व्यवहार परिवर्तनमा सामाजिक अध्ययन

Posted on : 21 December 2023
Views : 1264

सामाजिक अध्ययन विषय बालबालिकाहरूलाई एक घोकन्ते शिक्षाको रूपमा मात्र नलिएर व्यवहारिक र जीवनोपयोगी पनि बनाउँदै लैजानुपर्छ । सामाजिक अध्ययन एक वृहत क्षेत्र समेटिएको विषय हो । आजको युगमा यस विषयको अध्ययन र अध्यापनको महत्त्व बढ्दै गइरहेको छ । त्यसैले राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रले कक्षा १२ सम्म सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षालाई अनिवार्य विषयको रुपमा राखेको छ ।

सामाजिक अध्ययन एक बहुआयामिक विषय हो किनभने यसले सामाजिक विज्ञानका क्षेत्रहरू भूगोल, अर्थतन्त्र, इतिहास, राजनीतिशास्‍त्र, सामाजिकशास्‍त्र तथा मानवशास्‍त्र जस्ता विधाबाट आफ्नो उद्देश्य अनुरूपका विषयहरूको छनोट गरेको हुन्छ । त्यसकारण सामाजिक अध्ययन विषय शिक्षण सिकाइ विधि तथा प्रविधिको छनोट पनि महत्त्वपूर्ण छ । यस विषय शिक्षणका लागि परम्परागत सिकाइ प्रणाली उपयुक्त मानिदैन । शिक्षकले एक सहजकर्ताको भूमिका निर्वाह गरी सामाजिक अध्ययनको उद्देश्य प्राप्त गर्न एउटा पाठ्यपुस्तक मात्रैले पुग्दैन, यसका साथै खोज तथा अनुसन्धान विधि, शैक्षिक भ्रमण प्रर्दशन, समस्या समाधान, अभिनय, खेल विधि, शब्दार्थ विधि साथै परियोजना कार्य विधिहरूको प्रयोग गरी शिक्षण क्रियाकलाप सञ्‍चालन गर्न सकेमा सामाजिक अध्ययन विषयलाई व्यवहारिक बनाउन सहज हुन्छ । साथै यसमा सूचना र प्रविधिको प्रयोगलाई पनि जोड दिनुपर्छ ।

विश्‍वमा एक सभ्य समाज र सुन्दर शान्त राष्ट्र निर्माणका लागि योग्य, दक्ष, आदर्शवान्, चरित्रवान, इमानदार, परिश्रमी नागरिक निर्माणका लागि आवश्‍यक ज्ञान दिने विषय नै सामाजिक अध्ययन हो । नेपाली समाजमा परम्परादेखि चलिआएको कुप्रथाहरूलाई अन्त्य गर्दै राम्रा चालचलन, रीतिरिवाजलाई अँगाल्दै आएको छ । नेपाली समाजमा अनेकतामा एकता कायम राख्न, बालबालिकाहरूलाई नेपालको राजनीतिक गतिविधिमा आएको परिवर्तन प्रजातन्त्र, गणतन्त्र, सङ्घीयता जस्ता पक्षको अवगत गराई कल्याणकारी कानुनी राज्य स्थापना गर्न, नेपालमा रहेका गरिबी, अशिक्षा, कुरीति, अन्धविश्‍वासलाई हटाएर विकासको पथमा अघि बढाउन सामाजिक अध्ययनले बालबालिकाहरूलाई आवश्‍यक ज्ञान प्रदान गर्दछ ।

विद्यमान नेपाली समाजमा रहेका बेरोजगारी बौद्धिक पलायन, भ्रष्टचार लागूपदार्थ दुर्व्यसन, दाइजो प्रथा, महिला हिंसा, फजुल खर्च र देखासिकी विषयमा गहन अध्ययन गरी यस्ता समस्याहरूलाई निर्मूल पार्न एक सक्षम नागरिक तयार पार्न सामाजिक अध्ययन विषयले सहयोग गर्दछ । यसरी राष्ट्रिय स्तरमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा योग्य र दक्ष नागरिक बन्‍न बालबालिकाहरूलाई सामाजिक अध्ययन विषय महत्त्वपूर्ण रहेको छ ।

हामीले सामाजिक अध्ययन विषयलाई व्यवहारिक र जीवनोपयोगी बनाउँदै लैजान सकेमा सामाजिक अध्ययन विषयले बालबालिकाहरूलाई दक्ष सक्षम नागरिक तयार  गरी विविधतायुक्त अवस्थालाई एकता कायम  राख्न र सुन्दर शान्त राष्ट्र निर्माण गर्न सामाजिक अध्ययन विषयले मद्दत पुर्‍याउँछ भन्दा अत्युक्ति नहोला ।

यसर्थ हामीले उपयुक्त शिक्षण विधि र सामाग्री छनोट गरी शिक्षण क्रियाकलाप सञ्चालन गर्न सकेमा सामाजिक विषय अध्ययनको उद्देश्य प्राप्‍त हुन्छ । सामाजिक अध्ययन विषयलाई व्यवहारिक र जीवनोपयोगी बनाउँदै लैजानुपर्छ । उदाहरणका लागि हामीले कक्षाकोठामा असल आचरण र सदाचारका विषय पढाउछौँ उक्त विषय पढाइसकेपछि बालबालिकाहरूले आफ्नो व्यवहारमा उतारिसके पछि मात्र बल्ल शिक्षण सिकाइ सफल भयो भनेर बुझ्नुपर्छ । त्यसैगरी हामीले अशक्त, अपाङ्ग, वृद्धवृद्धालाई सहयोग र माया गर्नुपर्छ भनेर पढाउँछौँ, जबसम्म उसले एउटा बाटो काट्न लागेको अपाङ्ग वा वृद्धवृद्धालाई बाटो काट्न सहयोग गर्दैन, त्यो सिकाइ सफल भएन भनेर बुझ्नपर्छ । विद्यालयमा हामी अनुशासनका कुरा पढाउँछौँ, जब सम्म बालबालिकाहरूले अनुशासनको पालना गर्दैन त्यसलाई हामीले वास्तविक, सिकाइ भन्‍न सकिँदैन । हामी मानव मूल्यको कुरा सिकाउँछौ, न्याय, शान्ति र अहिंसाको बारेमा सिकाउँछौँ । बालबालिकाले शान्त र संयमित रहन अनि व्यवहार गर्न, परिवारमा उत्पन्न भएका केही सामान्य विवादहरूलाई शान्तिपूर्ण सौहार्दताका साथ समाधान गर्न सकून् भन्ने अपेक्षा सामाजिक अध्ययनको रहन्छ ।

पाठ्यक्रम परिवर्तन भएसँगै निजी विद्यालयमा सामाजिक अध्ययन विषय नेपाली माध्यममा अध्ययन अध्यापन गर्ने व्यवस्था भए लगत्तै शिक्षक र विद्यार्थी दुवैका लागि चुनौतीको विषय बन्दै गएको छ र भाषा संरक्षणको दायित्व पनि थपिएको छ । हिजोका दिनहरूमा त्यही विषय अङ्ग्रेजी माध्यममा पढ्न पाउँदा जाँगरका साथ पढ्न तयार हुन्थौ भने त्यही विषयलाई नेपाली माध्यममा पढ्नुपर्दा विद्यार्थीले कठिन विषयको रुपमा लिन थालेका छन् । नेपाली भाषा वा अङ्ग्रेजी भाषा जुन भाषामा अध्यापन गर्न पनि शिक्षक पारङ्गत हुन पर्ने भएकाले कुशल सहजकर्ताबाट विभिन्न सेमिनार, गोष्ठी साथै तालिमका कार्यक्रमहरू सञ्चालन गर्न अति नै आवश्यक पनि देखिन्छ ।

(Angels' Voice, Vol. 11)

सिर्जना शाही

सामाजिक शिक्षक