी केही कुरा स्पष्ट - विधेय विस्ताक
भन्दै छु - विधेक (क्रियापद)
म - प्रथम पुरुष, एकवचन
भन्दै छु - प्रथम पुरुष, एकवचन, वर्तमान काल, अपूर्ण पक्ष, कर्तृवाच्य, सामान्यार्थ, सरलवाक्य, अप्रत्यक्ष कथन आदि
यसरी एक वाक्यलाई भाषा पाठ्यपुस्तकमा व्याकरणगत आधारमा हेर्न सकिन्छ । व्याकरण शिक्षण सहज र सरल तरिकाले भाषा पाठ्यपुस्तक विधिबाट नै शिक्षण गर्न सकिन्छ ।
(Angels' Voice Vol. 11)
अयोध्याप्रसाद प्याकुरेल
माध्यामिक नेपाली शिक्षक
