एउटा सानो गाउँ थियो । हरियो वन, सललल आफ्नै गतिमा बगिरहेको सफा खोला र बिहान कोइलीले गाउने सुरिलो र मिठो धुन कु...... हु..... कु... हु.... । यस गाउँमा सुशिर र सपना सँगसँगै हुर्किए । बाल्यकालदेखि नै उनीहरूको सम्बन्ध नङ्ग र मासु भन्दा पनि उच्च थियो । सुशिर र सपना सँगै विद्यालय जान्थे, खेततिर दौडिन्थे, खेल्थे र साँझपख पिपलको बोट मुनि बसी आफ्ना सपनाहरू एक अर्कालाई सुनाउथे । तर समय त्यही नै कहाँ चल्यो र ? एकदिन सुनसरीको सहरबाट सपनाको बुबालाई जागिर लाग्यो । सपना पनि सँगै जानु पर्ने अवस्था सिर्जना भयो । साँझमा सपनाले आँसु झार्दै गाउँ छोडिन् । सुशिर केही बोल्नै सकेन । उसको मन भक्कानिएको थियो । उनीहरूको १४ वर्षको गहिरो सम्बन्ध १४ मिनेटमा नै सकिएको जस्तै भयो । उनीहरूको बिछोड भयो, शुन्यतामा हराएको आवाज जस्तै । जसलाई न देख्न सकिन्छ न त समात्न नै । तर मनभरि गुन्जिरहन्छ । सपना टाढा गए पनि उसको हँसिलो मुहार र उसँग बिताएका पलहरू हरेक क्षण, हरपल सुशिरको मन मस्तिष्कमा चित्रको रूपमा आउँथ्यो । उनीहरूको मिलन अब हुन्छ कि नाई त्यसको अत्तोपत्तो थिएन । सुशिर खोजिराथ्यो मनको घाउमा लगाउने मलम । मलमको रुपमा उठायो कलम, कलमलाई पाइला मान्यो र चाल्यो कदम । सपनाको पर्खाइमा सुशिरले कविता लेख्यो ।
पर्खाइ
म पर्खीराछु तिमीलाई कामदारले दाम पर्खे जस्तो
किसानले खेत जोतेर झरी र घाम परके जस्तो
पेट खाली भएको बालकले अन्न पर्खे जस्तो
बडी आमाले मूल ढोकामा खाडीको छोरोलाई पर्खे जस्तो
पीडितले गाँस, बास र कपास पर्खे जस्तो
म पर्खीराछु, चिताले लासलाई पर्खे जस्तो ।
तिम्रो र मेरो मिलन अब असम्भव नै छ
सुख्खामा फुल्ने गुलाफ, हिलोमा फूले जस्तो
पानी नपर्ने मरुभूमिमा पानी दर्के जस्तो
बगेको खोला आफ्नै दिशा तर्फ फर्के जस्तो ।
मा तिम्रो पर्खाइमा कापीको पाना भरिरहेँ
भावना आँसु बनि आँखाबाट झरिरहे
मनको बगैँचामा फुलिराथ्यो फूल
तिम्रो किरण नपाएर ती फूल भित्रै मरिरहे ।
(Angels' Voice, Vol. 13)
सुदिप खड्का
कक्षा -१०, ओ२
