आज म १५ वर्षको भएँ । यो कुरा जान भन्दा ५ वर्ष अगाडिको हो । एक्कासी डरलाग्दो र तिखो आवाजले मेरो निन्द्र बिउँझायो । आवाज थियो मेरी कान्छी आमाको "पुन्टे ए पुन्टे !, मर्न नसकेको कुम्मकर्ण बज्जिया । घामले पारी डाँडा काटिसक्योः छिटो उठ । वस्तुलाई घाँस ल्याउन पर्दैन ।" भित्तामा झुन्डिएको घडीको छोटो सुई ५ मा र लामो सुई १२ मा रहेछ । पुसको चिसो, च्यातिएको कट्टु र दुई चार ठाउँमा टालेको भोटो लगाएर डोको, नाम्लो अनि हसियाँ लिएर जंगलमा पसें । झिसमिसे उज्यालो बाटोमा लाटो कोसेरोको, डरलाग्दो आवाज सुन्दा मन सिरसङ्ग हुन्थ्यो । तर मनमनै चित्त बुझाउँथे । यो आवाज मेरो सौतेनी आमाको गाली भन्दा त निकै प्यारो छ । कठ्याङ्ग्रिदो चिसोमा जेहेनतेहेन घाँसको भारी पुर्याएँ । बल्लतल्ल गोठको अगाडि घाँसको भारी मात्र बिसाएको थिएँ, त्यो लाटोकोसेरोका भन्दा कठोर आवाज आयो । "ए मुर्दा !, कति ढिला गरेको, जा उता तल्लाघरे काकाकोमा खसी काटेको छ रे गएर एक भाग लिएर आ ।" मनमनै मासु र भात मज्जाले खाउँला भन्ने सपना बुन्दै गए र लिएर आएँ । "खै ले यता, उता गएर भकारो सोरेर बस्तुलाई चारो हाल्दे ।" भकारो सोर्दा आमाले पकाएको मिठो मासुको वास्ना आयो । हत्त न पत्त भकारो सोर्दै वस्तुलाई चारो हाल्दे भने, "खा खा मज्जाले खा! म पनि अब गएर मासु भात मज्जाले खान्छु, बुझिस् ।" भान्सामा भाइले एक थाल मासु र भात खाइरहेको थियो । आमाको च्याठिने बोलीले भनिन्, "मासु बोसै बोसो भएको ल्याइछस्, पग्लिएर सबै खेर गयो, तेरो भाइलाई र मलाई नै पुगेन । ला हिजोको ढिँढो छ अति कति नुन हालेर खा ।"
सुकेर डल्ला परेको बासी ढिडो नुनमा चोप्दै खाँदा मेरो आँखाबाट आँसु रसाइरहेको थियो । फेरी आवाज आयो, "आमा बाउ टोकुवा बजिया, आमा र बाउलाई त खाइस् खाइस् मलाई पनि मरे तुल्याइस् हैन, खाँदै रुन्छस् ।" उता भाइले खाइ नसकेको मासु भात मेरो थालमा खनाइदेलिन् कि भन्ने कत्रो आश थियो तर हत्तनपत्त बाहिर लगेर कुकुरलाई यो हालिदिइन् । यी यस्ता घटना सधैका दिनचर्या हुन्थे र बेलुकीको भाडा माँझ्दै त्यही निदाउँदा भुत्ल्याउँदै र लछ्यार्दै गाडिनु पर्थ्यो । रुँदै गुन्द्रीमा विना ओछ्यान र सिरक सुत्नु, बिहान सबेरैको दैनिकी र दिन भर गोठाले मेरो दिनचर्या नै थियो ।
एकदिन घरमा आमाले कुखुरा कुर्न राख्नु भएको थियो । अचानक स्याल आएर एउटा भाले लगि हाल्यो । दोकान गएकी कान्छी आमा घर फर्केपछिको हविगत सम्झेर आँग सिरिङ्ग भयो र जिउँदो रहने कुनै आश देखिन । अनि कुलेलाम ठोकेर तल मुल बाटोमा पुगेँ । परबाट एउटा बस आइरहेको देखे र हत्त न पत्त पछाडिबाट झुण्डिएर बसको छतमा उक्लिएँ । यो मेरो पहिलो बसको सवार र सहरको पहिलो यात्रा थियो । पछाडि भर्याङ्गबाट छतमा पुगेको म भुसुक्कै निदाएछु । एक्कासी बिउँझिदा अनौठो नयाँ नयाँ ठुला ठुला घर, होहल्ला र गाडी नै गाडी गुडेको सहर, एक पटक मलाई त लाग्यो- स्वर्ग भनेको यही पो रहेछ क्यारे ।
(Angels' Voice, Vol. 11)
इच्छा श्रेष्ठ
कक्षा -६, मुनाल
