१३ वर्षे विद्यालयको यात्रा

Posted on : 23 January 2024
Views : 971

आमाको हात जबरजस्ती छुट्टाएर,
आँखाभरी टिल्पिल आँसु सहित,
विद्यालयको गेट भित्र पस्दा सुरु भएका यात्रा ।

आँखामा भविष्यको चमक अनि मनमा हजारौं प्रश्‍न,
घाँटीमा बोतल र सर्टमा रुमाल झुन्डाउँदैं,
ज्ञानको मन्दिर कक्षाकोठामा प्रवेश गरेँ ।

लर्खराउँदै गरेका कलिला हातले A,B,C,D र क, ख, ग, घ लेख्दै,
तोते बोलीमा 1, 2, 3, 4 र १, २, ३, ४ कण्ठ पार्दै,
आफ्नो भविष्य लेख्न ति साना पाइला हिडेँका थिए ।

बिस्तारै विद्यालयको वातावरणमा रमाउँदै शब्दहरू चिन्‍न थालेँ, पढ्न थालेँ र बुझ्न थाले,
समयसँगै उमेर बढ्दै गर्दा पढाइको बोज पनि बढ्दै गयो,
लेख्दा लेख्दै औँलाहरू सुनिन थाले,
व्यागको भारीको काध थिचिन थाले ।

टन्‍न गृहकार्य अनि बेला बखतमा आउने परीक्षा,
न थकाई मार्ने फुर्सद न त आनन्दको निन्द्रा,
अनेक थरी सजाय भोग्दै घोकेका शुत्र र परिभाषा,
उज्वल भविष्यको सपना अनि सफलताको कल्पना ।

जसरी होस् अङ्क राम्रो चाहियो,
फलाना डिस्कानाको भन्दा बढी आउनै पर्‍यो ।

चञ्‍चल मन खेल्न र उफ्रिन मन लाग्ने,
पढ्न भने फिटिक्‍कै मन नलाग्ने ।

यस यात्रामा थुप्रै साथीहरू भेटिए,
०.५ अङ्कको लागि रुने पनि भेटिए,
र मात्र पास भएकोमा खुशी हुने पनि भेटिए ।

कोही खेलमा, कोही पढाइमा, कोही चित्रकलामा  अब्बल सबैको आ-आफ्नो रुची थियो,
तर लक्ष्य भने सबैको एउटै थियोः ठुलो मान्छे बन्‍ने अनि टन्‍न पैसा कमाउने
यस यात्रामा कोहि साथी छुटिए त कोहि थपिए,
तर जो जतिसँग भेटे सबैले केहि न केहि सिकाए ।

झगडा र हाँसखेल गर्दै काँधमा काँध मिलाएर हिडेका साथीहरूको साथले यो कठिन यात्रा सहज बनाइदियो,
यात्रामा बाटो देखाउने गुरुवर्गको प्रेरणाले आफ्नो गन्तव्यमा पुग्ने हौसला दिलायो ।

अविष्मरणीय र निकै प्रिय यो A, B, C, Dदेखि alpha, beta, gama सम्मको यात्राको थुप्रै कुरा सिकायो,
अनुशासन सिकायो, शिक्षा र समयको महत्त्व बुझायो,
आफ्नो लक्ष्य लिन सिकायो,
आत्मनिर्भर बन्‍न सिकायो,
जीवन जीउन सिकायो ।

कक्षाकोठाका चार भित्ताका बिच बनेका ती खुट्टा मिठा यादहरू कहिलै नमेटिने गरी मेरो मस्तिष्कका कुनामा गढिएका छन् ।

(Angels' Voice, Vol. 11)

विशेष्ना रिमाल

कक्षा -१०, H2