हाम्रो नेपाली सामाजमा अन्धविश्वास एउटा रोग हो । यसले निकै समय अघि देखि यहाँ जरो गाडेर बसेको छ । जत्तिनै शिक्षित समाज भएपनि मानिस मानिसमा भेदभाव, छुवाछुत र आफ्नो पुरानो चालचलनको नाममा कुरीतिहरू भित्राइ रहेका छन् । अन्धविश्वासको कारणले गर्दा समाजमा निकै ठुलो घटनाहरू छन्, एकले अर्काले निचो देखाइरहेका छन् ।
नेपाली समाजमा अन्धविश्वासले आफ्ना जराहरू परापूर्वकाल देखि नै गहिरोसँग गाडेको छ: जसले गर्दा एक्काइसौं शताब्दीको सङ्घारमा युगले पाइला टेक्दा पनि हामीहरूको चिन्तनको स्तर माथि उठ्न सकेको छैन । मानिसभित्र विद्यमान अत्यन्त र कुरुप पक्ष हो- अन्धविश्वास । अन्धविश्वासको मूल भनेको अकर्मव्यता र भाग्यवादी जीवनदृष्टि नै हो । कर्ममा होइन भाग्यमा विश्वास गर्नेहरूको तराजु अन्धविश्वासतर्फ ढल्किएको हुन्छ । अशिक्षा र अज्ञानको मलजल पाएर र उक्त अन्धविश्वास झन मौलाइरहेको छ । अन्धविश्वासले धर्म र सामाजिक परम्पराभित्र पनि आफ्ना नङ्ग्रा गाडेको छ । नेपाली समाजमा यस्तो अन्धविश्वासका कुनै रमाइला त कुनै कहाली लाग्दा दृष्तान्तहरू भेटिन्छन् । नेपालका कतिपय दुर्गम क्षेत्रमा अझै पनि घरको तला थप्नुपर्यो भने धामीसँग सल्लाह गरिन्छ र छोरा-छोरी पढ्न पठाउँदा पनि धामीकै राय लिइन्छ । मानिस बिरामी पर्यो भने उसलाई अस्पताल नलग्नु, बोक्सी वा झाँक्री लागेको भनेर ताताे फलामले डाम्ने जस्ता काम पनि अन्धविश्वासका अमानवीय र भयावह रुप हो ।
हामीले अन्धविश्वास हटाउनका लागि ज्ञानको ज्योती छर्न आवश्यक छ । जनचेतनामूलक कार्यक्रमहरू अगाडि ल्याउन आवश्यक छ । एकअर्का प्रति आदर, सम्मानको भावना हुनु अपरिहार्य छ । मानिस मानिस एक हो सबैको रगत रातो हुन्छ । कोही सानो-ठुलो हुँदैन भन्ने भावनाका साथ अघि बढ्यौँ भने हामीले समाजमा रहेको अन्धविश्वास हटाउँन सक्छौँ ।
(Angels' Voice, Vol. 11)
रेसिका दुवाडी
कक्षा -१०, O2
