Posted On : 24 March 2020
Views : 2007

पछिल्लो समय विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसलाई रोक्नको लागि सबैभन्दा पहिलो त संक्रमित व्यक्तिहरुको नजिक नै नजानको लागि चिकित्सकहरु सुझाव दिन्छन् । त्यसपछि लागिसकेको खण्डमा समेत रोग प्रतिरोधात्मक क्षमता धेरै भएका मानिसहरु यसबाट बच्ने चिकित्सकहरु बताउँछन् ।

शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि के गर्ने ? खानपानको माध्यमबाट कसरी बढाउन सकिन्छ, कस्तो खानेकुराले बढाउने गर्छ भन्ने कुराको छोटो जानकारी दिएका छौं ।

भिटामिन सीले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई वृद्धि गर्न सहयोग गर्छ । भिटामिन सी सेता रक्त कोशिकाको उत्पादन बढाउनमा सहायक सिद्ध हुन्छ । यी रक्तकोषहरु संक्रमणहरूसँग लड्नको लागि महत्वपूर्ण हुन्छन् । अंगुर, सुन्तला, कागती, ज्यामिर, कटहर, सुन्तला आदि  फलफुलहरुमा भिटामिन सी उच्च मात्रामा पाइन्छ । यी फलहरुमा पाइने भिटामिन सीले शरीरको रोग प्रतिरोध क्षमतालाई बढाउन मद्दत गर्छ । तर अहिलेको अवस्थामा यी उल्लेखित फलफूलहरु सरकारले गरेको लकडाउनको कारणले बजारमा अभाव हुन सक्छ । त्यसकारण घरमा भएका अन्य खानेकुराहरुबाट पनि रोग प्रतिरोध क्षमता बढाउन मद्दत गर्छ भन्ने कुराको थाहा नभएको हुन सक्छ । त्यसैले ती खानेकुराहरुको बारेमा केही चर्चा गर्नेछौं ।

रातो डल्ले खुर्सानी

माथि उल्लेख गरिएको फलहरुले भन्दा धेरै भिटामिनहरु रातो डल्ले खुर्सानीले दिने गर्छ । चिकित्सकहरुका अनुसार रातो डल्ले खुर्सानीले माथि उल्लेख गरिएको फलफुलहरुले भन्दा पनि दुई गुणासम्म धेरै भिटामिन सी प्रदान गर्नेगर्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत मद्दत गर्ने गर्छ ।

लसुन

लसुन संसारमा लगभग सबैतिर पाइन्छ । अझै नेपालीहरुको भान्छामा त अनिवार्य हुने गर्छ । यसले शरीरमा स्फूर्ति थप्ने गर्छ । लसुनले धेरै मात्रामा एन्टी अक्सिडेन्ट बनाएर मानव शरीरको इम्युन सिस्टमलाई बिरामीसित लड्ने शक्ति प्रदान गर्छ। यसमा सलिसिन नामक तत्व पाइन्छ, जसले शरीरलाई इन्फेक्सन र ब्याक्टेरियासित लड्ने शक्ति प्रदान गर्छ। प्राचीन मान्यता अनुसार समेत यसले हाम्रो शरीरमा रहेको इन्फेक्सन विरुद्ध लड्नको लागि लसुन प्रभावकारी मान्ने गरिन्छ । अमेरिकाको नेशनल सेन्टर फर कम्प्लिमेन्ट्री एण्ड इन्टिग्रेटिभ हेल्थका अनुसार लसुनले रक्तचाप कम गर्न र धमनीहरूलाई कडा बनाउने काम गर्ने गर्छ । लसुनले प्रतिरक्षा प्रणालीमा बढावा दिने गुणयुक्त सल्फर भएका यौगिकहरू, जस्तै एलिसिन आदि प्रदान गर्नेगर्छ ।

अदुवा

अदुवा पनि नेपालीहरुको भान्छामा अनिवार्य हुने गर्छ । अदुवा पनि मानिसको शरीरमा निम्तिने स्वास्थ्य समस्या कम गर्ने अर्को खाने कुराको हो । अदुवाले घाँटीको दुखाई र अन्य भड्किलो स्वास्थ्य समस्यालाई कम गर्न मद्दत गर्छ । अदुवाले जीवाणु कम गर्न पनि मद्दत गर्छ । यसले प्रतिरक्षा प्रणालीलाई बढाउन मद्दत गर्छ ।

बेसार

बेसार पनि रोग प्रतिरोधात्मक क्षमता बढाउने एउटा महत्वपूर्ण खानेकुरा हो । चिकित्सा विज्ञानले पनि यसलाई भिटामिन र खनिजको मुख्य स्रोतका रूपमा लिने गरेको छ । साथै, बेसारमा हाम्रो शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलामतत्व आदि प्रचुर मात्रामा पाइन्छन् ।

बेसार भिटामिन र खनिजको मुख्य स्रोत भएको चिकित्सा विज्ञानले समेत प्रमाणित गरिसकेको कुरा हो । दूधमा बेसार मिलाएर खाँदा रुघाखोकी सन्चो हुन्छ भन्ने मान्यता छ । त्यस्तै, महसँग मिसाएर खाएमा घाँटीको समस्या समाधान हुन्छ ।