पढाइमा चित्रको महत्त्व

Posted on : 20 March 2024
Views : 943

सृजनात्मक माध्यमबाट विशिष्ट घटना बस्तु तथा अवस्थाको चित्रण गर्ने शशक्त माध्यम नै चित्रकला हो । चित्रकला शब्द बिना नै विषयवस्तुको व्याख्या गर्ने र भाषा बिना नै संसारका मानिसलाई बुझाउन सक्ने उत्कृष्ट कला हो । भाषा नै नजान्ने अशिक्षित, लाटो मानिस समेतले पढ्न सक्ने पुस्तक होः चित्रकला । चित्रको महत्त्वलाई बुझेर नै प्राचिन युगदेखि चित्रकलाको महत्त्व उच्च स्थानमा रहँदै आएको छ । महाभारत र रामायण जस्ता महाकाब्यहरू सजिलै बुझाउन चित्रको प्रयोग भएको पाइन्छ । मिथिला चित्रकलाले पौराणिक कथाहरूलाई सरल र सहज ढङ्गले बुझ्न सहयोग गर्छ भन्ने कुरा राष्ट्रिय संग्रहालय, छाउनीमा राखिएका चित्रमय कथाहरूबाट सकिन्छ ।

मेरो भनाइको तात्पर्य हामीले कक्षामा शिक्षण गर्दा जति बढी चित्र प्रयोग गर्छौ बाबु, नानीहरूलाई सजिलै बुझाउन सक्छौ भन्‍ने हो ।

बालबालिकाहरूलाई सिकाइमा सहजता ल्याउन, विषय वस्तुलाई रसिलो बनाउन, पढाइप्रति आकर्षण गराउन हामी शिक्षकहरूले हरेक पाठलाई चित्रमा ढाल्ने प्रयास गर्नु पर्दछ । चित्र बिनाको पुस्तक पढेर बुझ्न जति गाह्रो हुन्छ, चित्र सहितको पाठ बुझ्न त्यतिनै सजिलो हुन्छ । नानीबाबुहरूलाई चित्रमा रमाउन सिकायो भने, उनीहरू त्यसैमा आफूलाई हराइदिन्छन् । त्यही भित्र आफ्नो संसार देख्छन्, जस्ले गर्दा उनीहरूको स्मरण शक्ति बढ्छ । सृजनात्मक क्षमताको विकाश पढाइप्रति अभिरुचि जाग्दछ । तार्किक क्षमता र स्वस्थ जीवनको विकाश हुन्छ । जसरी एउटा उपन्यास पढेर जान्ने हुनुभन्दा फिल्म हेरेर छिटो जान्न सकिन्छ । त्यसरी नै पाठसँग भएका चित्रले छिटो बुझ्न र पछिसम्म सम्झिन सक्ने बनाउँछ । त्यसैले शिक्षण सिकाइ प्रकृयामा चित्रको प्रयोग अनिवार्य गर्ने बानी बसाल्नु राम्रो हुनेछ ।

(Angels' Voice, Vol. 11)

सरस्वती खनाल

शिक्षक