केहि वर्षपछि मेरो देश

Posted on : 21 March 2024
Views : 760

केहि वर्षपछि मेरो देशमा….
सटर हुनेछन्, पसल हुने छैन
जमिन हुनेछ फसल हुने छैनन् ।

अस्पताल हुनेछ नर्स हुने छैनन्
बिरामी हुनेछन् डाक्टर हुने छैनन् ।

बिजुलीको हिटर हुने छन् ताप्ने मान्छे हुने छैनन्
पानीको धारा हुनेछन् थाप्ने मान्छे हुने छैनन् ।

बस हुनेछन् चढ्ने मान्छे हुने छैनन्
स्कुल हुनेछन् पढ्ने मान्छे हुने छैनन् ।

केहि वर्षपछि मेरो देशमा …
चौतारो हुनेछन् भारी बिसाउने कोही हुने छैनन्
वनपाखा हुनेछन् भाका मिसाउने कोही हुने छैनन् ।

केहि वर्षपछि मेरो देशमा …..
गोठ हुनेछन् गाई भैंसी हुने छैनन्
भाई टिका हुनेछ दिदी बहिनी, दाजुभाई हुने छैनन् ।

क्रिकेट ग्राउण्ड हुनेछ खेल्ने खेलाडी हुने छैनन्
सिन्दुर पोते र चुरा हुनेछ सिउँदो, गला र नाडी हुने छैनन् ।

घरहरू हुनेछन्, बास बस्ने मान्छेहरू हुने छैनन्
बुढापाकाहरू हुनेछन् तन्नेरी युवाहरू हुने छैनन् ।

मरेका लाशहरू हुनेछन् मलामी हुने छैनन्
घरका झ्याल ढोका हुनेछन् दैलो उघार्ने हुने छैनन् ।

केहि वर्षपछि मेरो देशमा ….. ।।

(Angels' Voice, Vol. 11)

कल्पना सिंखडा

शिक्षक