व्याकरण शिक्षण आवश्यकता, समस्या र समाधान

Posted on : 25 March 2024
Views : 1854

व्याकरण भाषिक अनुशासन सिकाउने शास्‍त्र हो ।  परम्परा व्याकरणमा शुद्धलेख्न र बोल्न सिकाउने शास्‍त्रका रुपमा यसलाई परिभाषित गरिएको छ । व्याकरण अध्ययनले शिक्षार्थीका भाषामा हुने अशुद्धिहरूलाई निर्मुल पारी शुद्ध लेख्न, शुद्ध बोल्न सक्ने सामार्थ्यको विकास गर्दछ । कुनै पनि भाषाका शिक्षार्थीले शुद्ध भाषा सिक्नु छ भने व्याकरण सिक्नु अनिवार्य छ । व्याकरणको अध्ययन र प्रयोजनयुक्त व्यवहारबाट नै मानक भाषाको प्रयोग, शुद्ध भाषा बोल्न र लेख्न सकिन्छ । पुराना भाषाविद् वा व्याकरणविद्ले भाषाको शुद्धताबारे भाषा र व्याकरणलाई छुट्टा छुट्टै विषयको रुपमा अध्यापन गराउनुपर्छ भन्ने कुरालाई निकै जोड दिदै आएका छन् भने आधुनिक भाषाविद् र व्याकरणकारले भाषा सँगसँगै व्याकरणलाई प्रयोग गर्न सकिन्छ र भाषा र व्याकरणबीच घनिष्ठ सम्बन्ध रहेको र दुवैलाई एकैसाथ शिक्षण गर्नुपर्ने कुरालाई जोड दिएका छन् । त्यसैले वर्तमान भाषा पाठ्यक्रमभित्र व्याकरणलाई पनि समावेश गरिएको छ ।

भाषाका रुपगत एवम् वाक्यगत संरचनाका निम्ति नभई नहुने नियम एवं नियमसँग बाझिने अपवादहरुको वस्तुपरक ढङ्गले अध्ययन वर्णन वा विश्‍लेषण गर्ने भाषा विज्ञानसँग सम्बन्धित महत्वपूर्ण शास्‍त्र व्याकरणका नियमहरूको सैद्धान्तिक तथा प्रायोगिक पक्षको शिक्षण नै व्याकरण शिक्षण हो ।

व्याकरण शिक्षणको आवश्यकता

भाषाको प्रयोग मानव जीवनका लागि अत्यावश्यक कुरा हो । कुनै पनि भाषाको व्याकरणको जानकारी बिना स्तरीय भाषाको प्रयोग हुन सक्दैन । शुद्ध लेख्न र बोल्न पनि सकिँदैन । जसरी शरीरमा नसाको महत्त्व र खाँचो छ त्यसरी नै स्तरीय, मानक भाषा प्रयोगका लागि व्याकरणको आवश्यक छ । भाषालाई जीवन्त र स्तरीय बनाउने काम व्याकरणले गर्दछ । व्याकरणले नै भाषालाई शुद्ध व्यवस्थित र नियमबद्ध गर्ने भएकाले यसको शिक्षण औचित्यपूर्ण हुन्छ । तल्लो तहका लागि व्याकरण शिक्षण एउटा जटिल र चुनौतीपूर्ण कार्य हो । यो तल्लो तहमाभन्दा माथिल्लो तहमा सफलतापूर्व सिकाउन र सम्पन्न गर्न सकिन्छ । व्याकरण शिक्षण गराउँदा शिक्षार्थीको स्तर र क्षमतालाई ख्याल गरेर गराउँनुपर्छ । व्याकरण शिक्षणका आवश्यकताहरु निम्नअनुसार बुँदामा उल्लेख गर्न सकिन्छ ।

  • भाषिक अनुशासन सिकाउन,
  • शुद्ध स्तरीय र मानक भाषाको प्रयोग गरी बोल्न र लेख्न,
  • भाषा वैज्ञानिक दृष्टिले रुप एवम् वाक्य संरचनाको कौशल सिकाउन ,
  • भाषाको स्तरीय, परम्परागत र शिष्ट प्रयोगको मर्यादा सिक्न ,
  • भाषिक प्रयोगमा भएका त्रुटिहहरूको पहिचान गरी त्रुटिको निराकरण गर्न ,
  • भाषाका रुप, शब्द, वाक्यका शुद्धता एवम् स्तरीयता पहिचान गर्न,
  • व्याकरणलाई भाषिक कौशलतका निम्ति सहयोगी बनाउन,
  • नेपाली भाषालाई दोस्रो भाषाका रुपमा प्रयोग गर्ने शिक्षार्थीलाई पहिलो भाषाका शिक्षार्थीका समकक्षमा पुर्‍याउन,
  • व्यवहारमा शिष्ट एवम् मर्यादित भाषिक प्रयोग गर्न,
  • भाषान्तरिक र अन्तरभाषिक भूलहरु पहिल्याई भाषाको मानक रुप प्रयोग गर्न ।

 नेपाली व्याकरण शिक्षणका समस्याहरूः

हरेक भाषाका आफ्नै प्रकारका व्यवस्था र विशेषताहरू हुन्छन् । त्यसैगरी नेपाली भाषाको पनि आफ्नै प्रकारका व्यवस्था र विशेषताहरू छन् । व्याकरण शिक्षण पनि एउटा जटिल र चुनौतीपूर्ण कार्य हो । यो कार्य त्यति सहज र सजिलो छैन र जो कोहीले पनि यस्तो कार्य गर्न सक्दैन । नेपाली भाषा पहिलो भाषा हुनेका लागिभन्दा पनि दोस्रो भाषाका रुपमा सिक्नेहरूलाई अझ यो दुर्बोध्य र कठिन छ । नेपाली व्याकरण नेपाली भाषाका आन्तरिक नियम व्यवस्था र विशेषताहरूसँग आबद्ध व्याकरण हो । नेपाली व्याकरणले नेपाली भाषालाई बुझ्न र व्याख्या गर्न सहयोग पुर्‍याउँछ । साथै नेपाली भाषाको स्तरयुक्त मानक, शिष्ट, शुद्ध र सान्दर्भिक प्रयोग संरचनाको सुझ र सिपको सिकाइ भाषिक एकरुपता स्थिरता र सम्प्रेष्यता हासिल गराउन निर्देशन गर्छ । व्याकरण शिक्षण आफैमा नीरस र सैद्धान्तिक दुर्बोध्य विषय भएकाले यसको शिक्षणमा निकै कठिनाइ हुनु स्वभाविकै हो तर त्यो भन्दा पनि यस्ता समस्याहरु छन् । जसले नेपाली व्याकरण शिक्षणलाई जीवन्त र उद्देश्यमूलक बनाउनमा अझ धेरै चुनौती र वाधा व्यवधानहरु खडा गरेको देखिन्छ ।

१. पुरानो मानकप्रति झुकावः

धेरै वर्ष पुरानो मानक व्याकरणलाई आजसम्म पनि हुबहु प्रयोग गरिँदै आएको छ । परिवर्तनशीलता भएको स्वभावजन्य विशेषता भएपनि भाषाको व्याकरण परिवर्तन भएको पाइँदैन । वि.सं. १९६९ मा प्रकाशित पण्डित हेमराजको “चन्द्रिका” व्याकरणले निर्देश गरे अनुरुपको मानकमा नै प्रायः आधारित छ । भाषामा परिवर्तन शीलताको गुण हुने र त्यस गुणलाई व्याकरणले पछ्याउनु पर्नेमा आजभन्दा एक शतक अघिको भाषाको मानकलाई पछ्याएर व्याकरण शिक्षण गर्नु पर्ने स्थिति आँफैमा एउटा विडम्बना र समस्या हो । व्याकरण शिक्षण गर्नु भनेको समसामयिक शिष्ट भाषा प्रयोगको अनुगमन गरी सोही अनुरुपको भाषा प्रयोग गर्ने सुझको विकास गर्नु हो तर समसामयिक रुपमा अमानक भइसकेका प्रयोग सन्दर्भलाई पछ्याएर व्याकरण शिक्षण गर्नुपर्ने अवस्थालाई एउटा गम्भीर समस्या मान्न सकिन्छ । केही व्याकरणविदहरूले समसामयिक व्याकरण तयार पारेको पाइन्छ तर पनि पुरानो मानसिकताका कारण नवीन प्रयोग र प्रचलनलाई आत्मसाथ गर्न हिच्किचाउने  सङ्कुचित सोच भएका र पुरानै मानक व्याकरणप्रति झुकाव भएकाले नेपाली व्याकरण शिक्षणमा सुधार आउन सकेको छैन र कोही कसैको सचेतता यसतर्फ जान सकेको छैन ।

२. मानक व्याकरणको अभावः

हाल नेपाली भाषाका व्याकरणहरू आफू खुसी लेखिएका छन् । आफ्नो वैयक्तिक धारणालाई लाद्ने र मानक निर्धारण गर्न खोज्ने प्रवृत्तिका कारण अन्यौलपूर्ण बनेको छ। यसरी मानक व्याकरणको वेवास्ता गरी आफूखुसी व्याकरणका नियमहरू लागु गर्ने प्रवृत्तिले व्याकरण शिक्षणमा समस्याहरू उत्पन्न भएको छ।

३. संस्कृत र अङ्ग्रेजी व्याकरणको नक्कलः

नेपाली भाषाका व्याकरणहरु नेपाली भाषाकै विशेषता एवम् अध्ययन र विश्‍लेषणका आधारमा नलेखी कि अङ्ग्रेजी भाषाका व्याकरण ढाँचा कि संस्कृत व्याकरणका ढाँचामा लेखिएको छ । नेपाली भाषाको समसामयिक प्रयोगको अध्ययन विश्‍लेषण नगरी अङ्ग्रेजी र संस्कृत व्याकरणका अनुकृत ढाँचामा तयार गरिएका व्याकरणले नेपाली भाषाका शिष्ट प्रयोगका समसामयिक विशेषताहरूलाई समग्र रुपमा आत्मसाथ गर्न सकेको छैन । अझै नेपाली व्याकरण शिक्षण गराउने शिक्षकहरू संस्कृत तथा अङ्ग्रेजी पृष्ठभूमिका छन् भने अङ्ग्रेजी वा संस्कृत ढाँचामा ढाली नेपाली व्याकरण पठाउन उद्यत् देखिन्छन् । साथै, व्याकरण पुस्तक पनि र विषयवस्तु एवम् पुस्तक पनि त्यही किसिमले लेखेको पाइन्छ । जसले गर्दा मानक व्याकरणको सुझको अभाव रहेको पाइन्छ । बालबालिकामा पनि अङ्ग्रेजी व्याकरणको प्रभावले वाक्य ढाँचामा समेत प्रभाव बढेको पाइन्छ। “म भात खान्छु” लाई अङ्ग्रेजी व्याकरणीय ढाँचामा ढालेकाले कर्ता कर्म क्रियाको ढाँचा अङ्ग्रेजीमा “म खान्छु भात” जस्ता वाक्य रचना निर्माण र प्रयोग गरेको भेट्न सकिन्छ ।

४. शैक्षणिक व्याकरणको अभावः

वर्तमान नेपाली पाठ्यक्रम र पाठ्यपुस्तकमा राखिएको व्याकरणका विषयवस्तु शैक्षणिक दृष्टिले तयार पारिएका छैनन् । कुन तहमा कति पढाउने, के के पढाउने भन्ने जस्ता कुराको स्पष्ट निर्देशन दिइएको छैन । वि.सं. २०२८ सालभन्दा अघि शैक्षिक तहका लागि के के पढाउने भन्ने कुरा तोकिएका थिए तर २०२८ साल पछिका भाषा पाठ्यपुस्तकमा भाषातत्त्वका रुपमा कक्षा ४ देखि नै व्याकरण समावेश गरिएको पाइन्छ । अझ संस्थागत विद्यालयमा त कक्षा १ देखि नै व्याकरणका पाठ्यपुस्तक समावेश गरिएको पाइन्छ। यसरी समावेश गरिएका पाठ्यपुस्तकमा के के  पढाउने ?, कति पढाउने ? जस्ता कुराको सुनिश्‍चित गरिएको छैन जसले गर्दा विद्यार्थीको तह र क्षमताभन्दा बढी विषयवस्तुको भारले विद्यार्थीहरूलाई थिचिरहेको छ भने व्याकरण शिक्षणलाई बोझका रुपमा लिएका छन् । जसको फलस्वरुप सही परिणाम आउन सकेको छैन । व्याकरणलाई कक्षागत तहका दृष्टिले उपयुक्त स्तरण नमिलाउँदा तल्ला कक्षामा चाहिनेभन्दा बढी गहिराइमा व्याकरण शिक्षण गर्ने र माथिल्ला कक्षामा चाहेजति पनि शिक्षण गर्न नसक्ने स्थिति सृजना हुँदा चाहेजति उपलब्धी हासिल गर्न नसक्नु पनि समस्याका रुपमा रहेको छ ।

५. व्याकरण शिक्षणमा सुझबुझको अभावः

पाठ्पुस्तकमा समावेश गरिएका व्याकरण सम्बन्धी पाठ्यपुस्तकहरु पुरानो सोचका आधारमा छनोट गरिएका छन् । यसकारण शिक्षकमा मौलिकता र सुजबुझको अभाव देखिन्छ भने व्याकरणको प्रयोगात्मक पक्षलाई भन्दा सैद्धान्तिक पक्षलाई जोड दिनुपर्छ । शिक्षकमा पनि व्याकरण शिक्षण कसरी गर्ने ?, कस्ता सामग्रीको प्रयोग गर्ने के के सिकाउने ? र कति सिकाउने ? जस्ता कुराको सुझबुझको अभाव हुनु । साथै नेपाली व्याकरण शिक्षण जुनसुकै व्यक्तिले पनि शिक्षण गराउन सक्छ । यो गाह्रो र जटिल विषय होइन भन्ने जस्ता सङ्कुचित सोचका कारण व्याकरण शिक्षणमा समस्या उत्पन्न भएको हो । व्याकरण शिक्षण गर्नुको प्रयोजन र शिक्षण विधिका बारेमा शिक्षकको अनभिज्ञता, तालिमको अभाव आदि प्रशस्त कारणहरू रहेका छन् । यसका साथै कतिपय शिक्षकले व्याकरणको सैद्धान्तिक पक्षलाई जोड दिदै आएका छन् । व्याकरण भनेपछि तर्सिने र व्याकरणलाई भाषासँगसँगै शिक्षण नगराई यसलाई छुट्टै वा अलग्याएर पढाउने प्रवृत्तिले व्याकरण शिक्षण असान्दर्भिक र अव्यवहारिक बन्न पुगेको छ। आफू खुसी मानक निर्धारण गरी व्याकरण लेख्ने र त्यसमा वैयक्तिक प्रभाव र शिक्षण संस्था पिच्छे छुट्टाछुट्टै व्याकरण पुस्तकलाई आधार बनाई व्याकरण शिक्षण गर्नाले व्याकरण शिक्षणमा विभिन्न विकृति र समस्या खडा भएका छन् ।

नेपाली व्याकरण शिक्षणका समस्याका समाधानका उपायहरूः

मानक व्याकरण शिक्षण गर्नु आपैmँमा एउट जटिल र चुनौतीपूर्ण विषय हो । नेपाली व्याकरण शिक्षणमा विविध किसिमका समस्या रहेपनि यसभित्र समाधान पनि लुकेको हुन्छ भनेर सोचेर शिक्षण गर्न सकिएमा शिक्षणका क्रममा आएका व्यवधानलाई सहजै समाधान गर्ने उपायहरु निकाल्न सकिन्छ । नेपाली व्याकरण शिक्षणमा देखिएका समस्यालाई ह्‍वात्तै समाधान हुन सक्ने स्थितिमा छैनन् । व्याकरणलाई वैज्ञानिक अध्ययन गर्ने प्रक्रियाको प्रशस्त विकास गरेर सोही अनुरुप उपयुक्त ढङ्गले पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्यसामग्रीको निर्माण गर्ने अनुभव नबढाएसम्म र व्याकरण शिक्षणको वास्तविक अनुभव बढाउदै लगेमात्र व्याकरण शिक्षणको अवरोध व्यवधानलाई चिर्न सकिन्छ । साथै व्याकरण शिक्षणमा सुधार आउन सक्छ । व्याकरण शिक्षणका समस्याका समाधानका उपायहरू बुँदागत रुपमा तल उल्लेख गरेको छ ।

नेपाली व्याकरण शिक्षण गर्दा पुरानो मानकलाई परिमार्जन र परिष्कृत गरी सममामयिक प्रयोगमा ध्यान दिनुपर्छ ।

  • भाषा परिवर्तन सँगसँगै व्याकरण परिवर्तन गर्नुपर्छ,
  • नेपाली व्याकरणका नियममा वैयक्तिक प्रभावको अन्त्य गर्नुपर्छ,
  • संस्कृत र अङ्ग्रेजी व्याकरणको ढाँचामा जस्ताको तस्तै नेपाली व्याकरणमा लागु गर्न हुँदैन,
  • स्तरण र क्रमिकताका आधारमा नेपाली व्याकरण तल्लो तहदेखि उच्च तहसम्म सरलताबाट जटिलता तर्फ उन्मुख हुनुपर्छ,
  • व्याकरणको सैद्धान्तिक पक्षलाई भन्दा प्रयोगात्मक पक्षलाई विशेष ख्याल गरी शिक्षणमा जोड दिनुपर्छ,
  • व्याकरण शिक्षणलाई बोझका रुपमा लिने प्रवृत्ति अन्त्य गर्नुपर्छ,
  • व्याकरण शिक्षण विषयविज्ञलाई शिक्षण गराउन दिनुपर्छ,
  • व्याकरण शिक्षण सरलतातिरबाट जटिलता तर्फ उन्मुख हुनुपर्छ,
  • शैक्षिक सामग्रीको प्रयोगबाट व्याकरण शिक्षण गर्दा प्रभावकारी हुन्छ,
  • मानक व्याकरणको निर्माणगरी शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्छ,
  • शैक्षणिक दृष्टिले विद्यार्थीको क्षमता र स्तरलाई ख्याल गर्नुपर्छ ।

व्याकरण शिक्षणमा भएका कमी कमजोरीलाई अन्त्य गर्नका लागि एउटा शिक्षक, एउटा शैक्षिक संस्थामात्र सक्रिय भएर मात्र समस्या समाधान गर्न सकिँदैन व्याकरणलाई जीवन्त राख्नका लागि र शिक्षणलाई त्रुटिरहित बनाउँनका लागि यसतर्फ राष्ट्र नेपाली भाषा शिक्षाविद् व्याकरणविद् आदिको ध्यान जानु आवश्यक छ, साथै विद्यालयमा पनि सम्बन्धित नेपाली भाषा विषय शिक्षकले अध्यापन गराउन सके व्याकरण शिक्षणका समस्या अन्त्य गर्न सकिन्छ, साथै समय समयमा पाठ्यक्रम पाठ्यपुस्तक परिमार्जित गर्नुपर्छ । कुन तहका लागि के कति पढाउने जस्ता कुराको निश्चित गरिएको हुनुपर्छ । व्याकरणलाई एक्ल्याएरभन्दा भाषापाठ्यपुस्तकसँगसँगै शिक्षण गराउन सके मात्र हामी व्याकरणका यस्ता समस्याबाट अछुतो रहन सक्छौँ । यसरी शिक्षण गरेमा शिक्षण सरल, सहज, रुचीपूर्ण र फलदायी बन्न सक्छ र सिकाइ पनि दीर्घकालिन वा चीरस्थायी बन्न सक्छ ।

(Angels' Voice, Vol. 11)

रमा शर्मा

शिक्षक