गुरुङ जाति नेपालको एक महत्त्वपूर्ण आदिवासी समुदाय हो । उनीहरूलाई आफ्नो भाषामा तमु भनिन्छ । गुरुङहरू मुख्यरुपमा गण्डकी प्रदेशको लमजुङ, कास्की, गोर्खा, स्याङ्जा लगायतका पहाडी जिल्लामा बसोबास गर्छन् । पहाडको रमणीय गाउँमा उनीहरूको जीवनशैली सरल छ । उनीहरू मेहनती तथा लगनशील छन् । गुरुङ समुदायको मुख्य पर्व तमु ल्होसार हो, जुन नयाँ वर्षको रुपमा डिसेम्वर वा जनवरीमा मनाइन्छ । गुरुङहरूको मुख्य नाच भनेकै घाटु नाच भनेर चिनिन्छ । उनीहरूले भोटो, कछाड र टोपी लगाउँछन् भने महिलाहरूले चोली, गुन्यु र सुन, चाँदीका गहना धारण गर्छन् । विशेष अवसरमा पुरुषहरूले भाङ्ग्रा नामक बाक्लो ऊनी कपडा ओढ्छन् । गुरुङ समुदायले मुख्यतया भात, ढिंडो, गहुँ वा मकैको परिकार खान्छन् । विशेष अवसरमा सेलरोटी, खसीको मासु, जाँड (घरमै बनाएको पारम्परिक पेय) र गुन्द्रुक खाने चलन छ । गुरुङहरू परम्परागत रुपमा खेतीपाती, पशुपालन र गोरखा सैनिकको रुपमा परिचित छन् । उनीहरू अतिथि सत्कार गर्ने, वीर, बहादुर, मिलनसार र सहयोगी स्वभावका हुन्छन् ।
(Angels' Voice, Vol. 13)
सजिना गुरुङ
कक्षा -७, मेची
