a3+b3

Posted on : 04 April 2020
Views : 1392

सधैँजसो विहान ६ बजेतिर म विद्यालय जाँदै थिएँ, मोबाइल निकालेर हेरेँ घरबाट फोन आएको रहेछ। धेरै दिनपछि कुरा भएको थियो त्यतिकैमा सन्चो बिसन्चो सोधी आफ्नो स्वास्थको विचार गर्नु भन्दै ममी मलिन स्वरमा बोल्दै गर्दा पछाडिबाट आवाज आयो सन्देश सर......
पुष महिनाको दिन काठमाडौंको गल्ली हुस्सुले छोपिएको थियो । १०/१५ मिटर टाढाको मान्छेपनि देख्न मुस्किल थियो। म केहीबेर रोकिएँ मलाई बोलाउने मान्छे नजिक आयो सन्चो बिसन्चो सोधपुछ गरियो ऊ मैले २०७२ सालमा कक्षा १० मा पढ्दै गर्दा ट्युसन पढाएको विद्यार्थी थियो । उसले मलाई कफीको अनुरोध गर्यो । मैले नाइँ भन्न सकिनँ । नजिकैको कफी पसलमा गयौँ कफी अर्डर गरी हामी कफीको प्रतिक्षामा कुरा गर्दै बस्यौँ यत्तिकैमा उसले भन्न थाल्यो, सर गणित सब पढियो कक्षाको पढाइले पुग्दैन सोचेर ट्युसन पढेँ, राम्रै अङ्क आयो एस.एल.सी. मा तर मैले घोकेको साध्य र ज्यामितिहरु, आयतन र परिमितिहरु अनि ती बिजगणितका डरलाग्दा a र b का सूत्रहरु खै कहाँ काम लाग्छन् ? जो बिराउँदा कयौं पिटाइ पाएको थिएँ ती हातले कयौं पटक उभ्याइएको थियो कक्षा अगाडि कयौं पटक कक्षा बाहिर पढाइएर उठबस गराइएको थियो मलाई र जबरजस्ती जान्ने बनाइएको थियो हामीलाई, मानौं की हाम्रो जिन्दगीमा अब केही दुःख पर्दैन । तर आजकल प्रत्येक दिन जिन्दगीले दुख दिन्छ सर, जिन्दगीको हिसाब मिल्दै मिल्दैन कुन सुत्रको प्रयोग गरूँ म ? जागिरको खोजीमा हिँडेको बाटोको क्षेत्रफल कुन सूत्रले निकाल्नु ? पढ्ने क्रममा बाटोमा हिँड्दै गर्दा मेरा खुट्टामा परेका ठेलाको घनत्व कुन सूत्रले निकाल्नु ? मैले कयौं रात नसुती गरेको परिश्रम कुन सूत्रले निकाल्नु ? पाठ्यपुस्तकको त्रिभुज र चतुर्भु खुब नापियो कोण कोणमा नापियो, भुजा भुजामा नापियो, तर जिन्दगी त हजारौं भुजाले बन्दो रहेछ, रहस्य र जालझेलका करोडौं कोण हुँदा रहेछन्, जुन कुरा मलाई सिकाइँदै सिकाइएन कि तैँले यसरी पनि बाँच्नुपर्छ । माइनस् माइनस् प्लस हुने सूत्रमा दुःख दुःख सुख हुन नसकेर फेरि दुःख नै हुनुपर्ने यो कुन नियम हो ? जुन मलाई सिकाउँदै सिकाइएन । तासमा एक्का आउने राजा आउने सम्भाव्यता खुब सिकाइयो तर यो कैले सिकाइएन कि जीवन जिउन के कस्ता सम्भाव्यता छन् यो कस्तो गणित हो सर ? म पनि आजकाल चक्रिय चतुर्भुज जस्तै भएको छु जुन विन्दुबाट सुरु गर्यो पुनः त्यही विन्दुमा गएर जोडिन पुग्छु यो दुःखको घेरोबाट बाहिर जान किन सिकाइएन मलाई जब कि भित्री बाटो र बाहिरी बाटोको हजारौं गणित सिकाइयो ।
सर आफ्नो घरबार र देश सबै छोडेर विदेश जाँदै छु, विदेश जान लाग्दाको मेरो गरुङ्गा मनको भार कुन ग्रामले नाप्छ ? साथीसँग विछोडिएर विदेश हुँदाको दुरी कुन मिटरले नाप्छ ? विदेशमा परिश्रम गर्दा झरेका पसिना र आँसु कुन लिटरले नाप्छ ? मैले गोडीरहेका बोटका गहिराई कुन एकाइले नाप्छ ? सर यसको कुनै सुत्र छैनन् ? सर, मैले मेरा सम्पूर्ण शिक्षकहरुलाई सम्झेको भन्दिनु अनि माफी मागेको पनि सुनाइदिनु, विद्यालयमा विशिष्ट अङ्क ल्याएर उत्तीर्ण भएको म जिन्दगीमा उत्तरित हुन नसकेर लत्तारित भइरहेको छु । सोचेको थिएँ ......
अचानक मेरो मोबाइलमा घण्टी बज्यो हेरे विद्यालयको रहेछ स्वागत कक्षमा बस्ने मिसले भन्नुभयो सर तपाई आज आउनु हुन्छ कि नाइँ विद्यार्थीहरु तपाईँको प्रतिक्षामा छन् । मैले हवस भन्दै फोन राखेँ र सङ्गै बसेको पूर्व विद्यार्थीलाई जानकारी गराएँ, हाम्रो कफी चिसो भइसकेको थियो । त्यो भन्दा बढी चीसो मेरो मन भएको थियो सोचेँ अब मेरो मनको चिस्याई कुन यन्त्रले नापौं म उसको कुनै प्रश्नको उत्तर दिन सक्षम थिइनँ सायद उसले पनि बुझेको थियो कि मसँग पहिलो पटक उसले सोधेका प्रश्नको उत्तर थिएन । मलाई पनि उसले सोधेका सबै प्रश्नहरु आफ्ना गुरुहरुलाई सोध्न मन थियो तर उत्तर नआउने पक्का थियो। मेरो लामो मौनता देखेर उसले आफै भन्यो, सर अब छुट्टिउँ हजुरलाई त्यही घोकन्ते गणित पढाउन ढिला भइसक्यो । उसले म माथि फेरि व्यंगरुपी बाण प्रहार गर्यो म मौन भएर हिड्न थालेँ । विद्यालयको टिङ टिङ बजेको घण्टीले म विद्यालय पुगिसकेको याद दिलायो र म पढाउन कक्षा गएँ र सुरु गरेँ, a3+b3 =(a+b)( a2-ab+b2)………….


 

सन्देश मरहट्टा

शिक्षक