पर्वत जिल्लाको कुस्मा बजार। आँखा खुल्ने वित्तिकै काली गण्डकीतिर फर्केको झ्यालबाट बाहिर हेरेँ । एका विहानै मिर्मिरेमा आकासका तारा टिलबिलाउँदै थिए । विस्तराबाट सीधा पश्चिम हेर्दा आँखा अगाडि ठिङ्ग ठडिएको शिरमा सितारा जडित सुन्दर श्यामल आकृति देखियो । आँखा मिच्दै राम्ररी नियालेँ । उज्यालो छिप्पिँदै जाँदा शिरमा झिलमिलाइरहेका सितारा हराउँदै गए । त्यो आकृति विस्तारै चीर परिचित हरियो मनमोहक शैलश्रीका रूपमा परिणत भयो । प्रकृती, जीवन, प्रेम र सृष्टिको अनुपम संरचना थियो त्यो मेरो सामुन्ने उभिएको मेरै जन्मठाउँ पाही माथिको हाँडिकोट टापू । यसैले त हो मलाई जुरुक्क उचालेर संसारको सर्वोच्चता देखाएको । यसैबाट उम्रेको तुषारे पानीले मेरो जीवन धारा कलकलाउँदै गतिमान बनायो । यही टाकुराबाट गडगडाउँदै आउने असारे भल र भदौरे भेलले मेरो घर वरिपरिको खेतवारी उर्वर बनाउँदै सिंचित गरिरह्यो । यसकै बक्षस्थलमा चिरबिर गर्ने पंक्षीहरूको कोकिलताले मेरो जिन्दगीलाई ध्वनीमय बनाएर सिँगारिदियो । यसै टापूमुनिको बनमा गाउने कोइलीको स्वरले मेरो बालाजीवन सङ्गीतमय बनाएको थियो । शैसवकालदेखि नै मैले यहीँबाट जीवनका रङ्गिन सपना सजाउन थालेको थिएँ । यसकै पूर्वी बाहूबाट उदाउने र पश्चिमी बाहूबाट अस्ताउने सूर्यका किरणले मेरो जीवनमा अनन्त सुखका रङ्ग भरिदिए। आज यहीँबाट उम्रेका जीवनहरू जवानी पार गर्दै मानवताको वास्तविक अर्थ बोकेर देशदेशावर चहारिरहेका छन् । यो पहाडका पखेरुमा फुलेका लालीगुराँस र लालुपातेका रङ्गीविरङ्गी फूलहरूले जीवनलाई सुन्दर र समृद्ध बनाउन प्रेरित गरिरहे । ती फूलमाथि अनवरत विचरण गरिरहने पुतलीहरूको सुन्दरता देखेर तिनीहरूलाई छोप्न मेरो बालोमन पछि पछि दौडने गर्थ्यो । मेरो त्यो बालसुलभ मनोदशा पछि गएर सौन्दर्यपान गर्न प्रकृतिका अनुपम छटाहरूको खाजीमा विश्वभर दौडन थाल्यो । तिनै फूलका बासना बोकेर आज पनि म यत्र तत्र चहारिरहेको छु । यहाँका किरा फटेङ्ग्रा भ्यागुता सबैसँग मेरो गहिरो चिनारी छ । यही ठाउँले मलाई प्रकृति, जीवन र संस्कृतिको पाठ पढायो । यिनैको सौन्दर्यरस पिउन सिकायो । यसैको पाखापखेरामा घुम्दाघुम्दै मेरो हृदयका आँखा खुल्दै गए । मनका तरंग फैलिँदै गए । मेरो जीवनयात्राको लामो मार्गचित्र यहीँ तयार भयो । यसैको मथिंगलमा उभिएर मैले संसार नियाल्न सुरू गरेको थिएँ । संसारका हरेक भागमा जहाँ म पुगे पनि यो भन्दा सुन्दर र बसूँ बसूँ लाग्ने ठाउँ कतै मैले अनुभूत गर्न सकेको छैन । मेरो मनले स्वीकारेको स्वर्ग कतै छ भने पृथ्वीको यही भाग हो । मेरो जन्मठाउँको सेरोफेरो । यो मेरो व्यक्तिगत अनुभूति हो । बालापनको छाप अमीट नै हुन्छ । यही अमीट छापले मलाई हाडिकोटको हितका निम्ति केही गर्न निरन्तर घचघच्याइरहेको हुन्छ । म सानो छँदा नाकको सिगान कोराको भोटाका बाहुलामा पुछ्दै यही पाखा वरिपरि दौडँदै गरेको सम्झना छ । घरभित्र पारिवारिक अभावको पराकाष्ठा थियो । तैपनि यो पहाडको छाती प्राकृतिक हिसाबले समृद्ध थियो । यही समृद्धिले हामीलाई बचायो, जगायो, उठायो र जीवनका हरेक आयामलाई सम्पन्न बनायो । पहिलो पल्ट यहीँ मैले न्याउलीको विरह सुनेको हो । साँझपख झ्याँउकिरी बास्दा कसरी भोकले मुटु उफ्रन्छ भन्ने यही बनमा अनुभूत गरेको हूँ । बनका काफलले पेट भर्दाको भोलिपल्ट बाहिर बस्न जाँदाको पीडा पनि मैले यहीँ नै भोगेको छु । कुनै दिन यही बनमा गुराँसका फुल खाएपछि गाँजा लाए जस्तै गरेर टाउको भनभनी घुमाएको सम्झना अझै पनि ताजै छ । विभिन्न कालमा आपत र विपत पर्दा कैयौँ पटक यिनै गुरासका फेदको शरण लिएको थिएँ ।
सात ठाउँमा टालेको भोटोका बाहुलामा सिँगानका पाप्रा उडाउँदै र अघिपछि दुबैतिर फाटेको जाँगेलाई एउटा हातले समाउँदै मैले उकाली ओरालीमा पैसरी खेल्न सुरू गरेको यहीँबाट हो । यहाँको माटो माटोमा मैले राष्ट्रको प्रीतिका संगीत रोपेको छु । यहाँको ढुङ्गा ढुङ्गामा मैले देशको मायाँका गीत खोपेको छु । दुखी गरीबका सपना सजाएको छु । यहाँका औसेलु चुत्राका झ्याङहरूमा मेरा थुप्रै थोत्रा घेरे टोपीहरू अल्झेका छन । खुट्टाका औलाका कापकाप र तिघ्राहरूमा जुकाले टोकेर निस्केका रगतले बनेका पैतालाका छापहरू अझै पनि दोबाटो र बान्नाका छपनीहरूमा आलै छन । यहाँ विचरण गर्ने हरिण र कालिजका निश्छलताले अरूलाई ठग्न हुन्न, मार्न हुन्न, आफ्नै कठीन सङ्घर्ष र मेहेनतले जिन्दगी थाम्नु पर्छ भन्ने जीवन दर्शनको पाठ पढाएको हो । कुरिलाका जरा, केमानाका बोक्रा र लालीगुराँसका फुल मेरा औषधीमूलो थिए । चुत्रो र औसेलुका फाँकीले मेरो दिउसोको भोक प्यास मेटाउने गर्थ्यो । पानी अमला उखेलेर जरामा फलेका दाना चपाउँदै सुकेको घाँटी भिजाउने मेरो बालापनको जीवन दशा थियो । यही पाखा पखेरामा उम्रेको सिस्नु र जलुकी हाम्रा किसान योद्धाहरूको विहान बेलुकीको खाना कोदाको ढीँडो निल्ने मीठो परिकार हुन्थ्यो । यहाँको जङ्गलमा पाइने सतुवा सबै विमारको अचुक रामवाँण थियो । दाउराघाँस गर्दागर्दै एकै छिन हाम्रा भाउजुहरू रानी ढुङ्गामा बसेर मनका तरङ्ग साटासाट गर्ने गर्थे । त्यहीँ बिसाएर आँशुका थोपाले प्रकृतिको आँचल भिजाउँथे । यो रानीढुङ्गाले कति चेलीवेटीका पसिना र आँशु पचाइसकेको छ । सात ठाउँमा टालेका चोली र ठाउँठाउँमा खुटेका फरिया लगाएका आमाहरू सेउला पर्सेउला सोहोर्न गएका बेला बनै उचालेर उच्च स्वरमा घन्काउने पहाडी भाका अहिले पनि कानमा गुन्जिरहे झैँ लाग्छ । विरह, व्यथा, आँश, हाँसो हर्ष, उमङ्ग आदि सबै भावना पोखिएको छ हाँडिकोटका पखेराभरि । यसको महान गाथा यो सानो लेखमा कोरेर सम्भव छैन ।
नेपालको बाग्लुङ जिल्लाको दक्षिण भेगको गहनाको रूपमा परिचित रमणीय टापू हो, हाँडिकोट । यो टापू बाग्लुङ जिल्लाको तेस्रो उच्च शिखर मानिन्छ । यसको धुरीबाट पहिले पहिले हाम्रा बावुबाजेहरू पाल्पा, बुटवल र गोरखपुरसम्मका ठाउँहरू नियाल्ने गर्थे रे । आकासमा धुलो र धुवाँको साम्राज्य फैलिँदै गएपछि आजकल खाली आँखाले हेर्दा त्यो सुविधा विरलै पाइएला । तर दूरवीन यन्त्रको सहायताबाट टाढा टाढा सम्मका मनोरम दृष्यमा रमाउन गाह्रो छैन । टापूबाट सिधा उत्तरतिर हेर्दा माछापुछ्रे हिमाल र अन्नपूर्ण हिमश्रृंखलाका अति मनमोहक छटा देखिन्छन् । यो ठाउँमा बसरे रमाउँदै भाव विभोर हुँदा दिन गएको पत्तै हुँदैन । पूर्वतिर काली गण्डकी सुसाउँदै बगेको दख्न सकिन्छ । दक्षिण फर्केर हेर्दा सुदुर क्षितिजसम्म तरेली परेर फैलिएका पर्वतमालाको सुन्दर प्राकृतिक कला देखिन्छ ।
हाँडिकोटको धुरीबाट देखिने नजीकका बस्तीहरूले हुर्काएको संस्कार पनि उत्तिकै समृद्ध छन । यहाँका मानिस अति नै मेहेनती र इमान्दार लाग्छन् । यहाँको पानीमा प्रकृतिले ओखतीको रस भरिदिएको प्रतीत हुन्छ । अर्काको भर परेर हैन आफ्नै मेहेनत र परिश्रमको फलमा विश्वास गर्ने यस क्षेत्रका मानिसको संस्कार बनेको छ । पढाइप्रति अति नै अनुराग भएकाले हाँडिकोट वरिपरिका बस्तीहरू शिक्षाको उज्यालोले पनि जगमगाइरहेकै छन् । यहीँबाट विकशित कैयौँ प्रतिभाहरू राष्ट्रिय व्यक्तित्वकारूपमा उभिएका छन् । शिक्षा, स्वास्थ्य, इन्जिनीयरिङ्ग, कला, साहित्य आदि क्षेत्रका दिग्गज व्यक्तित्वहरू यही माटोले जन्माएको छ । ‘लेकको कुइरो अगुलै झर्यो लाइकुहिरो दिनभरि ….’ भन्दै सालेजोका भाकामा गीत गाउँदै साँझपरे पछि गाउँ घन्काउने चलन अझै पनि जिउँदै छ । त्यसलाई अझै विकसित र समृद्ध बनाउनु जरुरी छ । यही टापुको तल नजीकै रहेको गाउँ राङखानीलाई चर्चित कवि धर्मराज थापाले ‘राङखानी लोकगीतको खानी’ भनेर आफ्नो शोधपत्रमा उल्लेख गरेका छन् । लोक गीतका विविध भाकाहरूको उदगमस्थल पनि हो यो ठाउँ । बुढो सालेजो, ओलेजा, चुड्के भाका आदि अनेकौँ जोसिला र रसिला भाकाहरू यहाँका बस्ती पाखा पखेरामा गुञ्जिरहेका हुन्छन् । गाइने जातीका सारङ्गीका धुनहरुको मिठास पनि यहाँका बस्ती बस्तीमा सधैँ जसो सुनिने गर्दछ । भजन कीर्तनका भाका पनि उत्तिकै मन्त्र मुग्ध पार्ने खालका छन् । खैजडी, मुजुरा, मृदङ्ग, झुर्मासहितका बाजा बजाएर गाएको कीर्तन सुनेर मेरो बाला जीवन वितेको थियो । त्यसै गरी नौमती बाजाका धुन सारै मनमोहक लाग्थे । बाजातालमा नाच्दै र नाच हेर्दै कति कति रात बितेका थिए । विहान उज्याले भएपछि दुलही अनमनाउँदा बज्ने सहनाइका राग कति हृदय विदारक हुन्थे । सबैका आँखाका डिल टिलपिल हुन्थे । यी सबै सांस्कृतिक विरासतबाट उठेको थियो मेरो मनभित्रको साङ्गीतिक संसार । यही संसार पछि गएर मेरो जीवन कहनीको आधार बन्न पुग्यो । मेरा हरेक गीतका ध्वनीभित्र यही साङ्गीतिक आकासको आभास पाउन सकिन्छ । यही सांस्कृतिक विरासतबाट केही अंश झिकेर मैले आफ्नो सृजनालाई सजाउने गरेको छु । अनि जनतालाई पस्कने गरेको छु ।
हाँडिकोट वरिपरि सांस्कृतिक सौन्दर्यले भरिपूर्ण गीत, सङ्गीतका असीम भण्डार बोकेका लोभलाग्दा बस्तीहरू छन् । यहाँ घना रूपमा जनजाती बस्ती छ । जनजाती बस्ती आफैमा सङ्गीत र संस्कृतिको खानी हो । जनजाती संस्कृतिको अध्ययन गर्न बौद्धिक जगतका लागि यो ठाउँ अत्यन्तै उपयुक्त मानिन्छ । विगतमा सङ्गीत तथा संस्कृतिको क्षेत्रका हस्ती र अन्वेषकहरू आएर यसै ठाउँमा महिनौँसम्म बसेको इतिहास छ । यसरी हाँडिकोट टापू हरेक दृष्टिले विशाल सम्भावना बोकेको टापू हो । यसका अनेकाँ पाटा र आयामहरूको अध्ययन र विस्तृत विवेचना गर्न बाँकी नै छ । जेहोस यो ठाउँले सबैको मन सधैँ लोभ्याइरहेको हुन्छ । संसारको जुनसुकै कुनामा पुगे पनि मेरो मन हरर उडेर त्यहीँ पुग्छ । सशरीर कहिले त्यहाँ पुगौँ र मनको भावना पोखौँ भन्ने लागिरहन्छ । हाँडिकोट मेरो शिरको ताज, हृदयको स्पन्दन र मनमुटुमा सजिएको सुन्दर तस्वीर हो । यसको काखमा जन्मन पाउनुलाई मैले जीवनको गौरवपूर्ण सार्थकता सम्झेको छु । यसैको काखबाट मेरा पितापुर्खाले आनुवंशिक निरन्तरता दिएका थिए । यहीँ मेरो ग्रामीण संस्कृति र सभ्यताको उदय भएको थियो । म पनि यसैको काखमा उदाएको थिएँ र यहीँ अस्ताउने इच्छा छ ।
(Angels' Voice, Vol. 12)

जीवन शर्मा
जनवादी गायक