Posted On : 25 March 2020
Views : 1222

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलन नदिन संसारभर विभिन्न प्रयास भइरहेका छन् । यो भाइरस हावाभन्दा पनि हातका माध्यमबाट आँखा, मुख तथा नाक हुँदै सहज प्रवेश हुने विज्ञहरूले बताउँदै आएका छन् । भाइरसको संक्रमण फैलिन नदिन व्यक्ति स्वयं सजग हुन आवश्यक छ । हात र शरीरमा कोरोनाको संक्रमण फैलिएको भए पनि आँखा, नाक, मुखबाट भाइरस छिर्न नदिनु बुद्धिमानी हुन्छ । अनुहारमा संक्रमण प्रवेश गर्नबाट रोक्न यस्ता प्रयास गर्न सकिन्छ ।

१) क्रस ह्यान्ड राख्ने

विनाकाम अनुहारमा हातले पटकपटक छुने मानव प्रवृत्ति नै हो । यस्तो बानी हटाउँदै क्रस ह्यान्ड राख्नु उपयुक्त हुन्छ । सार्वजनिक सवारीसाधन तथा शंकास्पद स्थानमा छोइहाले पनि  हातलाई सकेसम्म अनुहार छुनबाट नियन्त्रणमा राख्नुपर्छ ।

२) मास्कको प्रयोग

कोभिड– १९ को संक्रमणबाट जोगाउन मास्क र स्यानेटाइजर पहिलो प्राथमिकता हुँदै आएको छ । मास्कको प्रयोगले  नजिकै रहेका व्यक्तिमा रहेको संक्रमणबाट जोगिन मात्र नभई सामान्य स्थितिमा अनुहार छुनबाट जोगाउन सक्छ । यसले मुख, चिउँडो, नाक कोट्याउनेजस्ता बानी केही हदसम्म हटाउन पनि मद्दत गर्छ । यद्यपि, मास्कको प्रयोग गर्दा मुखको भागबाट नभई पछिल्लो भागबाट लगाउने, खोल्ने गर्नुपर्छ ।

३) पन्जा लगाउने

हातमा हुने संक्रमण नांगो आँखाबाट  देख्न सकिँदैन । बजारमा पाइने सर्जिकल पन्जाले जीवाणुलाई छालासँग सीधै ‘कन्ट्याक्ट हुनबाट रोक्छ । बस, अफिस तथा घरबाहिर यात्रा गर्दा पन्जाको प्रयोग गरेमा यसले जीवाणुसँग सीधै छालाको सम्पर्क हुन दिँदैन । पन्जाको प्रयोगले वेला–वेला अनुहारमा छुने बानीमा पनि कमी आउँछ ।

) दिमागलाई अलर्ट राख्ने
हामीले अनायासै दिनमा धेरैपटक हात र अनुहार सम्पर्कमा ल्याइरहेका हुन्छौँ । हात र अनुहारलाई मस्तिष्कबाट नै नियन्त्रण गर्नुपर्ने हुन्छ । आँखा चिलाउने, चिउँडोमा हात राख्नेवेला दिमाग सजग राख्नुपर्छ ।

५) हात पटकपटक धुने
अनुहारमा हात लानबाट पूर्ण नियन्त्रण गर्न सहज पक्कै छैन । त्यसैले, पटक–पटक हात धुने गर्नुपर्छ । स्यानिटाइजरको प्रयोग गरेर हातलाई भाइरसमुक्त गराउनु सबैभन्दा उपयुक्त उपाय हो । हातमा संक्रमण नभएपछि अनुहारमा छोइहाले पनि कम मात्रै जोखिम हुन्छ ।